सुनसरीको बराह क्षेत्र नगरपालिका–२ मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ब्याज तथा हर्जानामा छुट दिने भएको छ । संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले कोभिड १९ महामारीको दोश्रो लहरबाट सदस्यहरु प्रभावित भएकाले केहि राहत पुगोस् भन्ने उद्देश्यले छुट सुविधा दिन लागेको व्यवस्थापक बाबुराम खत्रीले जानकारी दिए ।
संस्थाका सदस्यहरुले असार मसान्तभित्र कर्जाको नियमित साँवा र ब्याज भुक्तानी गरेमा दुई महिनाको ब्याजमा १० प्रतिशत छुट दिने, कर्जाको ब्याजमात्रै भुक्तानी गरेमा दुई महिनाको ब्याजमा ५ प्रतिशत छुट दिने र असार मसान्तभित्र पुरानो कर्जाको साँवाब्याज तिर्ने सदस्यलाई कुनै पनि थप शुल्क तथा हर्जाना नलिने निर्णय भएको खत्रीले बताए ।
त्यसैगरी सदस्यहरुलाई अति आवश्यक कर्जा चाहिएमा आवश्यक प्रक्रिया पूरा गरी कर्जा लगानी गर्ने समेत जनाएको छ । हाल समेत कोरोना भाइरसको जोखिम कायमै रहेकाले केन्द्र र समुहको बैठक सञ्चालन नगर्ने र सदस्यहरुले नियमित बचत तथा ऋणको किस्ता कार्यालयमा गई भुक्तानी गर्न सक्ने व्यवस्था संस्थाले मिलाएको छ ।
२०५५ सालमा स्थापना भएको उक्त संस्थाले मासिक १ रुपैया बचत अभियान शुरु गरेको थियो । त्यस क्षेत्रका महिला दिदीबहिनीको आर्थिक अवस्थालाई उकास्ने उद्देश्यका साथ शुरु भएको संस्थामा ९० प्रतिशतभन्दा बढि महिला आवद्ध छन् । हालसम्म आइपुग्दा संस्थाको शेयरपुँजी, जगेडा कोष, बचत संकलन र ऋण लगानीमा उल्लेख्य वृद्धि भएको छ । संस्थाले यस आ.व.को अन्त्यसम्म १ अर्बको वासलात पुर्याउने लक्ष्य लिएको छ । बहुद्देश्यीय प्रकृतिको भएकाले संस्थाले कृषि परियोजना समेत सञ्चालन गरिरहेको छ ।