राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिकोत्सवका अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलन–२०७८ सात बुंदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ । नेटवर्क फर द डेभलपमेन्ट अफ एग्रिकल्चर को—अपरेटिभ ईन एसिया एण्ड दि प्यासिफिक (नेडाक) संघको संयुक्त आयोजनामा साउन १९ र २० गतेसम्म सञ्चालित सम्मेलनबाट ७ बुदे प्रतिवद्धता जारी गरिएको हो । सम्मेलनबाट सहकारी संघसंस्थाहरुले लघुवित्त संचालन गर्दा सहकारीको दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुरूप सवै सदस्यहरुलाई सहभागि गराउने कुराको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरु र विकास साझेदारहरु विच समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तिको लागि स्थानीयस्तरमा क्षमता विकास, उद्यम व्यवसाय तथा मूल्य श्रृखला प्रवद्र्धनक, लगानी बृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी लघुबित्त मार्फत सदस्यहरुको सामाजिक विकास र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने प्रतिवद्धता जारी गरिएको छ ।
यस्तै अतिविपन्न परिवारलाई सहज रुपमा सिप, स्रोत, पूँजी उपलब्ध गराउँदै सहकारी मार्फत गरिबी न्यूनिकरण, उत्पादकत्व र रोजगारी सिर्जनामा अहम् भूमिका निर्वाह गर्ने, राष्ट्रिय सहकारी बैंकलाई लघुवित्त कारोवार गर्ने सहकारी संघ÷संस्थाको प्रवद्र्धक निकायको रुपमा स्थापित गर्ने, विपन्न वर्गमा कार्य गरेका स्थानिय सहकारीहरुको साझेदारीमा लघुवित्त, लघुउद्यम र बित्तीय समावेशीकरण गर्न राष्ट्रिय सहकारी बैंकद्वारा सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ ।
यसैगरी सहकारी लघुवित्तको मोडेललाई ब्यवस्थित, सुशासित, प्रविधियुक्त र मर्यादित वनाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने र लघुबित्त मार्फत राष्ट्रको गरिबी न्यूनिकरण अभियानमा ठोस भूमिका निर्वाह गर्न वित्तीय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गर्दै उद्यमशिलता, स्वःरोजगारी सिर्जना र बचत वृद्धि गरी विपन्नमूखि, सदस्यमूखि लैगिंक एवम् बित्तीय समावेशीकरणको अवधारणालाई बित्तीय सेवा प्रवाह मार्फत प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलन मार्फत गरिएको छ ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले गरिबी न्यूनिकरणमा सहकारी लघुवित्तः नेपाल सरकारको नीति तथा कार्यक्रम विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशव बडाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सुझाव प्रस्तुत गरेका थिए । बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी बैंकको भावी कार्यदिशा तथा गरिबी न्यूनिकरणमा सहकारी संस्था, संघ र बैंकको भूमिका विषयमा सहजीकरण गरेका थिए । दोस्रो दिनको कार्यक्रममा बैंकका सञ्चालक महेन्द्र गिरीले लघुवित्तमा सहकारीको भूमिका ः नेपालको यथार्थ, संभावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्रमाथि लघुवित्त क्षेत्रका विज्ञ डा. नरहरि ढकाल, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा बैंकका सल्लाहकार मिनराज कंडेलले टिप्पणी गरेकका थिए । यस्तै कार्यक्रम माइक्रो फाइनान्स थ्रो कोअपरेटिभ ग्लोबल एक्प्रियन्स विषयक कार्यपत्र एशियाली ऋण महासंघकाको प्रमुख कार्यकारी अधिकृत एलिनीता सान रोकले प्रस्तुत गरे । उक्त कार्यपत्रमाथि अप्राका कार्यकारी प्रमुख प्रशुन दास र ग्लोबल बोर्ड सदस्य, अन्तर्राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको बरिष्ठ उपाध्यक्ष ओम देवी मल्ले टिप्पणी गरेकी थिईन ।
कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको उपाध्यक्ष रमेश प्रसाद पोखरेल, बैंकको सल्लाहकारहरु केशब निरौला, धर्मदत्त देवकोटा, दीपक प्रसाद बास्कोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले धन्यबाद सहित समापन गरेका थिए ।