बुधबार, भाद्र ३ गते २०८३

प्रविधिमैत्री उद्यममा युवाको नेतृत्व: सहकारी अभियानको नयाँ दिशाबोध

माघ १३, २०८२ मंगलबार
प्रविधिमैत्री उद्यममा युवाको नेतृत्व: सहकारी अभियानको नयाँ दिशाबोध

 

नेपालको सहकारी अभियान करिब सात दशकको यात्रा पार गर्दै नयाँ मोडमा प्रवेश गरेको छ । बदलिँदो विश्व परिवेश, तीव्र प्रविधि विकास र युवाको बढ्दो भूमिका बीच सहकारीको भावी नेतृत्व, संरचना र कार्यदिशा कस्तो हुने भन्ने प्रश्न अत्यन्त महत्वपूर्ण बनेको छ । यही सन्दर्भमा “प्रविधिमैत्री उद्यममा युवाको नेतृत्व” भन्ने मूल थिमसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ आयोजना गरिएको हो ।

युवा र प्रविधि आजको विकासका दुई मजबुत आधार हुन् । युवाहरू अब केवल भोलिका कर्णधार मात्र होइनन्, उनीहरू आजकै सहयात्री र साझेदार हुन् । नवीन सोच, सिर्जनशीलता र प्रविधिप्रतिको दख्खल बोकेका युवालाई सहकारीका मूल्य–मान्यता र सिद्धान्तसँग जोड्दै अघि बढ्नु नै यस सम्मेलनको मूल उद्देश्य हो । सहकारीलाई परम्परागत बचत तथा ऋणको सीमाभित्र मात्र नराखी उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनाको केन्द्र बनाउने दिशामा यो पहल केन्द्रित छ ।

सम्मेलनले सहकारी क्षेत्रमा युवा नेतृत्व र आर्थिक सशक्तीकरणलाई प्राथमिक लक्ष्यका रूपमा अघि सारेको छ । डिजिटल रूपान्तरण आजको अपरिहार्य आवश्यकता हो । आर्टिफिसियल इन्टेलिजेन्स, फिनटेक र सूचना प्रविधिको युगमा सहकारीलाई प्रविधिमैत्री बनाउँदै सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्नुपर्ने आवश्यकता छ । साथै, सहकारीको नीति, संरचना र कार्यविधिमा युवामैत्री दृष्टिकोण स्थापित गर्न ढिलाइ गर्नु हुँदैन । राज्यका नीतिहरू र सहकारी क्षेत्रको कार्यदिशामा युवाको भावना समेट्ने राष्ट्रिय दृष्टिकोण निर्माणमा यो सम्मेलनले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विश्वका विकसित मुलुकहरू—दक्षिण कोरिया, इजरायल र न्युजिल्याण्ड जस्ता देशहरूमा सहकारीले युवाको नवप्रवर्तनलाई पुँजीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका उदाहरणहरू छन् । नेपालमा पनि सहकारीलाई “स्टार्टअप हब” का रूपमा विकास गर्दै युवालाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने ‘गेम चेन्जर’ बनाउने समय आएको छ । यस अभियानमा सहकारी प्रभावकारी माध्यम बन्न सक्ने विश्वास लिइएको छ ।

दुई दिने सम्मेलनमा समृद्ध नेपाल निर्माणमा सहकारी र युवाको भूमिकाबारे नीति तहको मार्गदर्शन, सफल युवा उद्यमीका प्रेरणादायी अनुभव, तथा नीति निर्माता, विषय विज्ञ र युवाबीच आर्थिक सशक्तीकरण, डिजिटल रूपान्तरण र युवामैत्री अर्थतन्त्रबारे गहन प्यानल छलफल समावेश छन् । यी छलफलहरूले समस्या पहिचानसँगै व्यवहारिक समाधानका मार्गहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छन् ।

सम्मेलनको निष्कर्षका रूपमा एउटा ठोस ‘निष्कर्ष घोषणापत्र’ जारी गर्ने तयारी गरिएको छ, जसले आगामी दिनमा सहकारीलाई युवामैत्री बनाउने दिशामा कोसेढुङ्गाको काम गर्नेछ । युवाको सोच ‘केही हुन्छ’ बाट ‘मैले गर्नुपर्छ’ भन्ने दिशामा बदलिँदै गएको वर्तमान अवस्थामा, उक्त सकारात्मक ऊर्जालाई सहकारीको संरचनामा जोड्न सकिए सहकारी अभियानमा नयाँ रक्तसञ्चार हुने विश्वास गरिएको छ ।

समग्रमा, यो सम्मेलन सहकारी अभियानलाई समयानुकूल, प्रविधिमैत्री र युवामुखी बनाउँदै राष्ट्रिय अर्थतन्त्रको सुदृढ आधार निर्माणतर्फ उन्मुख गराउने महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ । सहकारीमार्फत युवाको नेतृत्व, उद्यमशीलता र नवप्रवर्तनलाई संस्थागत गर्न यो पहल निर्णायक साबित हुने अपेक्षा गरिएको छ ।

 

(— संयाेजक नेपालले कन्क्लेभमा राखेको स्वागत मन्तब्यकाे सम्पादित अंश )