बुधबार, भाद्र ३ गते २०८३

लागेकै छन् सिर्जनामा किसान

आषाढ २०, २०७८ आइतबार
लागेकै छन् सिर्जनामा किसान
_Indranarayan-Subedi_.jpg
-इन्द्रनारायण सुबेदी
(छन्द:- शालिनी)
------------------------------------------
 
धर्ती -माताभित्र पीयूष देख्छन्
त्यो माटोमा हातले भाग्य लेख्छन्
सम्झी आफ्नो कर्मको दिव्य सान
लागेकै छन् सिर्जनामा किसान।१।
 
आस्था निष्ठा बन्दछन् खेत बारी
पानी माटो चाहिने ठिक्क पारी
खोज्दै आफ्नो लक्ष्य पुग्ने निसान
लागेकै छन् सिर्जनामा किसान। २।
 
जाडो गर्मी शीत वा घाम पानी
खेपी कैँयौँ विघ्न सामान्य ठानी
जागा बन्दै रच्न नौलो बिहान
लागेकै छन् सिर्जनामा किसान।३।
 
माटो मोती बन्छ सत्कर्मबाट
गाई भैँसी बाँधिए फाँट फाँट
खोज्दै चोखो स्वेदमा स्वाभिमान
लागेकै छन् सिर्जनामा किसान।४।
-----------------------------------------
 
शीर्षक सापटी:-प्रतिभा निकुञ्ज