बुधबार, भाद्र ३ गते २०८३

‘क्षमतावान् र प्रभावकारी लेखा समितिले सहकारी सुदृढ बनाउँछन्, त्यसैले गोष्ठी गर्न लागेका हौं’


चैत्र ६, २०८२ शुक्रबार
‘क्षमतावान् र प्रभावकारी लेखा समितिले सहकारी सुदृढ बनाउँछन्, त्यसैले गोष्ठी गर्न लागेका हौं’

 

हामीले यही चैत्र १३ र १४ गते लेखा सुपरीवेक्षण समितिको संयोजक र सदस्यलाई लक्षित गरी दुई दिने आवासीय गोष्ठीको आयोजना गर्न गइरहेका छौं । ललितपुरमा रहेका सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिलाई लक्षित गरी नगरकोटको रत्नागिरि होटलमा गोष्ठी गर्न लागिएको हो । सहकारी संघ संस्थामा लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी महत्वपूर्ण हुन्छ । सहकारीमा विशेषतः सञ्चालक समिति, लेखा समिति र सदस्य गरी तीन वटा पक्ष हुन्छन् । हामीले जिल्ला भित्रका सबै संस्थाका लेखा समितिका संयोजक र सदस्यहरुलाई लक्षित गरी यो गोष्ठी गर्दैछौं । 

सहकारी क्षेत्रमा अहिले देखिएको समस्या र समाधानका निम्ति लेखा समितिको भूमिका महत्वपूर्ण छ । प्रारम्भिक सहकारीदेखि संघसंस्था सञ्चालन गर्नको लागि लेखा समिति क्रियाशील हुनुपर्छ । जुन संस्थामा लेखा समिति क्रियाशील हुन्छ, त्यस्ता संस्था अब्बल हुन्छन्, वित्तीय पारदर्शिता कायम हुन्छ र शुसासनयुक्त सहकारी संस्था निर्माण हुन्छ । त्यसैलाई आत्मसाथ गरी हामीले लेखा समितिको गोष्ठी गर्न लागेका हौं ।

विगतमा पनि संघले अध्यक्ष र कोषाध्यक्षको गोष्ठी सम्पन्न गरिसकेको छ भने व्यवस्थापन प्रमुखहरुको पनि वर्कशप आयोजना गरिएको थियो । यसपटक गोष्ठीमा एक सय संस्थाबाट सहभागिता हुने हाम्रो अपेक्षा छ । ललितपुरका धेरै सहकारी संस्थाको समस्या समाधानको लागि हामी जाँदा अधिकांश सहकारीमा लेखा समिति निस्कृय जस्तै रहेको पायौं । जहाँ जहाँ लेखा समिति सक्रिय छ, त्यहाँ त्यहाँ संस्थाहरु चलायमान हुने भएकाले ललितपुरका सहकारीलाई बलियो बनाई सदस्यको बचतको ठिक ढंगले परिचालन गर्नको लागि यो गोष्ठी गर्नुपर्ने हामीले महशुस गर्यौं ।

सदस्यको बचतलाई सुरक्षण गर्दै उनीहरुको आर्थिक समृद्धिमा टेवा पु¥याउने गरी काम गर्न यो गोष्ठी फलदायी हुनेछ । अर्कोतर्फ साधारणबाट पारित गरेका निर्णयहरु सञ्चालकले लागु गरे कि गरेनन् र बनाइएका  कार्यविधिहरु लागु भए कि भएनन् भनेर सुक्ष्म रुपले हेर्ने काम लेखा समितिको हो । संस्थाको समग्र अवस्थालाई सिटिस्क्यान गर्ने काम लेखा समितिको हो । लेखा समितिले संस्थाको बचत संकलन र लगानीका साथै अन्य क्रियाकलापलाई सुक्ष्म ढंगले हेर्ने र आवश्यक परे सुधारको लागि फिडव्याक दिने काम गर्नुपर्छ । यसले संस्थामा सुधार ल्याई सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीलाई थप जिम्मेवार बनाउन मद्दत पुग्छ । 

अहिले अधिकांश संस्थामा लेखा समिति नाम मात्रकै छ । कतिपय संस्थामा लेखा समितिको काम, कर्तव्य र अधिकार के हो भन्ने नै थाह छैन । लेखा समिति चलायमान नभएपछि संस्था सही गतिमा अगाडि बढ्न सक्दैनन् । वाह्य लेखा परिक्षकले संस्थाको लेखा परिक्षण गर्छ तर आन्तरिक लेखा परिक्षण गर्नको लागि पनि लेखा समिति क्रियाशील हुनैपर्छ । लेखा समितिलाई प्रभावकारी बनाइयो भने यसले गर्नुपर्ने रिपोर्टका साथै ऐन कानुनमा भएका व्यवस्थाको कार्यान्वयन र साधारण सभाले सञ्चालक समितिलाई दिएको म्यान्डेटको अवस्थाको बारेमा हेर्न, लागु गर्न र फिडव्याक दिन सक्छन् । अर्कोतर्फ, निर्णय कार्यान्वयनमा सञ्चालक समितिलाई सचेत र जवाफदेही बनाउने भूमिका पनि लेखा समितिको नै हुन्छ । त्यसपछि पनि सञ्चालक समितिले अटेर गरे भने प्रतिवेदनमार्फत् साधारण सभामा लिएर जानुपर्छ । तर संस्थामा लेखा समितिले त्यो खालको काम नगरेको परिवेशमा हामीले गोष्ठीमार्फत् उनीहरुको जिम्मेवारी बोध गराउनुपर्छ भनेर अघि बढेका हौं । 

प्रत्येक संस्थाका लेखा समितिलाई चलायमान बनाई संस्थालाई नीति, विधि र दिगो रुपमा सञ्चानल गर्न टेवा पु¥याउने उदेश्यका हामी गोष्ठी गर्न लागिरहेका छौं । धेरै संस्थामा लेखा समितिको माइन्युट पनि सञ्चालक समिति र व्यवस्थापकले लेखिदिएको अवस्था छ । लेखा समितिले आफुलाई थाह नै नभएको र सबै काम सञ्चालक र व्यवस्थापकले नै गरेको भन्ने सुनिन्छ । यस्तो अवस्थामो हामीले लेखा समितिलाई केही सिकाउनुपर्छ । उनीहरुले सिके र लागु गरे भने मात्र संस्था अब्बल र बलियो बन्छ भन्ने मान्यता हो । सदस्यको बचत सुरक्षित बन्छ र संस्थाहरु दिगो र मर्यादित बनेर जान्छन् भन्ने हो । लेखा समितिले संस्थामा के काम गर्ने भन्ने विषयमा सरल ढंगले बुझाइन्छ । त्यसका लागि पूर्व सचिव, राष्ट्र बैंकका प्रतिनिधि, बैंकर र राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्यहरुबाट सिकाइन्छ । 

अर्कोतर्फ सहकारी क्षेत्रमा अप्ठ्यारो परिस्थिति रहेको र त्यसका लागि मोटिभेसनको पनि आवश्यकता महशुस गरेका छौं । लेखा समितिलाई मोटिभेसन गरिने भएकोले यो गोष्ठी फलदायी हुने अपेक्षा छ । सिट सिमित भएकाले ‘फष्र्ट कम फष्र्ट सर्भिस’ को नीति लिएका छौं । छिटो भन्दा छिटो संघमा आएर नाम दर्ता गराउन हाम्रो अनुरोध छ । यो खालको गोष्ठी ललितपुरमा मात्र नभई देशभर नै आवश्यक छ । यो सिकाईका साथै असल अभ्यास आदानप्रदान गर्ने थलो समेत भएकाले यस्ता गोष्ठीमा सहभागि हुन आवश्यक छ । संस्थाहरुलाई संकटबाट जोगाउन यस्ता गोष्ठीले औजारको रुपमा काम गर्ने मेरो ठम्याई छ । यो गोष्ठीले प्रारम्भिक सहकारी संस्थाको छवि निर्माण गर्नको लागि मदत मिल्नेछ । त्यसका साथै सहकारी क्षेत्रलाई लगाइएको दोषको अन्त्य गर्दै सहकारी भन्नेवित्तिकै तर्सिने वातावरणलाई चिर्न पनि सहयोग पुग्नेछ । 

संस्थामा सञ्चालक समितिको भन्दा बढी जिम्मेवारी र भूमिका लेखा समितिको हुन्छ । संस्थाको आन्तरिक सुधार गरी वित्तीय रुपमा पारदर्शी र बलियो बनाउँछु भन्नेहरुका लागि गोष्ठी उपलब्धीमूलक हुनेछ । अहिले सहकारी क्षेत्रको विषम परिस्थितिलाई परिवर्तन गर्न सहभागीहरुलाई ज्ञान, सीप र कन्फिडेन्स विकास गर्न समेत गोष्ठीले मदत मिल्नेछ । आफना सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरण गर्न मुख्य भूमिका खेल्ने सहकारी क्षेत्रलाई सबै पक्ष मिलेर बलियो बनाएर लैजानुपर्छ । यसको साखलाई अघि बढाएर लैजानुपर्छ । सदस्यको बचत सुरक्षा गर्ने भूमिका लेखा समितिको पनि हो। लेखा समितिको काम संस्थाको एक्सरे गर्ने हो, संस्थाभित्रका हरेक गतिविधिलाई मिहिन ढंगले हेरेर सुधार गर्दै अगाडि लैजानुपर्छ। संस्थालाई बलियो बनाउन सञ्चालकहरुलाई सुझाव सहित सुधारका योजना पेश गर्नुपर्छ । दिएका सुझाव कार्यान्वयन भए कि  की भएनन् भनेर हेर्ने काम पनि लेखा समितिले गर्नुपर्छ । त्यसका लागि क्षमता विकास आवश्यक छ। क्षमता विकासको लागि नै यो गोष्ठी हो । गोष्ठीमा सहभागी भएपपिछ यो गोष्ठी फलदायी भएको महशुस सहभागी प्रतिनिधिहरुले गर्नु हुनेछ । 

(संघका अध्यक्ष रामहरि बजगाईंसँगको कुराकानीमा आधारित)