नेपाल हस्तकला महासंघले नेपाली हस्तकला क्षेत्रका सिद्धहस्त कलकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्यको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । सानै उमेर देखि कला क्षेत्रमा संलग्न वरिष्ठ एवं मूर्धन्य कलाकार स्व.शाक्यले परम्परागत हस्तकला विधालाई संरक्षण,सम्बद्र्धन तथा प्रबद्र्ध्रन गर्नु पर्छ भन्ने मान्यता अनुरुप आफुमा भएको सीप यूवा पुस्तामा हस्तान्तरण गरी यूवाहरुलाई सीप र परम्परागत प्रविधि हस्तान्तरण गरी स्वरोजगार तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व.शाक्यले कलाकारबाट आफ्नो अनुपम र अद्धितीय कलाकृतिले नेपाल र नेपालीको नाम अन्तर्राष्ट्रिय जगतमा चिनारी गराउनुका साथै नेपाली कला र संस्कृतिको पहिचानमा पनि अत्यन्तै ठूलो भूमिका खेलेको महासंघले जनाएको छ ।
धातुपत्रकलामा निपुण शाक्यले विश्वका विभिन्न मुलुकमा उच्च सीपयुक्त बुद्ध मूर्तिहरु निर्माण गरेर ख्याति प्राप्त गरेका थिए । उनले भुटानको ताकिल्ला हिलमा बनाएको १५५ फिट अग्लो पद्यमसंभवको मूर्तिले विश्वकै ध्यान खिचेको थियो । साथै उनलाई नेपाल हस्तकला महासंघले ७० सालमा उत्कृष्ट कलाकारको रुपमा र नेपाली हस्तकला क्षेत्र विशेष गरी परम्परागत हस्तकला विधामा राष्ट्रिकय तथा अन्र्तराष्ट्रिकय क्षेत्रमा ख्याति प्राप्त प्रवल गोरखा दक्षिणबाहु, राष्टिकय प्रतिभा पुरस्कार लगायत विभिन्न पदकहरुबाट सम्मानित गरिएको थियो ।
शाक्यको असामयिक स्वर्गारोहणले नेपालको परम्परागत हस्तकला विधाको साथै समग्र हस्तकला क्षेत्रमानैं अपूरणीय क्षति पुग्न गएको छ भने देशले नै कला क्षेत्रका अथक साधक एवं उज्ज्वल नक्षत्र गुमाउन पुगेको महासंघले जनाएको छ । शाक्यले हस्तकला क्षेत्रमा पु¥याएको योगदानको कदर तथा सम्मान गर्दै स्मृतिमा हस्तकला महासंघद्धारा सिमित संख्यामा भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट श्रद्धाञ्जली सभा आयोजना गरेको छ । सो कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले श्रद्धाञ्जली सभामा मन्तब्य व्यक्त गरेका थिए भने महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषदका सभापति राजमान बज्राचार्यले कार्यक्रम सम्वन्धमा जानकारी दिए । स्व. शाक्यप्रति विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।