
इन्द्ननाराण सुबेदी
(भुजङ्गप्रयात)
==================================
बनोस् जिन्दगी स्वच्छ सौभाग्यशाली
बढून् कर्मका हात आलस्य फाली
सुसम्पन्नताको खुलोस् द्वार नौलो
मिलोस् योजना अग्रगामी सुनौलो।१।
बितेका सबै माझियून् दाग काला
नयाँ वर्षले दीप बालोस् उज्याला
दया प्रेम मैत्रेय सम्बन्ध जागोस्
कतै बार बन्देज लाग्दै नगोस्।२।
खुलून् भित्रका चेतनायुक्त आँखा
नयाँ शिल्प शैलीसँगै फेर्न भाका
बनी धीर गम्भीर कर्तव्यनिष्ठ
सबैले सकौँ गर्न चाँडै प्रविष्ट।३।
सिकेका कुरा छन् हिजोबाट राम्रा
तिनै भोलिका लक्ष्यमा पुग्न हाम्रा
हुनेछन् नयाँ योजना मार्गचित्र
छ साफल्य त्यो साधना योगभित्र।४।
नयाँ वर्ष आफैँ बनी एक मौका
स्वयं जिन्दगीको चलाएर नौका
चलेको छ हामी सबै तर्नुपर्छ
अविश्रान्त सङ्घर्ष झन् गर्नुपर्छ।५।
सकौँ बन्न आदर्श कल्याणकारी
नहोऔँ धरा धामको बोझ भारी
नयाँ वर्षको मार्ग नौलो समाऔँ
लिई प्रेरणा मृत्तिकामा रमाऔँ।६।
===================================
पुरानो पातोबाट
नेपालपत्र संवाददाता