पिण्ड खानेबेलामा
(अनुष्टुप)
सच्चा शक्ति कुनै छैन जो छन् ती मतियार छन्
बहिरी शक्तिका भक्त खेलौना हतियार छन् ।१।
निष्कलङ्क सबैभन्दा आफूलाई जनाउन
उम्दा अत्तर दल्दै छन् बाहिरै नगनाउन ।२।
पुराना जतिका खुट्टी निकम्मा भैसके तर
पिछलग्गुहरू फेरि साथैमा छन् निरन्तर ।३।
जति वृद्ध भयो त्यत्ति पदको लालसा किन
तीर्थबर्त गरे राम्रो पूर्व पाप बगाउन ।४।
अवरोध थियो राजा रोक्छ के ले यहाँ अब
लालमोहर चाहिन्न सम्पदा बिक्दछन् सब ।५।
कसैले हेर्न चाहन्नन् अनुहार अझै तर
गाउँमा कसरी पस्छौ विनालाज विनाडर ।६।
चाहन्छन् फेर्न मान्छेले अनुहारहरू पनि
पिण्ड खाने भयो बेला होस छैन अझै पनि।७।
इन्द्र नारायण सुवेदी