शनिबार, आश्विन १७ गते २०८३

सहकारी क्षेत्रका विकृतिविरुद्ध कलम चलाउन पत्रकारलाई सहकारीकर्मीको अपील

भाद्र २०, २०७८ आइतबार
सहकारी क्षेत्रका विकृतिविरुद्ध कलम चलाउन पत्रकारलाई सहकारीकर्मीको अपील

 

सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गरी सहकारीको प्रवर्द्धनमा पत्रकारिता जगतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने जरुरी रहेको सहकारी अभियन्ताहरुले जनाएका छन् ।  

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं स्थापना दिवसमा  बोल्दै वक्ताहरुले सहकारी र सञ्चार क्षेत्रको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताएका हुन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रको अध्ययन अनुसन्धान गरी खोजमुलक समाचार सम्पे्रषण गर्नुपर्नेमा जनाए । सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न जोड दिनुपर्ने उनले बताए । ‘सहकारीले तीन खम्बे अर्थनीति अनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्छ’ उनले भने ।  सत्थ्य, तथ्य समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले पत्रकारहरुले निष्पक्ष ढंगले कलम चलाउन सके सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सञ्चारमाध्यमले सहकारी क्षेत्रको विषयमा स्थान दिनुपर्ने उल्लेख गरे । 

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले सञ्चारमाध्यमकको सहयोगले सहकारी करेक्सन हुन मौका पाउने बताए । सहकारी क्षेत्रका खोजमूलक समाचार सम्प्रेषण हुननसकिरहेका उनले औंल्याए । 

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाई र निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव तुलसी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजी श्रेष्ठले स्वागत गरेका थिए । 

स्थापना दिवसको अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका पत्रकार कौशिला कुँवरलाई पुरस्कृत गरिएको छ । त्यस्तै सिजऐन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मान गरिएको थियो । 


सिजेएन राष्ट्रिय पत्रकारिता तथा हितकोषमा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहयोग गर्ने घोषणा गरेका छन् । उनले हब कोअपरेटिभ प्रालिको तर्फबाट कोषमा २ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।