बिहीबार , कार्तिक २० गते २०८३

एआईजी डा. मनोज केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी, हटाइए दानबहादुर कार्की


कार्तिक १९, २०८३ बुधबार
एआईजी डा. मनोज केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी, हटाइए दानबहादुर कार्की

काठमाडाैं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्व सुम्पिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् स्रोतका अनुसार कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। केसी हाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागका प्रमुखका रूपमा कार्यरत छन्।

प्रहरी नेतृत्व परिवर्तनको चर्चा केही समयदेखि चलिरहेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई हटाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै हलचल भएको थियो। त्यसक्रममा कार्कीले प्रहरी प्रधान कार्यालयमा उच्च प्रहरी अधिकृतहरूको आकस्मिक बैठक बोलाएका थिए। बैठकमा संगठनको आन्तरिक अवस्था, प्रहरीको व्यावसायिकता र नेतृत्वमाथि उठेका प्रश्नबारे छलफल भएको थियो।

कार्कीलाई हटाउने चर्चाकै बीच प्रहरीले त्यस्ता समाचारलाई अनर्गल प्रचारको संज्ञा दिएको थियो। प्रहरी उच्च अधिकृतहरूको बैठकले संगठनलाई विवादमा तान्ने गतिविधिमाथि अनुसन्धान र कानुनी कारबाही अघि बढाउने चेतावनीसमेत दिएको थियो।

को हुन् नयाँ आईजीपी केसी?

केसी प्रहरी सेवामा अनुसन्धानमुखी अधिकृतका रूपमा परिचित छन्। उनले प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका केसी २०८२ वैशाखमा एआईजीमा बढुवा भएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए। लामो समयदेखि अलपत्र रहेको उक्त प्रकरणको जाहेरीमाथि अनुसन्धान अघि बढाउँदै तीन जना आरोपीलाई पक्राउ गरेपछि उनी चर्चामा आएका थिए। त्यसपछि उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्वसमेत सम्हालेका थिए।

उल्लेखनीय छ, २०८२ कात्तिकमा चन्द्रकुवेर खापुङ अवकाशमा गएपछि नयाँ आईजीपी बन्ने प्रतिस्पर्धामा दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह थिए। त्यतिबेला कार्कीले बाजी मारेका थिए। एक वर्ष नपुग्दै उनै कार्कीलाई हटाएर प्रतिस्पर्धीमध्येका केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने सरकारको निर्णयले प्रहरी नेतृत्वमा अप्रत्याशित फेरबदल ल्याएको छ।