दोलखामा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत वर्षको उत्कृष्ट व्यवस्थापक घोषित भएका छन् । नेफ्स्कुनमा आवद्ध साकोसहरुमध्येबाट बस्नेत मुलुकभरकै उत्कृष्ट व्यवस्थापक बन्न सफल भएका हुन् । नेफ्स्कुनले ३४औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा बस्नेतलाई उत्कृष्ट व्यवस्थापक घोषणा गरेको हो ।
विगत ११ वर्षदेखि हाम्रो जनकल्याण साकोसको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका बस्नेतले व्यवस्थापन संकायमा स्नातकोत्तर तह र शिक्षा संकायमा स्नातक गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दुई दर्जनभन्दा बढि तालिममा सहभागी भएर उनले आफ्नो सीप र क्षमतालाई परिष्कृत गरिसकेका छन् । त्यसका साथै देश विदेशमा रहेका विभिन्न संस्थाहरुको अध्ययनअवलोकन गरी सहकारीका बारेमा ज्ञान हासिल गरेका छन् ।
आफूले व्यवस्थापनको नेतृत्व गरेको संस्थालाई संस्थागतरुपमा अगाडि बढाउने, एशियाली ऋण महासंघ (आकु) ले सञ्चालन गरेको एक्सेस ब्राण्डमा सहभागी गराई संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने, संस्थाको श्रोत व्यवस्थापन, वित्तीय तथा संस्थागत संगठनलाई सुदृढ गर्ने एवं सदस्यको सूचनाको हकलाई समेत संस्थागत गर्ने कुरामा बस्नेतको मुख्य योगदान रहेको छ । त्यसैगरी संस्थालाई सुशासनयुक्त बनाउन नीति, विधि र प्रविधिको प्रयोगमा पनि उनले भूमिका खेलेका छन् ।
कामप्रतिको निरन्तरता, लगाव र त्यागको प्रतिफल स्वरुप नै आफू उत्कृष्ट व्यवस्थापक हुनसकेको र सम्मानले सहकारी क्षेत्र अझै निरन्तर लागिरहन अभिप्रेरित गरेको उनले प्रतिक्रिया दिए ।
उत्कृष्ट व्यवस्थापक नेफ्स्कुन म्यानेजर्स क्लबको संयोजक हुने व्यवस्था रहेको र क्लब गठन हुँदा देखि नै त्यसमा क्रियाशील रहेको भन्दै क्लबलाई कस्तो बनाउने भन्नेमा आफ्नो योगदान रहेको उनले सुनाए । जसरी विश्वमा बैंकको भन्दा बढि पहिचान र सम्मान सहकारीले पाएका छन् देश विकासमा पनि सहकारीको भूमिका महत्वपूर्ण देखिन्छ तर नेपालमा भने सहकारीहरुलाई विभिन्न आरोप प्रत्यारोप र लाञ्छना लागिरहेको छ । त्यसलाई चिर्नका निम्ति साकोस म्यानेजर्स क्लबले खाका बनाएर काम गर्ने उनले जनाए ।
सरकारको प्रत्यक्ष निमयनमा रहेको भएपनि कतिपय संस्थाको सदस्यहरुको बचत असुरक्षित भइरहेको परिप्रेक्ष्यमा सहकारीमा रहेको बचत सुरक्षित छ है भन्ने सन्देश दिने हिसाबले काम गर्ने बस्नेतको भनाई छ । त्यसैगरी हाइटेक प्रविधिको प्रयोगमा नेपालका सहकारी संस्था कमजोर रहेको अवस्थामा बैंक तथा वित्तीय संस्था सरह प्रविधिको प्रयोगलाई अगाडि बढाई यो क्षेत्र पनि कमजोर छैन भन्ने सन्देश दिने र सहकारीलाई बचत तथा ऋणमा मात्र सीमित नगरी सदस्यहरुलाई उत्पादनतर्फ अग्रसर गराई उत्पादित वस्तुको ब्राण्डिङ्ग र बजारिकरणमा समेत लाग्ने उनले जनाए ।
यस वर्षबाट भने नेफ्स्कुनले सातै प्रदेशबाट एक एक जना उत्कृष्ट व्यवस्थापक छनौट गर्न शुरु गरेको छ ।