प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कुलपति केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधनस्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम रहेको बताएका छन् ।
नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले हरेक नागरिकलाई आआफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बताएका हुन् ।
समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न अभाव र विभेद रहित, शान्त सभ्य र मानवीयता युक्त समाज आवश्यक भएको बताउँदै ओलीले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिककालमा रहेको समतामुलक समाज जरुरी भएको धारणा राखे ।
देशमा शिक्षा आर्जन गर्ने अधिकार ७० वर्षअघि मात्रै प्राप्त भए पनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको भनाई पनि प्रधानमन्त्रीको थियो । यसै क्रममा देशले २०४० सालदेखि प्राविधिक शिक्षाको सुरुवात, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा नेपाली वैज्ञानिकले खोज अनुसन्धान सुरु गर्न थालेको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाईमा प्रवर्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको हो ।
यसै गरी हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेबापत उत्तमबाबु श्रेष्ठ लाई विज्ञान प्रविधि पुरस्कार तथा कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन उपत्यकाको भूमिगत जल संचयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा डा. आनन्द मिश्रलाई धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत, डा अनुपमान श्रेष्ठलाई बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरेबापत र डा सागर रेग्मीलाई क्यान्सर र व्यायामको अन्तरसम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी महिला विज्ञान पुरस्कार डेंगुरोगकाृ फैलनमा तापक्रमको भुूमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो । विद्यालयमा विज्ञान शिक्षाको प्रवर्धन गरेबापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
यसै गरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्द प्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।