शनिबार, आश्विन १७ गते २०८३

सरकारले निजी क्षेत्रका लागि आवश्यक नितिगत सहजीकरण गर्छः देउवा

श्रावण ५, २०७८ मंगलबार
सरकारले निजी क्षेत्रका लागि आवश्यक नितिगत सहजीकरण गर्छः देउवा


 प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताएका छन् ।  नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए। हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैं प्रवर्द्धन गरेको छ, प्रधानमन्त्री देउवाले भर्ने,‘तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौँ’।

प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको मेक इन नेपाल – स्वदेशी अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने जनाए। नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको संकटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि र कोभिडले निम्त्याएको जटिलता नै सबैभन्दा ठूलो चुनौति रहेको उनको भनाई छ । भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए।  नीतिगत सहजीकरण मार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन उनको आग्रह छ ।

आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पाखनमुखी बनाउन हामी प्रयासरत छौँ, उनले भर्ने, ‘यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ’। अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे। परिसंघका निवर्तमान् अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताए। यसैगरी परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान संकटसँग जुध्न कोभिड विरुद्धको भ्याक्सिन आवश्यक भएको भन्दै त्यसको उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे।