युवा बचत तथा ऋण सहकारी संस्थाले पाँचखालमा सेवाकेन्द्र सुरु गरेको छ । पाँचखाल नगरपालिकाका उप प्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष उदयराम कायस्थको अध्यक्षता रहेको थियो । त्यसैगरी कार्यक्रममा पाँचखाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।
प्रमुखअतिथि उप प्रमुख दनुवारले सहकारी संस्थाले ऋण दिने र जसारी हुन्छ असुली गर्ने नीति लिने मात्र हो भने सदस्य मैत्री हुन नसकिने बता्रईन । निम्न आयस्तर भएका सदस्यहरूको जीवनस्तर उकास्न कसरी सकिन्छ भन्ने चिन्तनमा सहकारी केन्द्रित हुनुपर्ने उनको भनाई थियो । युवा साकोसको आगामी दिनमा सफलताको शुभकामना दिदै पाँचखाल नगरपालिका र युवा साकोसको सहकार्यमा नगरबासीहरूमा उद्यमशिलाता विकास गर्ने तथा जीवनस्तर सुधार गर्ने कार्यक्रमहरू संचालन गर्नुपरेमा आफ्नो पूर्ण साथ सहयोग रहने बताईन ।
संस्थाका अध्यक्ष उदयराम कायस्थले काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको युवा साकोसको १३ वटै स्थानीय तहमा एक(एक वटा सेवाकेन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप दोस्रो सेवाकेन्द्रको रूपमा पाँचखाल सेवाकेन्द्र स्थापना भएको जानकारी गराए । सेवा केन्द्र स्थापनाले पाँचखाल नगर क्षेत्रका सदस्यहरूले बनेपासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । कार्यक्रममा युवा साकोसका व्यवस्थापक श्निश्चल सापकोटाले संस्थाको परिचयसम्बन्धि सामग्री प्रस्तुत गरेका थिए ।
पाँचखाल नगरक्षेत्रका सदस्यहरूको सुझावलाई समेट्दै बचत तथा ऋणको सेवा उपलब्ध गराउनुका साथै अन्य सामाजिक कार्यक्रम पनि संचालन गर्ने प्रतिबद्धता कायस्थले गरे । कार्यक्रममा पाँचखाल नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक विष्णु गौतम, संस्थाका संचालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति सदस्य, कर्मचारीलगायत शेयर सदस्यको उपस्थिति रहेको थियो । ।