बुधबार, भाद्र १० गते २०८३
बिन्धवासिनी सहकारी ३२औं स्थापना दिवस

सदस्यको समृद्धिको सारथी बिन्धवासिनी सहकारी


फाल्गुण ६, २०८१ मंगलबार
सदस्यको समृद्धिको सारथी बिन्धवासिनी सहकारी


काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था सदस्यको समृद्धिको सारथी बनेको छ । आज भन्दा ३२ बर्ष अगाडि काभ्रे जिल्लाको खोपासीमा स्थापना भएको उक्त संस्थाले हालसम्म ५७ हजार बढी सदस्यलाई वित्तीय सेवा दिनुका साथै उनीहरुको आर्थिक समृद्धिका लागि बलियो आधार बनेको छ । संस्थाले ग्रामीण भेगका सदस्यहरुलाई बचत गर्ने बानीको विकास गर्नुका साथै ऋण लिएर  उद्यमशील बन्न समेत अभिप्रेरित गरेको छ । संस्थासँग जोडिएकै कारण धेरै सदस्यहरुले आर्थिक सामाजिक रुपान्तरण गर्न सकेको संस्थाले जनाएको छ । 

संस्थाले सदस्यहरुलाई ऋण दिने मात्रै होइन, उद्यम गर्न आवश्यक पर्ने सीप, तालिम र प्राविधिकहरु समेत उपलब्ध गराउँदै आएको छ । जसले गर्दा सदस्यहरुलाई कृषि, पशुपालन र अन्य व्यवसाय गर्न थप सहयोग मिलेको छ । संस्थाले सदस्यहरुलाई दिएको सहज सेवा सेवाकै कारण संस्थाप्रति दिनप्रतिदिन आकर्षण बढेर गएको छ भने यस अवधिसम्म आइपुग्दा संस्थाले हजारौं सदस्यको मन जित्न सफल भएको छ । 

काभ्रेको पनौतीका स्थायी निवासी नारायणकृष्ण श्रेष्ठ पेशाले मोटरसाईकल वर्कसप व्यवसायी हुन् । पनौती क्षेत्रमा पहिलो पटक वर्कसप व्यवसाय सञ्चालन गर्ने उनी पहिलो व्यक्ति हुन् । उनले २०५० सालबाट यो पेशामा जोडिएका श्रेष्ठले ५ बर्षको अरुकै वर्कसपमा काम गरे र २०५५ सालमा पनौती फर्किए । ५ वर्ष आफुले हासिल गरेको अनुभवलाई निरन्तरता दिने उनले अठोट गरे । पनौती क्षेत्रमा त्यस्तो कुनै व्यवसाय नभएकाले उनले मोटरसाइकल वर्कशस सञ्चालनमा ल्याए । व्यवसाय सुरु गर्दा त्यो भेगमा मुश्किलले २०–२२ वटा मोटरसाइकल रहेको उनले बताए ।

सुरुमा २०  हजार पुँजीबाट सुरु गरेको उक्त व्यवसाय क्रमश वृद्धि हुँदै गएको र २५ बर्षदेखि एउटै पेशामा निरन्तर रहेको उनले बताए । उनले न्यू श्रेष्ठ वर्कशप एण्ड रिकण्डिशन हाउसको  नामले व्यवसाय गरिरहेका छन् । पछिल्लो समय मोटरसाइकल चढ्ने मानिसहरुको संख्यामा वृद्धि हुँदै गएकाले सोही पेशाबाट घर जग्गाा जोड्नेदेखि छोराछोरीलाई राम्रो शिक्षा समेत दिन सकेको श्रेष्ठ बताउँछन् । उनीसँग काम सिकेर गएकाहरुले अहिले त्यही क्षेत्रमा ४/५ वटा वर्कसप खोलिसकेको उनले बताए । उनले ५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् भने व्यवसाय वृद्धिका लागि बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा सदस्य बनेर नियमित रुपमा बचत ऋणको कारोबार गर्दै आएका छन् । 

केहि वर्ष अघि बिन्धवासिनी सहकारी संस्थाको सदस्य बनेका श्रेष्ठले संस्थामा दैनिक र मासिक रुपमा बचत गर्दै आएका छन् । वर्कसपबाट दैनिक ५ हजारदेखि ५० हजारसम्म कारोबार हुने गरेको र उक्त रकम नियमित रुपमा संस्थामा नै बचत गर्ने गरेको उनले सुनाए । अन्य संस्थाको तुलनामा बिन्धवासिनी बढी विश्वासयोग्य रहेको भन्दै उनले आफुँसग भएको सबै रकम ढुक्कका साथ  बचत गर्ने गरेको जनाए ।  उनले संस्थामा बचत मात्रै गरेका छैनन् । आवश्यक पर्दा पटक पटक  ऋण समेत लिएर व्यवसायलाई अगाडि बढाएका छन् ।

आफ्नो पुँजीले मात्र व्यवसाय गर्न र घर जग्गा खरिद गर्न नसक्ने भन्दै श्रेष्ठले संस्था आफ्नो समृद्धिको सारथी भएको बताए । पहिलो पटक १ करोड ऋण लिएर व्यवसाय गरेका श्रेष्ठले उक्त ऋण चुक्ता गरी अहिले नयाँ ऋण लिएका छन् । समयमा ऋणको साँवा ब्याज तिरेकै कारण संस्थाले उनलाई ३ करोडसम्म ऋण पत्याएको छ । संस्थाबाट ऋण लिएपछि समयमा नै साँवा ब्याज तिर्नुपर्छ भन्ने मान्यता बोकेको कारण आफुलाई संस्थाले ठुलो ऋण पत्याएको उनको भनाई छ । आफुुुसँग भएको पैसाले मात्र घर जग्गा जोड्न र छोराछोरुलाई विदेश पठाउन सम्भव नभएको भन्दै उनले संस्थाको सहयोगले एउटा छोरालाई अष्ट्रेलिया र अर्को छोरालाई न्युजिल्यान्ड पठाउन सकेको उल्लेख गरे । उनी भन्छन् ‘संस्था मेरो समृद्धिको सारथी हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन झन्झटिलो छ । हामीजस्तालाई कागजी प्रक्रिया पु¥याउन नै सम्भव छैन ।  तर सहकारीले सहज रुपमा ऋण दिएको छ । ब्याज तिरेर भए पनि संस्थाबाट आवश्यकता अनुसार ऋण पाएको छु । संस्थाले मलाई ठुलो सहयोग पु¥याएको छ ।’ 

लामो समयदेखि एउटै व्यवसायमा रहेर काम गरेका कारण त्यस क्षेत्रका बासिन्दाले समेत उनलाई विश्वास गर्छन् । जसले गर्दा उनलाई व्यवसाय कसरी टिकाउने भन्ने चिन्ता छैन । बिहानदेखि बेलुकीसम्म उनको वर्कसपमा मोटरसाइकल बनाउन आउनेको घुँइचो नै लाग्ने गरेको छ । 

त्यसैगरी पनौतीमा नै बसोबास गर्ने रुपा नकर्मी थापा पनि बिन्धवासिनीमा सदस्य बनेर नियमित रुपमा कारोबार गर्दै आएकी छिन् । पेशाले उनी कृषक भएको र भाडामा जमिन लिएर कृषि पेशा गर्दै आएको उनले बताइन् । उनी पनि ६ बर्ष अगाडि संस्थाको सदस्यको बनेर वित्तीय तथा अन्य सेवा लिँदै आएकी छिन् । २०७२ सालमा काठमाण्डौबाट पनौतिमा स्थायी बसोबासका लागि गएकी थापाले त्यसै क्षेत्रमा जग्गा किनी घरबार जोडेकी छिन् । बस्नलाई घर भए पनि दैनिकी चलाउने खर्च जुटाउन उनले कृषि पेशा अँगालेकी हुन् ।

तरकारी खेती गर्नका लागि आफुसँग जग्गा नभएकाले भाडामा जग्गा लिएर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको उनले बताइन् । नयाँ ठाउँ भएकाले उनलाई सुरुका दिनमा कसैबाट ऋणसापट पाउन मुश्किल थियो । तर साथीसंगीको माध्यमबाट बिन्धवासिनीमा सदस्य बनेपछि उनलाई ऋण लिन कसैको सहायता आवश्यक परेन । उनले थपिन् ‘बिन्धासिनीबाट ३ लाख रुपैया सहुलियत कर्जा लिएकी छु, त्रैमासिक रुपमा साँवाब्याज भुक्तानी गर्छु । तरकारी उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । कृषि पेशाबाट घरखर्च चल्नुका साथै वार्षिक रुपमा केहि रकम बचत समेत गर्छु ।’

संस्थाले पुँजी मात्र होइन आवश्यक पर्दा प्राविधिक समेत उपलब्ध गराइ दिएकाले पेशा गर्न थप सजिलो भएको उनको अनुभव छ । संस्थाका प्राविधिक कर्मचारीले कुन समयमा कस्तो तरकारी लगाउने, थोरै जमिनमा कसरी धेरै उत्पादन गर्ने र बेमौसमी तरकारी फलाउन के के विधि अपनाउने भन्ने जस्ता प्राविधिक सल्लाह दिने गरेकाले खेती गर्न सहज भएको उनको अनुभव छ । संस्थामा आफु र आफ्ना परिवारका सदस्य  बनेको भन्दै थापाले सहकारीकै सहयोगले जीवनयापन सहज बनाउँदै लगेको बताइन् । 

त्यसैगरी बनेपामा फेन्सी र कस्मेटिक पसल सञ्चालन गर्दै आएका पुस्कर बोलाखे पनि बिन्धवासिनीको सदस्य बनेर सेवा लिँदै आएका छन् । पनौतिमा स्थायी बसोबास भएका बोलाखेका आमाबुवा १५ वर्ष अगाडिदेखि संस्थाको सदस्य बनेर नियमित कारोबार गर्दै आएका छन् । बुबाआमासँगै उनी पनि संस्थाको सदस्य बनेर बचत गर्ने र आवश्यकता पर्दा ऋण सुविधा लिएर व्यवसायमा लगानी गर्ने गरेका छन् । ८ वर्षदेखि उक्त व्यवसाय गर्दै आएका बोलाखेले ४ वर्षजति काठमाण्डौमा व्यवसाय गरे । पछि आफ्नै क्षेत्रमा गएर सो पेशालाई निरन्तरता दिएका हुन् ।

संस्थाले आवश्यक पर्दा सहज रुपमा ऋण दिएको र १५ लाख रुपैयाँबाट शुरु गरेको व्यवसाय अहिले १ करोडमाथि पुगेको उनले बताए । संस्थामा दैनिकका साथै मासिक रुपमा समेत नियमित बचत गर्ने गरेको उनको भनाई छ । संस्थाले संध्याकालिन काउण्टरबाट समेत सेवा दिने गरेकाले थप सजिलो भएको उनले सुनाए । बैंक तथा वित्तीय संस्थाले जस्तै बिन्धवासिनीले पनि मोबाइल बैंकिङ, एटिएम र ट्याब्लेट सेवा ल्याएकाले कारोबार गर्न सहज भएको उनको अनुभव छ । बिन्धवासिनीले दिने सेवा बैंकको भन्दा कम नरहेको उनको बुझाई छ । पछिल्लो समय सहकारी संस्थाहरुप्रति अविश्वास बढिरहेका बेलामा समेत आफुहरु भने संस्थाप्रति ढुक्क रहेको बोलाखे बताउँछन् ।

संस्थाका कर्मचारीहरुको व्यवहार मित्रवत् भएको र बैंकमा भन्दा सजिलोसँग सेवा लिन सकिने भएकाले सामान्य लेखपढ गरेकाहरुका लागि त सहकारी झन् सहज भएको उनले जनाए । ‘विगतमा व्यवसाय गर्न व्यक्तिबाट ऋण लिँदा महँगो पर्ने अवस्था थियो,’ उनले थपे ‘ अहिले संस्थाबाट सरल ब्याजदरमा सहज रुपमा ऋण पाएका छौं । जसले गर्दा मन्दीको बेलामा समेत हामीलाई व्यवसायमा टिकिराख्न सघाउ पुगेको छ ।’

सिजन अनुसार व्यापार थपघट हुने र त्यसै अनुसार लगानी थप्नु पर्ने हुँदा आवश्यकता पर्दा संस्थाबाट ऋण लिन कुनै झञ्झट नभएको उनको अनुभव छ । व्यवसायमा लाग्नुभन्दा अगाडि वैदेशिक रोजगारीमा जान तम्तयार भएका बोलाखे संस्थाकै कारण स्वरोजगार बन्न सफल भएका छन् । संस्थाको वित्तीय सहजिकरणका कारण व्यवसाय गर्न हौसला मिलेकाले विदेश जाने सोच त्यागी स्वदेशमा नै व्यवसायी बन्न सकेको उनले सुनाए । संस्थाले युवाहरुलाई लक्षित गरी उद्यमशील बन्न अभिप्रेरित गर्ने र सहज तरिकाले लगानी उपलब्ध गराउने हो भने विदेशिनेको लर्को कम हुने उनको धारणा छ । उनले भने, ‘ संस्थाले पनि हामीहरुलाई विश्वास गरेको छ र हामी पनि संस्थाप्रति इमानदार भएर समयमै ऋणको साँवाब्याज तिर्छौ । यो व्यवहार दोहोरो नै हुनुपर्छ । संस्थाले हामीलाई जिरोबाट माथि उठ्न सघाएको बिर्सनुहुँदैन ।’

बनेपामा नै स्थायी बसोबास गर्ने रमन मानन्धर एग्रोभेट व्यवसायी हुन् । २०५८ सालदेखि साँग्रिला एग्रो भेट इम्पेक्स नामक व्यवसाय गर्दै आएका मानन्धर कृषकहरुको सारथीको रुपमा आफुलाई चिनाउँछन् । उनले कृषकहरुलाई आवश्यक पर्ने, बिउबीजन, मलखाद, रासायनिक मल, किटनाशक औषधि तथा कृषि औजार उपलब्ध गराउँछन् । घट्दो कृषियोग्य जमीन र विदेशिने लहर बढेका कारण कृषि कर्म कम हुँदै जाँदा व्यवसाय घट्दै गएको उनको अनुभव छ ।  

खेतीपातिको समेत औषधी हुन्छ भन्ने थाहा नै नभएका मानन्धर केहि वर्ष त्यसै प्रकारको व्यवसायमा जोडिन पुगे । सिक्दै काम गर्दै जाँदा यसै क्षेत्रमा रहर जागेर आएकाले २३ वर्ष देखि सोही पेशा गर्दै आएको उनले बताए । व्यवसाय बाट सहज जीवन धान्न र बालबच्चालाई शिक्षादिक्षा दिन सघाउ पुगेको उनले सुनाए ।उनले काभ्रे सहित दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीसम्म कृषिपेशालाई आवश्यक पर्ने सामग्री थोक तथा खुद्रा विक्री गर्ने गरेका छन् । कृषकलाई विक्रीका साथै प्रयोग सम्बन्धी आवश्यक सरसल्लाह पनि उनले दिने गरेका छन् । 

आफ्नो पेशामा रमाएका मानन्धर बिन्धवासिनीमा व्यवसाय शुरु गर्नु अगाडिदेखि नै सदस्य बनेका थिए । २०५५ सालतिर संस्थाको सदस्य बनेका मानन्धरले व्यवसाय शुरु गर्दा बिन्धवासिनी बाट नै ऋण लिएको बताउँछन् । पहिलो पटक ३ लाख ऋण लिएर व्यवसाय अगाडि बढाएका मानन्धरले संस्थाबाट ५० लाखसम्म ऋण लिएको बताए । संस्थाले बैंकले जस्तै गुणस्तरीय र विश्वसनीय सेवा दिएका कारण नियमित रुपमा कारोबार गर्दै आएको उनले जनाए । आवश्यक पर्दा ऋणका लागि बैंक तथा वित्तीय संस्थामा धाउनु नपरेको र बिन्धवासिनीले आवश्यकता अनुसार सहज रुपमा  ऋण दिने गरेको बताए । उनले भने,  ‘अहिले कतिपय सहकारी संस्थालाई विश्वास गरिहाल्ने अवस्था छैन । तर बिन्धवासिनीलाई सदस्यहरुले आँखा चिम्लेर विश्वास गर्न सकिने बातावरण बनाउनु भएको छ । विश्वास र दिने सेवाका हिसाबले ‘क’ वर्गको बैंकभन्दा कम छैन ।’ लामो समयदेखि संस्थामा जोडिएर कारोबार गरेकाले बिन्धवासिनीको माया लाग्ने उनले सुनाए । 

संस्थाका पनौति कार्यालयका व्यवस्थापक सुरज अधिकारीे सदस्यहरुको व्यवसायको विश्लेषण गरेर संस्थाले ऋण लगानी गर्ने गरेको बताउँछन् । पनौति कार्यालय अन्तर्गत १३ हजार सदस्य र २ हजार बाल बचतकर्तालाई सेवा दिँदै आएको उनले बताए । उक्त कार्यालयबाट ८५ करोड ऋण लगानी गरिएको उनको भनाई छ । संस्थाले सदस्यहरुलाई आवश्यक पर्ने सीप, पुँजी, प्रविधि र प्राविधिक जनशक्ति समेत उपलब्ध गराउने गरेको अधिकारीले जानकारी दिए । संस्था र ‘किसान टु’ परियोजनाको साझेदारीमा पनौति, ढुंखर्क, बनेपा, नमोबुद्ध र भकुण्डे सेवा केन्द्रमार्फत ८० समुहका २ हजार कृषक परिवारलाई समेटेको उनले बताए । ज्ञानमा आधारित दिगो कृषि परियोजना भएकाले नर्सरी, उत्पादन र बजारीकरणसम्म संस्थाले सघाउने गरेको छ ।   संस्थाले सदस्यहरूमा उद्यमशीलता विकास गर्न बिडिएस डेस्क नै स्थापना गरी अगाडि बढेको छ । सदस्यहरूमा उद्यमशीलता विकास गर्ने उद्देश्यकासाथ संस्थाले बिडिएस डेस्क खडा गरेको र उक्त डेस्कबाट सदस्यहरूले गर्न चाहेको व्यवसायका विषयमा परामर्शका साथै आवश्यक पुँजी र प्रविधि समेत उपलब्ध गराउनेछ ।