चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. को दहचोक सेवाकेन्द्र सञ्चालनमा आएको छ । चन्द्रागिरि नगरपालिका वडा नं १२, सृजना चोकमा स्थापना गरिएको उक्त सेवाकेन्द्रको नेपाल बचत तथा ऋण सहकारी संघ लि. नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले शनिबार उद्घाटन गरेका हुन् ।
चन्द्रागिरि न.पा. १ खहरे स्थित साविक दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकिकरण भई उक्त सेवाकेन्द्र स्थापना भएको हो । वि.सं. २०५८ साल वैशाख ६ गते स्थापना भएको चन्द्रागिरिले समुदायमा विभिन्न सहकारी सेवाहरु प्रदान गर्दै आइरहेकोमा वि.सं. २०७६ सालबाट विभिन्न प्रकृतिका सहकारी संस्थासँग एकिकरण गर्दै आएको छ।
हालसम्म ३ वटा सहकारी संस्थाहरुसँग एकिकरण गरिसकेको चन्द्रागिरिले ललितपुरको खुमलटार, काठमाडौंको न्यूरोड र धादिंगको नौबिसेमा समेत सेवा केन्द्र थप गर्ने योजनामा रहेको छ ।
प्रमुख अतिथि पौड्यालले राष्ट्रबैंकद्वारा जारी मौद्रिक नीतिमा सहकारीहरुका बारेमा गरिएको व्यवस्थाहरुको चर्चा गर्नुको साथै साकोसको स्तरीकरण र स्थिरीकरण दुवै विषयलाई महत्वका साथ लिदै अगाडि बढ्नु पर्ने कुरामा जोड दिए । सहकारी संस्थाहरुलाई वित्तीय बाहेक अन्य क्षेत्रहरुबाट हुने जोखिमको सामना र व्यवस्थापन गर्नको लागि व्यवसाय निरन्तर योजनाको अभ्यास साकोसहरुले गरिसकेको हुँदा अब डिज्यास्टर रिस्क रिडक्कसन (डिआरआर) को पूर्वतयारी गरी अगाडि बढ्न सुझाव दिए ।
चन्द्रागिरि साकोसका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धरले सहकारी एकीकरण प्रकृयालाई थप जोड दिँदै अगाडि बढन् योजना रहेको बताए । संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले दहचोक क्षेत्रमा चन्द्रागिरि साकोसले गुणस्तरीय सहकारी वित्तीय सेवा प्रदान गर्ने अठोट गरेको हुँदा ढुक्कु भएर साकोसका सेवामा आवद्ध हुन अनुरोध गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले गत असार मसान्तसम्ममा संस्थाको कुल सदस्य संख्या १४,२२५ जना, शेयर पुँजी १६ करोड १४ लाख, बचत निक्षेप २ अर्ब २१ करोड, ऋण लगानी १ अर्ब ७५ करोड र कुल सम्पत्ति २ अर्ब ७३ करोडको रहेको जानकारी दिए ।
संस्थाले गत वर्षको तुलनामा सदस्यता तर्फ १८ प्रतिशत, सम्पत्ति तर्फ २९५ र सञ्चालन आयतर्फ ८० ले बृद्धि गरेको छ । संस्थाको लक्ष्य “३० अर्ब कुल सम्पत्ति र १ लाख सदस्य” राखिएको छ । सेवाकेन्द्र समुद्घाटनका दिन श्रावण ३० गते थप १ सय जना व्यक्तिहरुले सदस्यता लिनु भएको र ३२० जना सदस्यहरुले कारोवार गर्नुभएको कुरा सेवाकेन्द्र प्रमुख सुनिल बस्नेत जानकारी गराए ।
समुदायमा आधारित रहेर सहकारीका सिद्धान्त र मूल्यहरुलाई आफ्नाे स्थापनाकालदेखि नै आत्मसाथ गर्दै अगाडि बढिरहेको साकोसमा १४ प्रकारका बचत र १९ प्रकारका ऋण सेवाहरु उपलब्ध सदस्यलाइ प्रदान गर्दै आएकाे छ । सदस्यहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि विभिन्न सदस्य राहत सुविधाहरु संस्थाले प्रदान गर्दै आईरहेको छ जसमा स्वास्थ्य उपचार, काजक्रिया, सुरक्षित मातृत्व, घातक रोग उपचार, एम्बुलेन्स तथा शव बाहन आदि प्रमुख सुविधाको रुपमा रहेका छन् ।
संस्थाले आधुनिक प्रविधिको समुचित उपयोग गर्दै मोबाईल बैंकिङ्ग, एटिएम, कियोस्क बैंकिङ्ग र मोहोरपे जस्ता प्रविधिमा आधारित डिजिटल सेवाहरु प्रदान गर्दै आईरहेको छ भने सवारी साधनको ब्लुबुक नविकरण तथा कर भुक्तानी, कर्मचारी सञ्चयकोष ऋण सापटीको किस्ता भुक्तानी, बसभाडा छुट, स्वास्थ्य उपचार छुट जस्ता सेवा तथा सुविधाहरु समेत प्रदान गरिरहेको छ ।
संस्था राष्ट्रिय सहकारी महासंघ लि. बाट “उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०७६” बाट पुरस्कृत भइसकेकाे छ ।
