नेपालबाट भारत हुँदै भारत र तेश्रो मुलुकमा मानव तस्करी बढेकोमा चिन्ता व्यक्त गरिएको छ । माइती इण्डिया नामक संस्थाले नयाँ दिल्लीमा गरेको एक कार्यक्रममा २०१५ को महाभूकम्प पछि बढेको मानव तस्करीले कोभिड १९ महामारी पछि अझ तीब्रता पाएको भन्दै भारतीय राष्ट्रिय महिला आयोग अध्यक्ष रेखा शर्माले चिन्ता व्यक्त गरिन् ।
नेपाल र भारत दुवै देशका सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी संस्थाहरुलाई समेत मानव तस्करी नियन्त्रण ठूलो चुनौतिको विषय भएको छ ।
मानव तस्करीमा पर्ने अधिकांश नाबालिग र महिला रहेको उद्धारका क्रममा फेला परेका पीडितको तथ्यांकले देखाएको छ । गरिबी र अशिक्षाका कारण कतिपय अवस्थामा आफ्नै परिवारका सदस्यले आफ्ना बालबालिकालाई पैसाको लोभमा दलालाल सुम्पिने गरेको पाइएको छ ।
अध्यक्ष शर्माले भनिनन् ‘तस्करहरुका लागि नेपाल धेरै ठूलो श्रोत बन्न पुगेको देखिन्छ, तथ्यांकहरुले पनि त्यो देखाएको छ ।
भारतका लागि नेपालका राजदुत शंकरप्रसाद शर्माले गरिबी र अशिक्षा तस्करीको मुख्य जड रहेकाले त्यस क्षेत्रमा नेपाल सरकारले काम गरिरहेको बताए ।
दिल्ली प्रहरीका संयुक्त कमिश्नर छाया शर्माले श्रोतमै गरिएको विभिन्न जागरण तथा उपायहरुले झारखण्डबाट हुने अवैध मानव तस्करी न्यून हुन पुगेको उदाहरण दिँदै त्यस्ता उपाय अपनाउन सुझाव दिइन् ।
सीमा सुरक्षाबल(एसएसबी) का डिआईजी सुरेश सुब्रमन्यमले मान तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा दुवै तर्फबाट ‘इन्टेलिजेनस’ मा आधारित सूचना आदानप्रदान गनरेर संयुक्त अपरेशन गर्नु आवश्यक रहेको औंल्याए ।
साइबर अपराध मामिलाका जानकार जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टाराईले अहिलेको डिजिटल दुनियामा अपराधीले स्रोतमा नपुगीकनै युवायुवतीलाई लोभ्याउने काम भइरहेको औंल्याए ।
नेपालपत्र संवाददाता