बुधबार, भाद्र ३ गते २०८३

चन्द्रागिरि साकोसले कियोस्क बैंकिङ सुरु गर्ने, बचत गर्न संस्थासम्म पुग्न नपर्ने

श्रावण १८, २०७८ सोमबार
चन्द्रागिरि साकोसले कियोस्क बैंकिङ सुरु गर्ने, बचत गर्न संस्थासम्म पुग्न नपर्ने

 

चन्द्रागिरि साकोसका सदस्यहरुले अब बचत गर्नको लागि संस्थाको काउन्टर सम्म गईरहनु नपर्ने भएको छ । आफ्नो खाताको रकम झिक्नको लागि एटिएम तथा मोबाईल बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको  यस संस्थाले  रकम जम्मा गर्न कियोस्क बैकिङ सेवा सुरु गर्न लागेको हो । 

सहकारी संस्थामा साना साना रकम जम्मा गर्नको लागि पनि सदस्यहरुले काउन्टरमा आउनु पर्ने र कार्यालय समयमा मात्र सुविधा प्राप्त हुने स्थितिमा जुनसुकै समयमा कियोस्क टर्मिनलमा गएर आफ्नो रकम जम्मा गर्न सक्नेछन् । कियोस्क टर्मिनल कर्मचारीरहित सेवा हो । संस्थाले स्थापना गरेको कियोस्क टर्मिनल लगायत देशभरी रहेका प्रभु टेक्नोलोजीले सञ्चालनमा ल्याएका कियोस्क मेशिनहरुबाट चन्द्रागिरि साकोसका सदस्यहरुले आफ्नो खातामा बचत जम्मा गर्न र ऋण भुक्तानी गर्न सक्नेछन् । उक्त सेवाका लागि आइतबार प्रभु टेक्नोलोजी र चन्द्रागिरि साकोसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त सेवामा प्रभु टेक्नोलोजीको साथै एम बैंक टेक्नोलोजीज् प्रमुख प्रविधि साझेदारको रुपमा रहनेछन् । सदस्यहरुले कियोस्क मेशिनमा गई स्क्रिनमा आफ्नो खाता नं टाइप गरिसकेपछि आफुले चाहेको रकम उक्त मेशिनमा छिराएपछि मेशिनले सदस्यलाई नगद जम्मा भएको भौचर प्रदान गर्नेछ । उक्त मेशिनमा नेपाली नोटहरु पहिचान गर्ने प्रविधि जडान गरिने भएकोले सहज तरिकाबाट रकम जम्मा गर्न सकिने अवस्था सृजना हुनेछ । सदस्यहरुले आफुलाई फुर्सद भएको समयलाई सदुपयोग गर्दै आफ्नो खातामा रकम जम्मा गर्न, युटिलिटी विल्सहरु भुक्तानी गर्न, टपअप गर्न र करदाताहरुले आन्तरिक राजस्व कार्यालयमा कर भुक्तानी गर्न सजिलै सक्नेछन् । यसले काउन्टरमा लाईन बस्नु पर्ने झन्झटबाट मुक्ति दिनेछ भने कोरोना महामारीबाट सुरक्षित हुन र आफुलाई पायक पर्ने समयमा कारोवार गर्न पनि मद्दत गर्नेछ । प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीका अनुसार यो सेवा सहकारी क्षेत्रमा नेपालमै पहिलो पल्ट चन्द्रागिरि साकोसबाट प्रयोगमा ल्याउन लागिएको हो ।