शनिबार, आश्विन १७ गते २०८३

जयसिंह धामी घटनाको यथार्थ छानबिन गर्न चार पार्टीको ज्ञापनपत्र

श्रावण २३, २०७८ शनिबार
जयसिंह धामी घटनाको यथार्थ छानबिन गर्न चार पार्टीको ज्ञापनपत्र

 

भारतीय सीमा सुरक्षा बलले तुइन चुँडाइदिँदा नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएकोमा ४ कम्युनिष्ट घटकले चरम आक्रोश व्यक्त गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयक्त रुपमा उक्त घटनाका बारेमा सत्यतथ्य छानबिन गरी जनतासामु वास्तविकता सार्वजनिक गर्न, मानवताविरोधी यस्ता गतिविधिमा संलग्न दोषीउपर हदैसम्मको कारवाही गर्न, भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रभावकारी पहल गर्न, वेपत्ता धामी परिवालाई उचित राहत प्रदान गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

गत श्रावण १५ गते दार्चुला जिल्ला ब्यास गाउँपालिकाका ३३ वर्षीय युवा जयसिंह धामी गाउँबाट सदरमुकाम खलंगा जाने क्रममा तुइनबाट महाकारी नदी तर्दै गर्दा भारतको उत्तराखण्ड राज्यको पांगनमा रहको सीमा सुरक्षा बल(एसएसबी)ले तुइनको लठ्ठा खोलिदिँदा धामी नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सुरक्षाकर्मीको उक्त कार्य अमानवीय, मानवताविरोधी आततायी गतिविधि भएको चार पार्टीले जनाएका छन् ।

भारतीय सीमाक्षेत्रमा एसएसबीले श्रृंखलाबध्द रुपमा घटाउँदै आएका यस्ताखाले गतिविधिमा नेपाल सरकारले उपेक्षापूर्ण व्यवहार अपनाउने गरेका कारण घटनाहरु दोहरिरहने गरेको उनीहरुको आरोप छ । 

ज्ञापनपत्रमा सीमा क्षेत्रमा उचित यातायात प्रबन्ध मिलाउन, आर्थिक उत्पादनका साधनहरुको उचित प्रबन्ध, बजार र सुरक्षाको प्रत्याभूति दिन, नागरिकको स्वाभिमान र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी हुने अवस्था सिर्जना गर्न पनि सरकारसमक्षा माग गरिएको छ । 

dhami 1.jpg

 

dhami 2.jpg