भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को बार्षिक समिक्षा कार्यक्रम संघको आफ्नै भवनमा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्दै सहकारी ऐनमा आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दा राखिने धित्तोमा कुनै शुल्क नलाग्ने भनिएता पनि हाल मालपोतमा ३० लाखसम्मको दृष्टिबन्धक रोक्का दस्तुर रु.५०० बाट रु.८,००० सम्म बृद्धि गरेकोमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र वागमती प्रदेश बचत तथा ऋण सहकारी संघलाई ध्यानाकर्षण गराएको बताए ।
लाखाजुले विषम परिस्थीतीमा सहकारीलाई सरकारले उपेक्षा गरेको भन्दै सहकारीलाई सम्बोधन गर्न महासंघलाई ध्यानाकर्षण गराएको समेत बताए । भक्तपुर जिल्लामा मात्र राष्ट्रिय सहकारी बैंकको तीन वटा शाखा र नेफ्स्कूनको दुई वटा फिल्ड कार्यालय खोली अस्वस्थ प्रतिस्पर्धा गरेको र प्रदेश सरकारले आफैले बनाएको नियम उलङघ्न गरी संस्थाहरु दर्ता र सहकारी विकास बोर्ड गठन गरेको उनको भनाई छ ।
संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य राख्दै संघले महामारीमा संघले खेलेको भुमिकाको चर्चा गर्दै सहकारीको अभियानलाई अगाडी बढाउन एकजुट हुनुपर्ने विचार राखे ।संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७७।७८ को बार्षिक आर्थिक समिक्षा प्रस्तुत गदै श्रोततर्फ गत बर्षको तुलनामा ६३ प्रतिशतले बृद्धि भई वासलात १ अर्व ६७ करोड ६२ लाख भएको र अनुमानमा १०८ प्रतिशतले प्रगति भएको विवरण प्रस्तुत गरेका थिए । महामारीका कारण बचत धेरै संकलन हुनुको साथै ऋण असुली बृद्धि भएकोले ऋण लगानीमा चुनौती थपिएको उनले बताए । तरलताको वित्तीय तथा ऋण लगानी मार्फत गत बर्षको तुलनामा नाफामा ७६ प्रतिशतले बृद्धि गरी २ करोड ५३ लाख गर्न सफल भएको उनले जनाए । संघको भवन निर्माणमा ११९ वटा संस्थाबाट १४ लाख ५९ हजार सहयोग प्राप्त भई ९२ लाख लागत इष्टिमेटमा शुरु भएको भवन निर्माण कार्य रु.७९ लाख २६ हजारको लागतमा सम्पन्न भएको जनाएको छ ।
संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले विषम परिस्थितीमा पनि संघले सहकारी अभियानको लागि भुमिका खेलेकोमा खुशी व्यक्त गर्दै थप भुमिकाको लागि सुझाव दिए । सघंका व्यवस्थापक बालकृष्ण धोजुले सघंको कार्यक्रम प्रगति, सघंद्धारा आयोजित कार्यक्रमहरु, निषेध आज्ञामा आयोजित कार्यक्रमहरु, बैठक संख्या विवरण आदिको समिक्षात्मक प्रस्तुतीकरण गरेका थिए ।
संघले दिदैं आएको मोबाइल एप्स सेवा,समन्वय सेवा, प्रकाशन सेवा, स्टेशनरी सेवा ,परार्मश सेवा वारेमा समेत समिक्षा भएको थियो । विषम परिस्थीतीमा पनि संघले समय अनुसारको प्रविधिको प्रयोग गरी तालिम तथा शिक्षाको निरन्तरता दिइरहको छ । संघमा हाल २०० वटा सदस्य संस्था आबद्ध रहेको छन । संघले सदस्य संस्थाहरुको वित्तीय सुरक्षा र व्यवसाय निरन्तरताको लागि सहुलित दरमा ऋण लगानी नीति अबलम्बन गरेको छ । कार्यक्रममा संचांलक समिति, लेखा सुपरिबेक्षण समिति, उपसमितिका सदस्य र कर्मचारीहरु उपस्थित रहेको थियो ।