सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले आजभोलि भित्रै मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट पारेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले अहिले मन्त्री बन्ने आकांक्षीहरु धेरै भएको सुनाउँदै उनले काम गर्नको लागि धेरै मन्त्री नभएपनि हुने तर्क गरे ।
उनले जनताले दुई तिहाई जनमत दिएर सरकारमा पठाउँदापनि कम्युनिष्ट पार्टी सरकारबाट बाहिरिनुपरेको र कांग्रेस सरकारमा जानुपरेको सुनाए । उनले भने,‘जनताले त कम्युनिष्ट पार्टीलाई चरेशको थालामा ८४ व्यञ्जन त्यो पनि मिथिला परिकार दिएर सरकारमा पठाएका थिए । तर, अहिले कांग्रेसले सरकार चलाउनुपर्ने आयो । विज्ञ, प्रोफेसर, पत्रकार, बुद्धिजिवी कसैले पनि यति छोटो समयमा केपी शर्मा ओलीको सरकार जाला भनेर सोचेका थिएनन् । तर, गयो ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि यति चाँडै प्रधानमन्त्री हुन्छु भनेर नलागेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँलाई पनि यति चाँडो प्रधानमन्त्री हुन्छु भन्ने थिएन, अहिले सानो थालोको भागमा सरकार परेको छ ।’
उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुन सक्ने सम्भावना नरहेको टिप्पणी गरे । उनले भने,‘भदौमा महाधिवेशन होलाजस्तो मलाई लाग्दैन् । अहिले कोरोनाको महामारी छ । गाउँगाउँमा विरामी छन् । यस्तो अवस्थामा कसरी अधिवेशन होला ? सबै जनतालाई भ्याक्सिन लगाउने वातावरण बनाउनुपर्छ । मेरो विचारमा महाधिवेशन केही पर सर्छ होला । तर, महाधिवेशन सर्ने प्रस्ताव पार्टी सभापतिले ल्याउनुहोला । म आधिकारिक व्यक्ति होईन, यस्तो भन्नको लागि ।’
नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले अबको दुई÷तीनभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । उनले भने,‘सरकारले पूर्णता पाउँछ । आकांक्षी धेरै भएर सरकार विस्तारमा ढिलाई भएको होईन । मलाई लाग्छ अबको दुई÷तीनभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ सरकारको आयु डेढ वर्ष भएकोले यो अवधिमा जनताको मन जित्नेगरि राम्रो काम गरिने पनि उनले विश्वास दिलाए । उनले भने,‘हामी जनपक्षीय काम गर्छौं ।’ उनले समाजवादमा पुग्नको लागि धेरै मेहनत गरिने पनि बताए ।
नेता पौडेलले सत्तपक्षीय गठबन्धनको कार्यदलले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा धेरै राम्रो कुराहरु समेटिएको पनि जिकिर गरे । उनले भने,‘शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने कुरा गरिएको छ ।’ त्यस्तै, आम जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने कुरा पनि साझा कार्यक्रममा समावेश गरिएको उनको भनाई छ ।
नेता पौडेलले आवश्यक खोप आपूर्तिको लागि सम्बन्धित पक्षसँग सरकारले पहलकदमी गरिरहेको पनि विश्वास दिलाए । त्यस्तै, सीमा समस्या समाधानको लागि आवश्यक पहल गरिने कुरा पनि कार्यक्रममा उल्लेख गरिएको उनको भनाई छ । त्यस्तै, सुशासन कायम गरिने, आम जनसमूदायमा राज्य छ भन्ने अनूभुति दिनेगरि काम गरिने, भ्रष्टाचार नियन्त्रणको लागि उचित कदम चालिनेलगायत कुरा समेटिएको पनि पौडेलले जनाए ।
यसअघिको सरकारले गरेका असंवैधानिक नियुक्तीहरु खारेजी गर्ने र नयाँ नियुक्तीहरु गरिनेपनि उनले जनाए । त्यस्तै, विकास निर्माण र राष्ट्रिय गौरवको आयोजनालाई पनि अघि बढाउने कुरा साझा कार्यक्रममा समावेश गरिएको उनले चर्चा गरे ।
जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद् राजेन्द्र श्रेष्ठले अबको दुई÷चार दिनभित्रै सरकारले पूर्णता पाउने विश्वास दिलाए । यसको लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच कुराकानी पनि भैरहेको उनको भनाई छ ।
उनले भने,‘यो गठबन्धनको सरकार हो । त्यसो भएको हुनाले अहिले सरकारलाई पूर्णता दिनेबारे पनि कुराकानी भैरहेको छ । हामीले हिजो भर्खरै सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छौं । गठबन्धन भन्ने बित्तिकै सार्वभौम र समानताको आधारमा सरकार चल्ने कुरा हो । यसमा भावनात्मक एकताको कुरा पनि हुन्छ । मन्त्रालय बाँडफाँडको विषयमा छफल भैरहेको छ ।’
उनले वर्तमान सरकारसँग आगामी निर्वाचन पनि सम्पन्न गराउने दायित्व भएकोले उपयुक्त समयमा उपयुक्त निर्णय लिईने पनि बताए । उनले मन्त्री बन्नको लागि आकांक्षी धेरै हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने पनि बताए । उनले केपी ओली नेतृत्वको सरकारको प्रतिगमनविरुद्ध आफूहरुको एलायन्स बनेको सुनाए । आफूहरु यो संसदलाई पूर्ण कार्यकाल चलाउनुपर्ने पक्षमा उभिएको सुनाउँदै सोहीअनुसार अघि बढेको श्रेष्ठको भनाई छ ।
हिजोमात्रै ल्याईएको साझा न्यूनतम कार्यक्रममा मुख्य प्राथमिकता कोभिड नियन्त्रणको लागि दिइएको बताए । यसको लागि कोरोनाको भ्याक्सिन सबै जनतालाई उपलब्ध गराईने कुरा पनि कार्यक्रममा समावेश गरिएको उनले सुनाए । ‘असोज मसान्तभित्र एक तिहाई जनतालाई र आगामी चैत्र मसान्तसम्म खोप लगाउन योग्य सबैलाई भ्याक्सिन उपलब्ध गराउने कुरा हामीले कार्यक्रममा समावेश गरेका छौं ।’–उनले भने ।