प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने बताएका छन । वीर अस्पतालको नवनिर्मित सल्यचिकित्सा भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले हिजो मात्र खोपको थप मात्रा प्राप्त भएको, भोलीसमेत आउने र अब निरन्तर ल्याउनका लागि सरकार लागि परेको बताए । ‘कोभिड विरुद्धको खोप गति साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरुसँग सहमति र संवाद गरिरहेछौं यसरी लगभग सन् २०२१ भित्र मोटमोटी सबै जनसंख्यालाई हामी खोप लगाइसक्छौं’, उनले भर्ने । यस अवधिमा सामाजिक दुरी कायम राख्ने, मास्कलगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भने संसारभरबाट कोभिड १९ समाप्त नभएसम्म जारी राख्नुपर्ने छ ।
सरकारले निरोगी नेपालको मुख्य अवधारणा लिनुका साथै रोग लागि हालेमा प्रभावकारी र सफल चिकित्सा पद्धतिमार्फत उपचार सेवा जनतासमक्ष लैजाने बताए । यस्तो उपचार जनताको जनताको क्रय शक्ति भित्रकै रहोस् र खर्चिलो उपचार सेवासमेत बिमाले समेटदै जाने बनोस् भन्ने पक्षमा सरकार रहेको पनि उनले जानकारी दिए । नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताउँदै ओलीले दुवाकोटमा समेत वीर अस्पतालको विस्तारले पनि थप उर्जा दिने बताए । नेपालमा जति सस्तो उपचार सेवा अन्यत्र नभएको समेत प्रधानमन्त्रीले उल्लेख गरे ।
अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी विरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेत हुनेपर्ने बताउँदै प्रधानमन्त्रीले विरामीको आधा रोग मनोबल कसरी बढाउँदा नै निको पार्न सकिने कुुरालाई चरितार्थ गरिनुपर्ने बताए । अस्पताललाई अबिलम्ब पूर्ण क्षमतामा लैजाने र त्यसक्रममा नचाहिएको सामान किनेर निस्कृय बनाउने काम गर्नुनहुने भनाई प्रधानमन्त्रीको थियो ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ साल फागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समय भन्दा अगाडी नै निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताए । सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप ५०० शैया थपिएको बताउँदै अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैर कोभिडको उपचार गर्न सहज भएको जनाए ।