प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।
सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको पहिलो बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ ।
विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यो सबै मत आउँदा पनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । माधव नेपाल पक्षधर एमालेका २३ सांसदले मत दिएमा भने देउवालाई १५१ मत प्राप्त हुनेछ ।
संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको सर्वोच्चले धारा ७६(५) अनुसारको प्रधानमन्त्रीका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा ह्वीप नलाग्ने र दल त्याग ऐनअनुसार कारबाही गर्न नमिल्ने फैसला गसिसकेको छ ।
नेकपा एमाले र जनता समाजवादी पार्टी भित्र विवाद चलिरहेकाले विश्वासको मत लिन हतार नगर्ने कांग्रेस रणनीति एकाएक परिवर्तन हुनु र संसद बस्ने पहिलो दिनमै विश्वासको मत लिन प्रस्ताव दर्ता गरिनुलाई सरोकारवाला पक्षले चासोपूर्ण रुपमा हेरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे स्थायी समिति बैठक डाकेर आफ्ना सांसदलाई देउवालाई विश्वासको मत नदिन निर्देशन गरेपछि गठबन्धनले फरक रणानीति अवलम्बन गरेको हो ।