शनिबार, आश्विन १७ गते २०८३

सहकारीलाई नियमन गर्ने छुट्टै निकायको आवश्यकता देखियोः मन्त्री शर्मा

आश्विन २४, २०७८ आइतबार
सहकारीलाई नियमन गर्ने छुट्टै निकायको आवश्यकता देखियोः मन्त्री शर्मा

स्यूचाटार साकोसको १५ औं साधारण सभा सम्पन्न

स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाले  १५ औं वार्षिक उत्सव तथा साधारण सभा समुह समुहमा शेयर सदस्यहरुको उपस्थिति र हाजिरी गराइ सम्पन्न गरेको छ । संस्थाले यहि  आश्विन १९ देखि २१ गतेसम्म सदस्य उपस्थिति  गरी अन्तिम दिन सीमित व्यक्ति भेला भएर सभा सम्पन्न गरेको हो ।

तीन दिनसम्म आयोजित साधारण सभा समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री जनार्दन शर्मा तथा विशिष्ट अतिथिहरूमा नागार्जुन नगरपालिकाका प्रमुख  मोहन बहादुर बस्नेत लगायत अन्य विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । संस्थाको आफ्नै नवनिर्मित भवनको सभाहलमा साधारण सभा आयोजना गरिएको थियो भने नवनिर्मित भवन अर्थमन्त्री  शर्मा, नागार्जुन न.पा. प्रमुख  बस्नेत र संस्थाका अध्यक्ष  साधुराम गौतमबाट संयुक्तरुपमा समुद्घाटन गरिएको थियो ।

कोभिडको कारण संस्थामा उपस्थिति नभई घरमै बसेर साधारण सभा सम्बन्धी गतिविधि हेर्नु सकुन भन्ने हेतुले कार्यक्रमको यथार्थ गतिविधि टि.भि. टुडे र संस्थाको आधिकारी फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । 

244529480_409310447407658_1051533881338936013_n.jpg

साधारण सभालाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि शर्माले सहकारी संस्थाको नियमनकारी निकायको खाँचो औल्याएका छन् । साथै अहिले कतिपय सहकारीले निक्षेपकर्ताको पैसा जम्मा गरेर हिनामिना गरेको सन्दर्भमा सहकारीहरुको बलियो नियमन आवश्यक रहेको बताए । “गाउँका आमाबुबाको भत्ताको पैसा, अलिअलि बचत गरी जोडेको पैसा लिएर कतिपयले बदमासी गरेको कुरा आएको छ, तर त्यस्तो गलत क्रियाकलाप नियमन गर्ने खास निकाय खासगरी रहेनछ,” उनले भने, सहकारी विभाग छ तर सहकारीलाई नियमन गर्ने विशिष्ट निकाय छैन । त्यसैले सहकारीलाई नियमन गर्ने संस्थाको आवश्यकता देखिएको भन्दै उनले यसवारे मन्त्रालयमा अहिले छलफल समेत शुरु भएको बताए । सदस्यहरुबाट संकलित बचत रकम उत्पादनशिल क्षेत्रमा लगानी भएर राष्ट्रनिर्माणमा एक खम्बाको रुपमा रहेको उनले बताए । 

साधारण सभालाई सम्बोधन गर्ने क्रममा नागार्जुृन न.पा.का प्रमुख  बस्नेतले कोभिडको यस्तो भयावह स्थितिमा पनि संस्थाले प्रगति गरेकोमा खुशी व्यक्त गर्दै संस्थाको भविष्य उज्ज्वल रहेको समेत बताए । संस्थाको आफ्नै  भवन र कुशल व्यवस्थापनको कारण संस्था बलियो धरातलमा उभिइसकेको भन्दै यसमा आवद्ध ५ हजार भन्दा बढी सदस्यहरु संस्थाप्रति ढुक्क हुन सक्ने अवस्था रहेको समेत उनले जनाए ।

244682122_418330516342401_7855500285653051349_n.jpg

साधारणसभामा संस्थाको अध्यक्ष साधुराम गौतमले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै शेयर पूँजी ६ करोड ८९ लाख, जगेडा कोष ७ करोड ६९ लाख, बचत संकलन ६२ करोड ६२ लाख, ऋण प्रवाह ५८ करोड ६३ लाख र स्थिर सम्पत्ति (घर जग्गा) ७ करोड ४१ लाख रहेको बताए । साथै सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष  गौतमले कोभिड १९ को महामारीको बिच पनि संस्थागत र सामाजिक कार्यक्रमहमा संस्थाको निरन्तरताका लागि परेको र लकडाउनको कारण आर्थिक समस्यामा परेका ऋणी सदस्यहरुलाई राहत स्वरुप व्याजमा विशेष छुटको व्यवस्था गरेको समेत जानकारी दिए । 

संस्थाका सचिव कृष्णहरि खत्रीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको साधारणसभामा लेखा समितिको तर्फबाट कृष्ण प्रसाद लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा निवर्तमान अध्यक्ष वीरेन्द्र बहादुर थपलिया तथा शेयर सदस्य तथा नागार्जुन न.पा. १० का वडा अध्यक्ष सुन्दर कुमार के.सी.ले १५ औं वार्षिकोत्सव तथा साधारण सभाको सफलताको कामना गरे । सभामा उठेका जिज्ञासाहरुलाई संयुक्त रुपमा अध्यक्ष गौतम र कृष्ण प्रसाद लामिछानेले जिज्ञासाको सम्बोधन गरेका थिए भने कोषाध्यक्ष  बन्दना खड्काले कार्यक्रम संचालन गरेकि थिईन ।