बुधबार, भाद्र ३ गते २०८३

आज ९९औं अन्तर्राष्ट्रिय सहकारी दिवस, सबै मिलेर कोभिडपश्चातको पुनर्निर्माणमा लाग्न आव्हान

आषाढ १९, २०७८ शनिबार
आज ९९औं अन्तर्राष्ट्रिय सहकारी दिवस, सबै मिलेर कोभिडपश्चातको पुनर्निर्माणमा लाग्न आव्हान


आज ९९औं अन्तर्राष्ट्रिय सहकारी दिवस । यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा ‘रिबिल्ड बेटर टुगेदर’ तय गरिएको छ ।  विश्वव्यापी रुपमा कोभिड–१९ का कारण सहकारीका सदस्यहरुको पेशाव्यवसायमा परेको समस्याग्रस्त अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सहकारी महासंघ(आइसीए)ले ‘सँगै मिलेर अझ राम्रो पुनर्निर्माण गरौं’ भन्ने थिम तय गरेको हो । कोभिड पछि विश्वमा सहकारीका सदस्यहरुबीच झन् बढी ऐक्यवद्धता र एकताको आवश्यकतालाई यसले इंगित गर्न खोजेको छ । समुदायका सदस्यहरुको सामाजिक र वातावरणीय पुनरोत्थानलाई पनि सहकारीले प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । सहकारी जगत्को मुल ध्येय एकापसबीचको सहकार्य नै हो ।

“गत बर्ष, हामीले देख्यौं कि सहकारी मोडलले कसरी मानिसहरूको कल्याण र यस ग्रहको सम्मानका लागि काम गरिरहेको छ, सहकारी आन्दोलन के हो भन्ने रेखांकित गरेको छ । हामी वास्तवमै सँगसँगै मिलेर राम्रोसँग पुनर्निर्माण गर्नेछौं, र म विश्वस्त छु कि हामी कसरी सहकारी आन्दोलनले समुदायलाई कोभिड महामारी पश्चात् संसारमा अझ मजबूत हुन मद्दत पु¥याउँछ भनेर धेरै कथाहरू हेर्नेछौं ।” आइसिएका प्रबन्ध निर्देशक ब्रुनो रोल्यान्ट्सले भनेका छन् ।

स्वास्थ्य, कृषि, उत्पादन, खुद्राव्यापार, वित्त, हाउजिङ, रोजगारी, शिक्षा, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा गरी झण्डै १ अर्ब माथि सदस्य सहकारीमा आवद्ध रहेका छन् । उनीहरुले आफ्नै बलबुतामा कोभिड–१९ को प्रभावसँग जुझिरहेका छन् । अन्तर्राष्ट्रिय सहकारी दिवसले स्वनिर्भर र सहकार्यजस्ता सहकारी मुल्यमान्यतामा आधारित रहेको यो मानव केन्द्रित व्यवसायले समाजमा विद्यमान विषमता घटाउन, साझा समृद्धि प्राप्त गर्न र कोभिड १९ का असरहरुसँग जुध्न सफल हुनेछ भन्ने अवलोकन गर्नेछ ।

संयुक्त राष्ट्र संघद्वारा घोषित दिगो विकास लक्ष्यका ३० बुँदामध्ये १२ औं बुँदाले जिम्मेवारीपूर्ण उत्पादन र उपभोगलाई आत्मसात गरेको छ । सहकारी संस्थाहरुले उत्पादनकर्ता र उपभोक्ताबीचको अन्तरसम्बन्धलाई सहज बनाउने हो । उत्पादक सहकारीहरुले जिम्मेवारीपूर्ण रुपमा उपभोग चक्रमार्फत सन्तुलन कायम गरी संयुक्त राष्ट्र संघले लिएको सन् २०३० को दिगो विकास लक्ष्यलाई परिपूर्ति गर्न सहयोग पुग्ने विश्वास सहित दिवस मनाईंदै छ ।

अर्कोतर्फ सहकारीहरुले समुदायका तल्लो तप्कालाई माथि उठाउने कार्य गर्दछन् । समाजमा पिछडिएको समुहलाई आर्थिक र सामाजिकरुपमा समान र यथासक्य सुविधा प्रदान गर्ने कार्यमा सहकारीले भूमिका खेल्ने अपेक्षा आइसीएले राखेको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ ३ जुलाई १८८५ मा गठन भएको थियो र सन् १९२३ देखि जुलाई महिनाको पहिलो शनिवारलाई दिवसको रुपमा मनाउँदै आएको छ । सन् १९९४ मा संयुक्त राष्ट्रसंघको महासभाले नै प्रस्ताव पारित गरेर सन् १९९५ देखि जुलाईको पहिलो शनिवार मनाउँदै आएको सोही दिवसलाई मान्यता दिएको थियो । संयुक्त राष्ट्र संघको सहकारी प्रवद्र्धन र विकास समिति यस दिनलाई विश्वव्यापी कार्यक्रमको मान्यता दिएको छ । हरेक वर्ष सहकारीमार्फत् पूरा गर्न सकिने विभिन्न विषयवस्तुलाई थिमको रुपमा उठान गरेर दिवस मनाउने गरिन्छ ।

स्थानीय, राष्ट्रिय र विश्वभरका नीतिनिर्माता, नागरिक समाज संस्था तथा जनसामान्यले यस दिन सबैका लागि न्यायपूर्ण भविष्य निर्माणमा सहकारीको योगदानको बारेमा जान्न पाउने अवसरका रुपमा भएको विश्वास आइसीएको छ ।