बुधबार, भाद्र ३ गते २०८३

युनाइटेड मेवाखोला जलविद्युतमा सात बैंकले सात अर्ब लगानी गर्ने

श्रावण ८, २०७८ शुक्रबार
युनाइटेड मेवाखोला जलविद्युतमा सात बैंकले सात अर्ब लगानी गर्ने

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको थुकीमा निर्माण हुने ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला जलविद्युत आयोजनामा बैंकहरुले ऋण लगानी गर्ने भएका छन । उत  आयोजनामा सिटिजन्स बैंक सहित कुमारी बैंक, मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैँकले सात अर्ब रुपैयाँ ऋण लगानीका लागि वित्तीय सम्झौता गरेका छन्। आयोजनाको अनुमानित लागत नौ अर्ब रुपैयाँ रहेको छ। आयोजना ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीमा निर्माण हुने छ। 
योजनामा सिटिजन्स बैंकले एक अर्ब ४५ करोड,  कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल इन्फ्रास्ट्रचर बैंकले १/१ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्। त्यस्तै नेपाल एसबिआई बैंकले ८० करोड र सिभिल बैंकले ५० करोड रुपैयाँ लगानी गर्ने छन्।
 अध्ययन चरणका सबै काम सकेको आयोजना आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको छ। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर प्रसारणलाइन अन्तर्गको ढुङ्गेसाँघु सबस्टेशनमा जोडिने छ। आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट आवर र वर्खामा २०५.५८७ गिगावाट आवर गरी बार्षिक ३०३.०११ गिगावाट आवर ऊर्जा उत्पादन हुने छ। आयोजनाले वार्षिक एक अर्ब ८० करोड रुपैयाँको विद्युत बिक्री गर्ने लक्ष्य राखेको छ।