फ्रान्स, इटाली, बेल्जियमदेखि अल्बानियासम्मका युरोपेली मुलुकहरूमा अचेल एउटा नयाँ तरङ्ग फैलिएको छ – ‘जेन जी’ अर्थात् नयाँ पुस्ताको आन्दोलन! महँगीको मार, जीर्ण बनेका विद्यालय, रोजगारीको अभाव र जताततै व्याप्त भ्रष्टाचारविरुद्ध युवाहरूको आक्रोश सडकमा पोखिइरहेको छ।
सर्बियामा त यही विद्यार्थी आन्दोलनले वर्षौँदेखि सत्तामा टिकेका शक्तिशाली नेतालाई नै चुनावमार्फत ढाल्न सफल भयो। यता, आउँदो साता जर्मनीमा पनि यस्तै विशाल प्रदर्शनको तयारी भइरहेको छ।
"हामी जल्यौँ भने, तिमीहरू पनि हामीसँगै जल्नेछौ"
ब्रसेल्सकी १९ वर्षीया विद्यार्थी माया गुर्डेल आफ्नो टेबलमा बसेर देशका शासकहरूलाई लक्षित गर्दै आक्रामक नारा लेख्दै छिन्— "यदि हामी जल्यौँ भने, तिमीहरू पनि हामीसँगै जल्दछौँ!"
सन् २०१२ को चर्चित चलचित्र 'द हङ्गर गेम्स' को यो संवाद अचेल विश्वभरका युवा आन्दोलनको नयाँ प्रतीक बनेको छ। मायाको यो नारामा युरोपभरका ‘जेन जी’ युवाहरूको निराशा, आक्रोश र व्यवस्था बदल्ने अद्भूत हुटहुटी छर्लङ्ग झल्किन्छ।
पेरिसका गल्लीहरूदेखि बेलग्रेडका फराकिला चोकहरूसम्म हजारौँ युवाहरू सडकमा ओर्लिएका छन्। उनीहरूका मागहरू विभिन्न भए पनि भावना एउटै छ— जीर्ण बन्दै गएका विद्यालय, घट्दो आर्थिक अवसर, जीवनयापनको बढ्दो खर्च, भ्रष्टाचार, आवासको समस्या र राज्यले आफूहरूलाई सधैँ बेवास्ता गरेको अनुभूति।
कतिपय ठाउँमा यी प्रदर्शनहरू हिंसात्मक पनि बनेका छन्। फ्रान्समा मात्रै पछिल्ला हप्ताहरूमा हजारौँ पसलहरूमा तोडफोड र लुटपाट भयो भने प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रयोग गर्नुपर्यो।
सडकको राँकोबाट सत्ता परिवर्तनसम्म
तर यो आन्दोलन केवल विरोधमा मात्र सीमित रहेन, यसले ठूलो परिवर्तन पनि ल्यायो। सर्बियामा करिब दुई वर्षदेखि भ्रष्टाचार र निरङ्कुशताविरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनले अन्ततः लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचलाई चुनावमा पराजित गरिछाड्यो।
आन्दोलनकारी विद्यार्थी स्टासा पिलेटिच भन्छिन्, "बिहान उठ्दा हामीले सबैभन्दा पहिले राहत र स्वतन्त्रताको सास फेर्यौँ। व्यक्तिगत रूपमा त मलाई जितको ठूलो अनुभूति भइरहेको छ। मलाई लाग्छ— हामी अब प्रदर्शनबाट अघि बढेर वास्तविक जिम्मेवारीको मोडमा आइपुगेका छौँ।"
‘आक्रोशको यो विस्फोट आवश्यक थियो’
आन्दोलनको रापले तातिएको मिलान (इटाली) की २१ वर्षीया विद्यार्थी किआराको ठम्याइ बेग्लै छ। उनी भन्छिन्— "वर्षौँदेखि मनमा जमेर बसेको आक्रोश एक्कासि विस्फोट भएर यो स्वतःस्फूर्त आन्दोलन जन्मिएको हो। सामूहिक परिवर्तनका लागि यसमा सहभागी हुनु एकदमै जरुरी थियो।"
राजनीतिज्ञहरूप्रति आफ्नो तिखो व्यङ्ग्य पोख्दै उनी थप्छिन्: "यो शासक वर्गले मेरो पुस्तामाथि गरेको सबैभन्दा ठूलो अत्याचार भनेको— हामीबाट भविष्यको कल्पना गर्ने र सपना देख्ने क्षमता नै खोसिदिनु हो।"
किआराका अनुसार इटालीका विद्यार्थीहरू आज शिक्षकको अभाव र भत्किन लागेका विद्यालयका भवनहरूबीच पढ्न बाध्य छन्। उनी भन्छिन्, "यो सबै भोगे पछि पनि हाम्रो अगाडि कस्तो भविष्य छ? योग्यताभन्दा कम तलबको जागिर, र आफ्नै सहर छाडेर अर्कै ठाउँमा गएर बस्नुपर्ने अत्यधिक महँगो र सानो कोठाको बाध्यता!"
विश्वव्यापी रूप लिँदै ‘जेन जी’ आन्दोलन
सन् १९९७ देखि २०१२ को बीचमा जन्मेको यो पुस्ताले संसारभरि नै आफ्नो राजनीतिक प्रभुत्व देखाउन थालेको छ। सन् २०२४ मा बङ्गलादेश, २०२५ मा नेपाल र यसै वर्ष भारतमा देखिएको युवा उभारपछि अब युरोप यसको प्रमुख केन्द्र बनेको छ।
सन् २०२५ मा युरोपेली सङ्घले गरेको एक सर्वेक्षण अनुसार १६ देखि ३० वर्षका ४० प्रतिशत युवाहरूका लागि बजार भाउ र महँगी सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ।
उक्त तथ्याङ्क अनुसार सन् २०२५ मा युरोपेली सङ्घका ९ करोड २७ लाख मानिसहरू गरिबी र सामाजिक बहिष्कारको जोखिममा थिए। तीमध्ये १८ देखि २४ वर्षका युवाहरू सबैभन्दा बढी (२६.३%) जोखिममा भेटिए भने ६५ वर्षभन्दा माथिका वयस्कहरू सबैभन्दा कम (१८.८%) जोखिममा थिए।
त्यस्तै, युवा पुस्ता पुराना पुस्ताको आर्थिक बोझ बोक्न पनि तयार देखिँदैनन्, जसले राजनीतिमा ठूलो सङ्ख्यामा मतदान गर्ने गर्छन्। ओएफसीइ थिंक ट्यांकका अनुसार फ्रान्समा ६० वर्षभन्दा माथिका मानिसहरूको जनसङ्ख्या २५ प्रतिशत मात्र छ, तर देशको ६० प्रतिशत सम्पत्ति उनीहरूकै हातमा छ।
पेन्सन खर्च फ्रान्सको सबैभन्दा ठूलो सरकारी खर्च बनिसकेको छ (कुल गार्हस्थ्य उत्पादनको १४%)। उमेर ढल्किँदै गएका मतदाताहरू पेन्सनको उमेर बढाउन वा सुविधा घटाउन मान्दैनन्। यद्यपि, ग्रिस वा इटालीको तुलनामा (जसले कुल राष्ट्रिय आयको १६% पेन्सनमा खर्च गर्छन्) यो थोरै हो, तर अस्ट्रेलिया, चिली, आइसल्यान्ड, आयरल्यान्ड वा दक्षिण कोरिया जस्ता देशहरूको तुलनामा (जसले ४% भन्दा कम खर्च गर्छन्) यो निकै धेरै हो।
‘युरोपका युवाहरू एकजुट छन्’
पेरिसको उत्तरी उपकण्ठका १७ वर्षीय हाइस्कुल विद्यार्थी बिलाल नार्जिसी आफ्नो विद्यालयको विजोग अवस्था र शिक्षक अभावविरुद्ध आन्दोलनमा छन्। "पहिला त यहाँ मुसाहरू कुद्थे," बिलाल भन्छन्, "गत वर्ष छानाको भाग आँगनमा खसेपछि विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो, भाग्यवश कसैलाई चोट लागेन।"
यी प्रदर्शनहरूले "युरोपका युवाहरू एकजुट छन्" भन्ने सन्देश दिएको उनको भनाइ छ। उनी थप्छन्, "हामी सबै एउटा कुरामा सहमत छौँ— युवाहरूलाई अझै पनि साना बालबालिका जस्तै व्यवहार गरिन्छ र उनीहरूका कुरा कहिल्यै गम्भीरतापूर्वक सुनिँदैन।"
गत अक्टोबरमा सार्वजनिक फ्रान्सेली सरकारको प्रतिवेदन अनुसार सन् २००० देखि २०२३ को बीचमा पेन्सन खर्च जिडिपीको २.५ प्रतिशतले बढेको छ भने शिक्षा क्षेत्रको खर्च ०.५ प्रतिशतले घटेको छ। अझ, शिक्षा मन्त्रालयको बजेटको ३२ प्रतिशत त पेन्सनमै जाने गरेको छ, जसले गर्दा अन्य विकासका काममा बजेट अभाव भएको छ।
बेल्जियमकी माया गुर्डेलले पनि आफ्ना विद्यालयको हालत सुधार्न आन्दोलन गरेकी थिइन्। उनी सम्झिन्छिन्, "हामीले सुरुमा शान्त रूपमा कुरा राख्ने प्रयास गर्यौँ। तर कसैले सुनेनन्। जब मानिसहरूले सडकमा फोहर बाल्न थाले, तब मात्र मिडिया र क्यामेराका आँखा हामीतिर फर्किए।"
यो आन्दोलनको लहर रोकिने नामै लिइरहेको छैन। जर्मनीमा पनि महँगी, असमानता, युद्ध र शिक्षाको खस्किँदो स्तरविरुद्ध प्रदर्शनको आह्वान भइसकेको छ।
उता अल्बानियामा पनि प्रधानमन्त्री एदी रामाको सरकारविरुद्ध विद्यार्थीहरू सडकमा ओर्लिएका छन्। भ्रष्टाचार, बेरोजगारी र कमजोर शिक्षा प्रणालीविरुद्धको आक्रोशको ज्वाला राजधानी तिराना हुँदै अन्य सहरहरूमा पनि फैलिसकेको छ।
१९ वर्षीया आर्किटेक्चरकी विद्यार्थी ज्यके कुर्ति भन्छिन्, "हाम्रा प्रधानमन्त्रीले लगातार १३० दिनसम्म हाम्रा कुरा सुन्दै सुनेनन्।"
उनी अगाडि भन्छिन्, "अहिले अल्बानियाको कुनै पनि विद्यार्थीलाई 'तिम्रो भविष्य कहाँ छ?' भनेर सोध्नुभयो भने, सबैको एउटै जवाफ हुन्छ— 'यो देशबाहिर!' यहाँ जतिसुकै प्रतिभा भए पनि पहुँच र नाता भएकै मान्छेले बाजी मार्छ।"
अबको परीक्षाः शासन कसरी चलाउने?
सर्बियाका विद्यार्थीहरूले त्यो सफलता हासिल गरे, जुन युरोपका अन्य देशका प्रदर्शनकारीहरूले सपनामा मात्र सोच्न सक्छन्। आन्दोलन त सफल भयो तर अब सुरु हुँदै छ – सत्ता सञ्चालनको त्यो कठिन अनि चुनौतीपूर्ण यात्रा ! रोचक कुरा त के भने, यो नयाँ जिम्मेवारी सम्हाल्न लागेका न त यी विद्यार्थीहरूसँग कुनै प्रशासनिक अनुभव छ, न त उनीहरूका उम्मेदवारहरूसँग नै!
तर, आन्दोलनका अर्का सक्रिय युवा लुका स्टोयाकोभिच भने यो अनुभवहीनताको प्रश्नलाई हाँसीखुसी पन्छाउँछन्। व्यङ्ग्य र दर्बिलो आत्मविश्वास मिसाउँदै उनी भन्छन्: "अनुभव भएका 'महान्' नेताहरूले हामीलाई कुन खाडलमा ल्याएर पछारे, त्यो त हामी सबैले भोगेकै छौँ नि, होइन र?"
—फेद्या ग्रुलोभिच, बार्ट बिसेमान्स, फातोस बितिची र एलेक्स फ्रेजर
(राेयटर्सको अनलाइन संस्करणबाट साभार)