शनिबार, आश्विन १७ गते २०८३

माइक्रोसफ्टले रिलिज गर्‍यो विन्डोज–११, यस्ता छन् फिचर

आषाढ ११, २०७८ शुक्रबार
माइक्रोसफ्टले रिलिज गर्‍यो विन्डोज–११, यस्ता छन् फिचर

माइक्रोसफ्ट इन्कले कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले विन्डोजको–११ भर्सन सार्वजनिक गरेको हो । ६ वर्ष अघि सन् २०१५ मा विन्डोज–१० भर्सन रिलिज भएको थियो । 

विन्डोजको यो भर्सन फ्रेस एअरी लुकको साथमा नयाँ फिचर र डिजाइन समेटिएको छ । विन्डोज–११ ले आफ्नो स्टार्ट मेनुका साथै थिमहरुमा परिवर्तन गरेको छ भने ग्राफिक डिस्प्ले उम्दा रहेको छ । यससँग माइक्रोसफ्ट टिम लगायतका धेरै सफ्टवेयरहरु समेटिएको छ । विन्डोज ११ ले कतिपय एन्ड्रोइड एप्लिकेसनहरु पनि चलाउन सकिनेछ । स्न्याप ग्रुपले एप्लिकेसनहरु चलाउन सहज हुनेछ भने र स्न्याप लेआउटले मल्टी टास्किङको सुविधा दिनेछ । 

विन्डोज ११ सार्वजनिक गर्दै कम्पनीका सीइओ सत्य नाडेलाले यो भर्सनले कनेक्टिविटीलाई विशेष जोड दिएको उल्लेख गरे । कम्प्युटर गेम खेल्नका लागि पनि विन्डोजको यो भर्सन पहिलेभन्दा धेरै उपयुक्त रहेको बताइएको छ । 

यसका लागि कम्प्युटर हार्डवेयर रिक्वायरमेन्ट भने लेटेस्ट चाहिने छ । विन्डोज ११ इन्स्टल गर्न तपाईंको कम्प्युटरमा न्यूनतम १ गिगाहट्र्जको ६४ बीट प्रोसेसर, ४ जीबी मेमोरी र ६४ जीबी स्टोरेज  आवश्यक पर्नेछ । विन्डोज ११ को होम इडिसन आगामी अक्टोबर–नोभेम्बरमा पर्सनल कम्प्युटरहरुमा प्रयोगमा ल्याउन सकिने माइक्रोसफ्टले जनाएको छ ।