राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले सहकारी संस्थाहरुले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा एकरुपमा नहुँदा समस्या रहेको बताएका छन् । सहकारीले सञ्चालन गरेको लघुवित्त कार्यक्रमहरुबीच कसरी एकरुपता कायम गर्ने र भोलिका दिनमा विकृति आउन नदिने भन्ने उद्देश्यले बैंकको स्थापना दिवसका अवसरमा ‘सहकारीमा लघुवित्त’ सम्मेलन आयोजना गरिएको उनले जनाए ।
सहभागिहरुबाट आएका प्रश्न र सुझावलाई समेटेर एकमुष्ट रुपमा छलफल गरी समस्या समाधानका लागि सहकारी बैंकले पहल गर्ने समेत उनले जनाए ।
कार्यक्रममा बैंकका सिइओ बद्रीप्रसाद गुरागाईंले ग्रामीण क्षेत्रका सहकारीहरुलाई दरिलो बनाउन बैंकले आवश्यक परे कर्जा उपलब्ध गराउने, संस्थाहरुमा बचत बढि भए लिने, सदस्यको आय आर्जन बढाउने, बीमा जमानी, रेमिट्यान्स सेवा र वित्तीय पहुँच पु¥याउने काम गर्दै आएको बताए । बैंकले संस्थागत स्तर निर्धारण गर्ने कार्य अगाडि बढाएको र कमजोर संस्थाहरुको क्षमता अभिवृद्धिका लागि तालिम तथा अन्य गतिविधि सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।
बैंकले गरिबी न्यूनिकरणका लागि पनि काम गर्दै आएको उनले बताए । केहि स्थानीय तहसँग सम्झौता गरेर गरिबी निवारणका लागि सहकारीमार्फत् पुँजी परिचालन, उद्यमशीलता विकास र बजारिकरणको समेत सुनिश्चितता गरेको उनले जनाए । त्यसैगरी बैंकले २२५ संस्थामार्फत लघुवित्त कार्यक्रममा २ अर्ब ६१ करोड लगानी गरेको छ भने अन्य ९८ वटा संस्थामार्फत ४ अर्ब रुपैया गरिबी निवारणका लागि लगानी गरेको छ । ती कार्यक्रमबाट ६७ हजार भन्दा बढि मानिस लाभान्वित भएको उनले उल्लेख गरे । त्यसैगरी सहकारीप्रति युवाहरुको आकर्षण बढाउन युवा क्लब स्थापना गरी वित्तीय साक्षरता र सहकारिताका बारेमा कार्यक्रम सञ्चालन गर्दै आएको उनले जनाए । वित्तीय, प्रविधि, संस्थागत विकास एवं बहस पैरवीमार्फत संस्थाहरुलाई सबल बनाउन बैंक लागि परेको उनको भनाई छ ।
सरकारले स्थानीय स्तरमा श्रोतको सुनिश्चितता गरी उद्यमशीलता विकास गर्न र गरिबी निवारणका लागि सहकारी बैंकमार्फत अनुदान र सहुलियत दिए मुलुकको आर्थिक स्तरोन्नति गर्न सकिने जनाए । कार्यक्रममा पूर्व सचिव गोपीनाथ मैनालीले लघुवित्त सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । ७७ वटै जिल्लाबाट लघुवित्त कार्यक्रम सञ्चालन गरेका सहकारीकर्मीहरु डिजिटल माध्यमबाट सम्मेलनमा सहभागि रहेका थिए । दुई दिने सम्मेलन भोलिसम्म चल्नेछ ।