शनिबार, आश्विन १७ गते २०८३

सहकारीका सञ्चालक र व्यवस्थापनबीचको समन्वयः सुशासन, स्थायित्व एवं सदस्य विश्वासको आधार

पौष २४, २०८२ बिहीबार
सहकारीका सञ्चालक र व्यवस्थापनबीचको समन्वयः सुशासन, स्थायित्व एवं सदस्य विश्वासको आधार



सहकारी संस्था सदस्य–केन्द्रित, लोकतान्त्रिक र सामूहिक उत्तरदायित्वमा आधारित संस्था हो । नेपालको संविधानले सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बाका रूपमा स्वीकार गरेको छ । यस सन्दर्भमा सहकारी संस्थाहरूको सुशासन, वित्तीय अनुशासन र दिगो व्यवस्थापन अत्यन्त महत्वपूर्ण विषय बनेको छ ।

तर पछिल्ला वर्षहरूमा नेपालका धेरै सहकारी संस्थाहरू आन्तरिक कमजोरी, वित्तीय अस्थिरता र विश्वास संकटको चुनौती सामना गरिरहेका छन् तीमध्ये एउटा प्रमुख र बारम्बार देखिएको समस्या भनेको व्यवस्थापन र सञ्चालक समिति बीचको समन्वयको कमी तथा द्वन्द्व हो । यो लेखले सहकारी संस्थामा यस्तो द्वन्द्व किन उत्पन्न हुन्छ, यसले कस्ता संकट निम्त्याउँछ, र यसबाट बाहिर निस्कन कस्ता सुधारात्मक उपाय आवश्यक छन् भन्ने विषयमा सन्दर्भमा प्रकाश पार्ने प्रयास गरेको छु ।

सहकारी शासन संरचनामा सञ्चालक र व्यवस्थापनको भूमिका

सहकारी ऐन, नियमावली तथा अन्तर्राष्ट्रिय सहकारी सुशासनका सिद्धान्तअनुसार सहकारीको शासन संरचना दुई प्रमुख तहमा आधारित हुन्छ—नीतिगत तह र कार्यकारी तह ।

सञ्चालक समिति नीतिगत तह हो । यसको प्रमुख जिम्मेवारी सहकारीको दीर्घकालीन दृष्टि, नीति, रणनीति, योजना तथा बजेट निर्धारण गर्नु, व्यवस्थापनको कार्यसम्पादनको अनुगमन गर्नु र सदस्यहरूको हित संरक्षण गर्नु हो ।

व्यवस्थापन कार्यकारी तह हो । सञ्चालक समितिबाट स्वीकृत नीति, योजना र निर्देशनलाई कार्यान्वयन गर्नु, दैनिक प्रशासनिक तथा वित्तीय कारोबार सञ्चालन गर्नु, कर्मचारी व्यवस्थापन गर्नु र सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्नु व्यवस्थापनको दायित्व हो ।

यी दुई तहको भूमिका स्पष्ट र सन्तुलित नभएमा सहकारी संस्थामा समस्या उत्पन्न हुन्छ ।

 

व्यवस्थापन र सञ्चालकबीच द्वन्द्व उत्पन्न हुने कारणहरू

नेपालका सहकारी संस्थाहरूमा व्यवस्थापन र सञ्चालकबीच द्वन्द्व उत्पन्न हुनुका केही साझा कारणहरू यस प्रकार रहेका छन्

भूमिका र अधिकारको अस्पष्टता: सञ्चालक समितिले नीतिगत भूमिकाभन्दा बाहिर गई दैनिक सञ्चालनमा हस्तक्षेप गर्ने तथा व्यवस्थापनले नीतिगत निर्णयमा प्रभाव पार्ने प्रवृत्ति देखिन्छ ।

राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थ: सहकारीलाई सामाजिक–आर्थिक संस्थाभन्दा बढी शक्ति र प्रभावको माध्यमका रूपमा प्रयोग गर्ने सोचले द्वन्द्वलाई बढावा दिएको छ ।

क्षमता र अनुभवको अभाव: सहकारीमा सुशासन, वित्तीय व्यवस्थापन र जोखिम व्यवस्थापनबारे पर्याप्त ज्ञान नहुँदा सञ्चालक र व्यवस्थापनबीच अविश्वास बढ्छ ।

पारदर्शिता र जवाफदेहिताको कमजोरी: स्पष्ट प्रणाली र संवादको अभावले गलत प्रवृति र आरोप–प्रत्यारोपलाई जन्म दिन्छ ।

 

द्वन्द्वले निम्त्याएका प्रमुख असर र संकट

व्यवस्थापन र सञ्चालकबीचको द्वन्द्वले सहकारी संस्थाको समग्र कार्यसम्पादनमा नकारात्मक प्रभाव पार्दछ सुशासनमा गिरावट, निर्णय प्रक्रिया ढिलो, अपारदर्शी र व्यक्तिगत निर्भरतामा भर पर्छ । आन्तरिक नियन्त्रण प्रणाली कमजोर भई अनियमितताको जोखिम बढ्छ ।

वित्तीय अस्थिरता उत्पन्न: ऋण स्वीकृति, लगानी निर्णय र असुली प्रक्रियामा कमजोरी आउँदा सहकारी तरलता संकटतर्फ जान सक्छ ।

कर्मचारी मनोबल र कार्यक्षमतामा कमी: दुई तहबीचको तनावले कर्मचारी अन्योलमा पर्छन् जसले सेवा प्रवाहमा प्रत्यक्ष असर पार्दछ ।

सदस्यहरूको विश्वास ह्रास: आन्तरिक विवाद सार्वजनिक हुँदा सदस्यहरूमा असुरक्षा पैदा भई बचत फिर्ता दबाब बढ्छ ।

नियामकीय र कानुनी जोखिम: नियम उल्लङ्घन र विवादका कारण सहकारीले कारबाही, जरिवाना वा खारेजीसम्मको अवस्था भोग्न सक्छ ।

 

समस्याबाट सिकाइ र सुधारको आवश्यकता

पछिल्ला अनुभवहरूले स्पष्ट देखाएको छ कि सहकारी संस्थाको दिगोपन वित्तीय पूँजीभन्दा पनि संस्थागत सुशासन र आपसी समन्वय मा निर्भर गर्दछ । व्यवस्थापन र सञ्चालकबीचको सम्बन्ध प्रतिस्पर्धात्मक होइन, परिपूरक हुनुपर्छ भन्ने बुझाइ अत्यन्त आवश्यक छ ।

सहकारीलाई व्यक्तिको होइन, संस्थाको रूपमा सञ्चालन गर्ने संस्कृतिको विकास नगरेसम्म यस्ता समस्या दोहोरिरहन्छन्

सुधारका प्रमुख उपायहरू 

भूमिका र जिम्मेवारीको स्पष्टताः सहकारीको सञ्चालक समिति र व्यवस्थापनको कार्यक्षेत्रलाई आन्तरिक विनियम, कार्यविधि र कार्यविवरणमार्फत स्पष्ट रूपमा परिभाषित गरिनुपर्छ ।

नियमित समन्वय र संवादः सञ्चालक समिति र व्यवस्थापनबीच नियमित समन्वय बैठक, प्रतिवेदन प्रस्तुति र खुला संवादको व्यवस्था गर्नुपर्छ ।

व्यावसायिक व्यवस्थापन प्रणालीः योग्य, दक्ष र अनुभवी व्यवस्थापकलाई स्पष्ट कार्यसम्पादन सूचक (प्एक्ष्) का आधारमा जिम्मेवारी प्रदान गर्नुपर्छ ।

आचारसंहिता र सुशासन अभ्यासः सञ्चालक र व्यवस्थापन दुवैका लागि आचारसंहिता लागू गरी पारदर्शिता, नैतिकता र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ ।

क्षमता अभिवृद्धिः सञ्चालक समितिका सदस्य र व्यवस्थापनका लागि सहकारी शासन, वित्तीय व्यवस्थापन र जोखिम व्यवस्थापनसम्बन्धी नियमित तालिम आवश्यक छ ।

निष्कर्ष

व्यवस्थापन र सञ्चालक समितिबीचको समन्वय सहकारी संस्थाको सफलताको मेरुदण्ड हो । द्वन्द्व, अविश्वास र हस्तक्षेपले सहकारीलाई कमजोर बनाउँछ भने स्पष्ट भूमिका, आपसी सम्मान र व्यावसायिक व्यवस्थापनले सहकारीलाई दिगो र विश्वसनीय बनाउँछ ।

व्यवस्थापन र सञ्चालक समितिबीच स्वस्थ सहकार्यलाई निरन्तर सुदृढ गर्दै सदस्यहरूको विश्वास र हितलाई सर्वोपरि राख्नु नै सहकारीको  दीर्घकालीन लक्ष्य हुनुपर्दछ ।