शनिबार, आश्विन १७ गते २०८३

संचित साकोसको आयोजनामा क्षमता अभिबृद्धि तालिम सम्पन्न

आश्विन १, २०७८ शुक्रबार
संचित साकोसको आयोजनामा क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुरको सूर्यविनायकस्थित संचित  बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धीको तालिम दिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता विकास तालिम आयोजना गरेको जनाए । कोही पनि व्यक्ति सबै क्षेत्रमा निपूर्ण नभएको र  क्रमिक रूपमा आवश्यकता बमोजिम क्षमता विकास गर्दै लानुपर्ने अध्यक्ष खर्बुजाको भनाइ छ । तालिम कार्यक्रमले सार्वजनिक रूपमा बोल्न नसक्ने प्रशिक्षार्थीहरुमा सिलसिला मिलाएर बोल्ने सक्ने शैलीको विकास भएको उनले बताए ।

sanchit 2.jpg

भदौ चौंथो हप्तादेखि भुलांचास्थित संस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रमलाई एक समारोहकाबीच आज समापन गरिएको छ । सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएको तालिम कार्यक्रमलाई ईन्दिरा प्रजापतिले संयोजन गरेकी हुन् । क्षमता अभिवृद्धि तालिम कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका सहकारीका पदाधिकारी तथा सदस्यहरुको उत्साहजनक सहभागिता थियो । 
२०६६ सालमा स्थापना भएको संस्थाले वित्तीय सुशासनलाई ध्यान दिँदै सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको छ ।मुलुकमा  कोभिड -१९ को महामारी फैलिएको अबस्थामा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट र स्वास्थ्य क्षेत्र विकास गर्न आह्वान गरेको कोषमा संस्थाले एक लाख नगद सहयोग गरेको थियो । जिल्लाकै उत्कृष्ट दस सहकारीहरूको सुचीमा सुचिकृत गराउन सफल भएको संस्थाले आ. व. २०७७/०७८ मा ५६ करोड रूपियाँको कारोवार गरेको छ ।