शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१ प्रतिशतको वृद्धि, १अर्ब माथिको नाफा

श्रावण ८, २०७८ शुक्रबार
राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१ प्रतिशतको वृद्धि, १अर्ब माथिको नाफा


राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले आज गत आ.ब.को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो । यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदर सहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदर सहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ ।

बैंकले कर पश्चातको खुद नाफामा ४८ प्रतिशतको वृद्धिदर हासील गर्दै १ अर्ब ६६ लाख कमाएको छ । यस संगै बैंक एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तिय संस्थाहरुको क्लबमा समेत समावेश भएको छ । बैंकले यस आ.व. मा मात्र रु १ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ र यो गत आर्थिक वर्षको भन्दा ५८℅ ले बढी रहेको छ ।

पछिल्ला वर्षहरुमा बैंकको शाखा बिस्तार, व्यवसाय तथा वित्तिय आकारमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो तिन वर्षको वित्तिय विवरण विश्लेषण गर्दा बैंकको वासलातमा २२७ प्रतिशत, शेयर पूँजीमा १७६ प्रतिशत, कर्जा लगानीमा १९० प्रतिशत, निक्षेप संकलनमा २३२ प्रतिशत र नाफामा २१० प्रतिशतको वृद्धिदर देखिएको छ । सहकारी क्षेत्रमा सबैभन्दा ठुलो वित्तीय परिचालन गर्ने बैंकको वित्तिय अवस्था क वर्गका केहि वाणिज्य बैंकहरु भन्दा समेत ठुलो र सुदृढ देखिएको छ ।

बैंकमा हाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु रहेका छन । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ । सहकारी संघसंस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिंग कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले पनि आफ्ना सदस्य सहकारी संघसंस्थाहरुलाई दिने सेवामा सधै अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिएकोले सोको सकरात्मक प्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष केबी उप्रेतीले बताए ।

बैँकको वर्तमान सञ्चालक समितिको कार्यकाल भित्र नै एक खर्बको वित्तीय अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको र सहकारी क्षेत्रमा प्रविधिमैत्री सेवा उपलब्ध गराउने गरी बैँक अघि बढेको समेत उप्रेतीले जानकारी दिए।

बैंकले पछिल्लो तिन वर्ष लगातार १५ प्रतिशतले लाभाशं वितरण गर्दै शेयर सदस्यहरुको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको जनाउदैे बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघसंस्थाहरुलाई सहकारी ऐनको व्यवस्था अनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघसंस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकम समेत वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले जानकारी दिए ।

  

 

national cooperative bank.jpg