बुधबार, भाद्र ३ गते २०८३

मेची सहकारीले शुरु गर्‍यो ८४ सम्मान कार्यक्रम

श्रावण २८, २०७८ बिहीबार
मेची सहकारीले शुरु गर्‍यो ८४ सम्मान कार्यक्रम

 

झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले ८४ कार्यक्रम शुरु गरेको छ । संस्थाले २५ औं वार्षिकोत्सव एवं २७ औं साधारणसभाको शुभारम्भको अवसर पारेर उक्त कार्यक्रम थालनी गरेको हो । 

यस कार्यक्रम अन्तर्गत ८४ वर्ष पुगेका सदस्यहरुलाई ३० हजार नगदसहित सम्मान गरिने भएको छ । दमक नगरपालिकाका प्रमुख रोेमनाथ ओलीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको सभापतित्वमा वार्षिकोत्सव एवं साधारणसभा शुभारम्भ कार्यक्रम भएको हो । 

संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले यस वर्ष ८४ वर्ष उमेर पुगेका १२ जना सदस्यलाई नगदसहित आगामी भाद्र १२ गते सम्मान गरिने जनाए । सो दिन संस्थाको साधारणसभाको समापन कार्यक्रम रहेको र कोभिडजन्य असहज परिस्थितिका कारण कार्यक्रम स्थगित हुन गएमा उपयुक्त समय पारेर सम्मान गरिने समेत उनले जानकारी दिए । 

त्यसैगरी संस्थाबाट ऋण लिएका र असार मसान्तसम्म कर्जाको ब्याज भुक्तानी गरेका सदस्यहरुले आगामी चैत्र मसान्तसम्म साँवाब्याज बुझाउन नसकेपनि हर्जाना लगायतका कुनै शुल्क नलिने निर्णय भएको उनले बताए । 

कोभिड १९ का कारण सदस्यहरुको व्यापार व्यवसायमा असर परेकाले सदस्यहरुलाई वित्तीय चाप नपरोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको उनको भनाई छ । 

संस्थाले आजबाट सहकारी विभागको साधारणसभा सम्बन्धी गत वर्षकै मार्गनिर्देशनलाई आधार मानेर ईकाईस्तरमा प्रतिवेदन वितरण कार्यक्रम शुरु गरेको छ । दुईसातासम्म सदस्यहरुलाई प्रतिवेदन अध्ययनका लागि दिने र प्राप्त सुझावलाई समेटेर भदौ १२ गते विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गर्ने संस्थाको योजना छ । संस्थाका अध्यक्ष भट्टराईले चालु आ.व.को नीति तथा कार्यक्रम र संस्थाका सीइओ खोमप्रसाद बगालेले संस्थाको वित्तीय अवस्था र कारोबारका बारेमा प्रकाश पारेका थिए । 

आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्म संस्थामा ९४८० जना शेयरसदस्य पुगेका छन् । त्यसैगरी ३१ करोड १४ लाख शेयरपुँजी, जगेडा तथा अन्य कोषहरुमा २० करोड माथि, बचत संकलन १ अर्ब ९३ करोड र ऋण लगानी २ अर्ब ५० करोड गरी कुल वासलात २ अर्ब ९६ करोड पुगेको छ । 

mechi sahakari 2.jpg