शनिबार, आश्विन १७ गते २०८३

सहकारीमा खुल्ला बहस हुँदैः सहकारीकर्मीका प्रश्नको तत्काल जवाफ दिइने

आषाढ १०, २०७८ बिहीबार
सहकारीमा खुल्ला बहस हुँदैः सहकारीकर्मीका प्रश्नको तत्काल जवाफ दिइने

 

सहकारी क्षेत्रमा सम्भवत पहिलो पटक खुल्ला सवाल जवाफ कार्यक्रम हुने भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा यही असार १२ गते सहकारीका समस्या माथि खुल्ला सवाल जवाफ हुन लागेको हो । 

संघले सरोकारवालाहरु संग बागमती प्रदेश सहकारी ऐन–२०७६, नियमावली–२०७६, मापदण्ड–२०७७ मा रहेको अन्योलता र वर्तमान समयमा सहकारी संस्थाहरुको अवस्थाको बारेमा छलफल गर्ने जनाएको छ । 

राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन, बागमती प्रदेश सहकारी विकास बोर्ड, प्रदेश सहकारी विभाग, बागमती प्रदेश भित्रका विषयगत संघहरु, ललितपुर जिल्ला सहकारी संघ, नगरपालिका सहकारी प्रतिनिधिहरुले पत्रकार एवं सहकारीकर्मीका सवालहरुको जवाफ दिने जनाइएको छ । 

ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईंले सहकारीमा भएका समस्याको बारेमा खुल्ला रुपमा प्रश्न सोध्न पाइने र सम्बन्धित पक्षले ती प्रश्नको तत्काल जवाफ दिने बताए । सहकारीमा भाषण मात्रै धेरै हुने तर समस्या समाधानतर्फ केन्द्रित कम हुने हुँदा अब यथार्थमा अभियानलाई अघि लैजान सवाल जवाफको कार्यक्रम राखिएको उनको भनाई छ । कार्यक्रमले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधान निकाल्न सहयोग पुग्ने विश्वास उनको छ ।

सहकारी अभियान सधैंभरि टालटुले परिपाटीबाट चल्दै आएको राज्य र अभियानले ठोस रुपमा सहकारीलाई निकास दिन आवश्यक रहेको उनको ठम्याई छ । कार्यक्रम त्यसतर्फ अग्रसर हुने उनले जनाए । विशेषतः बागमती प्रदेशभित्रका सहकारीकर्मीहरुलाई कार्यक्रममा जोडिन र आफुले भोगेका समस्याका बारेमा खुलेर प्रश्न गर्न सकिने भएकाले सहभागिताका लागि सबैलाई उनले अपील गरे । कार्यक्रम फेसबुकमा लाइभ हुने साथै कृषि टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण हुनेछ ।  

‘खुल्ला सवाल जवाफ कार्यक्रम–२०७८’ असार १२ गते दिउँसो १२ बजेबाट भर्चुअल रुपमा हुने संघले जानकारी दिएको छ ।