कोटेश्वरस्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि छुट सुविधा ल्याएको छ । कोभिड–१९ महामारीको दोश्रो लहरको संक्रमण बाटा बच्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सदस्यहरुको व्यापारव्यवसाय सञ्चालन गर्न कठिन भएकोले त्यसलाई मध्यनजर गरी संस्थाले छुट सुविधा ल्याएको जनाएको छ ।
विषम परिस्थितिका कारण सबै प्रकारका उद्योग व्यवसायहरु सुचारु हुन नसकि प्रभावित भएको सन्दर्भमा सदस्यहरुको हितलाई ध्यानमा राख्दै ऋणी सदस्यहरुलाई निषेधाज्ञा जारी भएको दिन वैशाख १६ गतेदेखि आषाढ १५ गतेसम्ममा बुझाउनुपर्ने ऋणको सावाको व्याजमा १० प्रतिशत छुट र सो अवधिभरको सम्पूर्ण हर्जाना मिनाहा गर्ने संस्थाको संचालक समितिको वैठकले निर्णय गरेको व्यवस्थापक खड्ग प्रसाद सुब्बाले जनाए । आषाढ १५ गतेभित्र वुझाउनुपर्ने रकम चुक्ता गरी छुट सुविधा प्राप्त गर्न ऋणी सदस्यहरुलाई उनको आग्रह छ ।
स्थानीय पछिल्लो समय निषेधाज्ञा कायम राखे पनि बैंकवित्त, बीमा र सहकारी लगायतका संस्था स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी सञ्चालन गर्न दिएसँगै नियमित रुपमा कार्यालय सञ्चलान गर्दै आएको उनले बताए । संस्थाले दैनिक बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालय सञ्चालन गरी सदस्यहरुलाई वित्तीय तथा अन्य सेवासुविधा प्रदान गर्दै आएको छ ।
संस्थाले कोभिड–१९ बाट बच्नका लागि कार्यालय प्रवेश गर्नुअघि हात धुने, स्यानिटाइज गर्ने एवं सामाजिक दुरी कायम गर्ने जस्ता उपाय अवलम्बन गरी सदस्यहरुलाई सुरक्षित तवरबाट सेवा लिन अपील गरेको छ ।