प्रदेश नं. १ पहिलो थोक उपभोक्ता विशिष्टीकृत संघ दर्ता भएको छ । संघ दर्ताको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा महासंघको तर्फबाट बोल्दै उपाध्यक्ष रमेश प्रसाद पोखरेलले उपभोक्तालाई दैनिक आवश्यकताका वस्तुको सहज आपूर्ति एवं गुणस्तरीयताको अभावको वर्तमान समयमा निजीक्षेत्रको एकाधिकार रहेको वजार व्यवस्थापनमा सहकारी क्षेत्र विशिष्टीकृत संघका माध्यमबाट प्रवेश गरेको बताए ।
सहकारीको प्राथमिकता दिगो उत्पादन र उपभोगमा जोड दिंदै दैनिक आवश्यकताका वस्तुहरु सहज र सर्वसुलभ मूल्यमा आमउपभोक्तामा पुर्याउन सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गरे ।
संघ दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्दै प्रदेश रजिष्टार बलराम निरौलाले निजी व्यवसायीसंगको प्रतिस्पर्धालाई सहकारी क्षेत्रमा विशिष्टीकृत संघले गतिलो सहारा दिने विश्वास व्यक्त गरे ।
उक्त विशिष्टीकृत संघका अध्यक्ष महेन्द्र गिरीले तीनमहिना भित्रमा प्रदेश नं. १ मा सहकारीमार्फत दैनिक आवश्यकताका वस्तुहरु उपभोक्ताबीच सहज र सुपथ मूल्यमा पुर्याउने प्रतिवद्धता जनाए ।
प्रदेश नं. १ का ३१ वटा विभिन्न संस्थाहरुबाट १ करोड ८ लाख शेयर पुँजी संकलन गरी उक्त संघ दर्ता भएको हो ।
नेपाल सरकारको आर्थिक वर्ष २०७७।७८ को बजेट वक्तव्यमा उल्लेखित सवै प्रकारका उत्पादन, संकलन, भण्डारण र वितरणसम्मका श्रृखला विकास गर्न र सहकारी पसललाई थोक मूल्यमा आवश्यक वस्तु उपलव्ध गराउन प्रत्येक प्रदेशमा सहकारी संस्थाकै शेयर लगानीमा थोक उपभोक्ता सहकारी स्थापना गर्ने नीति अनुरुप महासंघको थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ प्रवद्र्धन कार्यक्रम अन्तर्गत उक्त विशिष्टीकृत सहकारी संघ गठन भएको हो ।
यस अघि महासंघले सबै प्रदेशमा थोक उपभोक्ता विशिष्टीकृत संघ स्थापनार्थ सम्भाव्यता अध्ययन एवं संघको नमुना विनियम र संचालन कार्यविधि तर्जुमा गर्नुका साथै संघ स्थापनार्थ बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्विनी प्रदेश र प्रदेश नं. १ मा सहकारी संघ संस्थाका वीच अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिसकेको छ ।