कोरोना भाइरसको दोस्रो लहरपछि सृजित असहज परिस्थितिका कारण मुुलुकको अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित बनेको छ । कोरोनाको कारण मानविय क्षतिसँगै व्यापर व्यबसाय ठप्प हुँदा त्यसको असर अर्थतन्त्रमा पनि परेको छ । झन्डै २ महिनाको निषेधाज्ञा पछि कोरोना भाइरस केहि नियन्त्रणमा आएपनि त्यसको जोखिम कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । सधैंभरि निषेधाज्ञा लगाएर मात्रै दैनिकी सञ्चालन गर्न असम्भव भएकाले अब राज्यले नयाँ विकल्प दिनुपर्ने आवाज सर्वत्र उठन् थालेको छ । त्यसका लागि छिटो भन्दा छिटो खोपको व्यवस्था गरी जनजीवनलाई सहज बनाउनु पर्ने आवाज सबै क्षेत्रले उठाउन थालेका छन् । अर्कोतर्फ कोरोनाले थला पारेको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखानामा काम गर्ने मजदुर तथा कर्मचारीलाई खोपको व्यवस्था गर्न निजी क्षेत्रले माग गरेका छन् ।
नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकारसमक्ष आग्रह गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलाई भेटी परिसंघका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने बताए ।
अध्यक्ष मोरले बजेटमा उल्लेखित धेरै विषय तत्काल कार्यान्वयनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गर्नुपर्नेमा जोड दिनुका साथै बजेटमा जस्तै मौद्रिक नीतिमा पनि निजी क्षेत्रका समस्या सम्बोधन हुनुपर्ने जनाए ।
कोभिड–१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरुमा कार्यरत मजदूर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन पनि परिसंघले उपप्रधान तथा अर्थमन्त्रीमार्फत सरकारलाई आग्रह गरेको छ । यसैगरी मापदण्ड बनाएर निजी क्षेत्रलाई भ्याक्सिन आयातको अनुमति दिँदा थप सहज हुने र चाँडैनै लक्षित वर्गले खोप पाउने भएकोले यसतर्फ पनि ध्यान दिन परिसंघले सरकारसमक्ष अनुरोध गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षाको रूपमा लिएको उल्लेख गर्दै बजेटमा आएका प्रतिक्रियाले आफू उत्साही भएको र निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयन अघि बढाउने बताए ।
मन्त्री पौडेलले कोरोनाको भ्याक्सिन खरिदमा सरकार अघि बढेको र अमेरिका, चीन, भारत लगायतका देशबाट भ्याक्सिन खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको उल्लेख गरे ।
विश्वभर कोरोना विरुद्धको खोप उत्पादन र प्रयोगमा आइसकेकाले नेपालले पनि आवश्यकताअनुसार खोपको व्यवस्था मिलाई जनजीवन सहज बनाउनेतर्फ मुख्यरुपमा लागिपर्नु अहिलेको आवश्यकता रहेको छ । राजनीतिक खिचातानी र आन्तरिक कलहमा दलहरु नअलमलिइ राष्ट्रिय आवश्यकतालाई पहिचान गरेर अघि बढ्न सकेमात्र मुलुकको हित हुने हुँदा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक देखिन्छ । तबमात्र मुलुकको जनजीवन सामान्यतर्फ उन्मुख हुन गई अर्थतन्त्रले पनि पहिलेकै लयमा फर्कन सक्छ ।