शनिबार, आश्विन १७ गते २०८३

" सदस्यको विश्वास नै सहकारीको सबैभन्दा ठूलो पूँजी हो "

भाद्र १५, २०८३ सोमबार
" सदस्यको विश्वास नै सहकारीको सबैभन्दा ठूलो पूँजी हो "

नेफ्स्कूनको ३९औं स्थापना दिवसको अवसरमा मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा यहाँलाई सम्मानित गर्दा कस्तो महशुश गर्नुभएको छ ? 

यो सम्मान प्राप्त गर्दा अत्यन्तै गौरवान्वित र हर्षित महसुस भएको छ । यो सम्मान मेरो व्यक्तिगत उपलब्धि मात्र नभई चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था, सञ्चालक समिति, कर्मचारी तथा सम्पूर्ण सदस्यहरूको विश्वास, सहयोग र योगदानको सम्मान हो । आगामी दिनमा अझ जिम्मेवार भएर सहकारीको विकास र सदस्य सेवामा निरन्तर योगदान गर्ने प्रेरणा मिलेको छ ।

सहकारी क्षेत्रमा कहिले र कहाँबाट  प्रवेश गर्नुभयो ? यो क्षेत्रमा कति समय बिताउनुभयो ? कुन पदबाट प्रवेश गर्नुभएको थियो ? 

म सामान्य कृषक परिवारमा जन्मिएको व्यक्ति हुँ । ग्रामीण तथा कृषक परिवारको परिवेशमा हुर्किएकाले बचत, ऋण तथा सर्वसाधारणका आर्थिक समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएँ । यही अनुभवले मलाई सहकारी क्षेत्रमा काम गर्ने प्रेरणा प्रदान गर्यो । सहकारी क्षेत्रमा मेरो प्रवेश २०६५ सालमा ‘सिप्रेन्ड’ नामक संस्थाबाट भएको हो । त्यसपछि वि.सं. २०६७ साल श्रावण १ गतेदेखि लेखापाल पदबाट औपचारिक रूपमा सहकारी क्षेत्रमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेँ, लेखापालका रूपमा काम गर्दा लेखाप्रणाली, वित्तीय व्यवस्थापन, बचत तथा ऋण कारोबार, सदस्य सेवा र प्रतिवेदन तयारी लगायतका क्षेत्रमा राम्रो अनुभव हासिल गर्ने अवसर पाएँ ।

निरन्तर सिकाइ, अनुभव र कार्यक्षमताका आधारमा वि.सं. २०७० सालदेखि व्यवस्थापक पदमा नियुक्त भई हालसम्म कार्यरत छु । व्यवस्थापकको रूपमा संस्थाको प्रशासनिक तथा वित्तीय व्यवस्थापन, कर्मचारी परिचालन, सदस्य सेवा, बचत तथा ऋण व्यवस्थापन, योजना निर्माण तथा कार्यान्वयन र संस्थागत सुशासनमा जिम्मेवारी पूर्वक काम गर्दै आएको छु । यसरी लेखापाल पदबाट सुरु भएको मेरो करिब १६ वर्षको लामो सहकारी यात्राले मलाई सहकारी क्षेत्रलाई रोजगारी मात्र नभई सदस्य तथा समुदायको आर्थिक र सामाजिक विकासको महत्वपूर्ण माध्यमका रूपमा बुझ्ने अवसर दिएको छ । आगामी दिनमा पनि संस्थाको दिगो विकास र सदस्य हितका लागि अझ प्रतिबद्ध भएर काम गर्ने मेरो उद्देश्य रहेको छ । 

यस क्षेत्रमा लाग्न के कारणले प्रेरित हुनुभयो ? आफ्नो अध्ययनका विषयमा पनि खुलाइदिनुहोस् । 

सहकारी क्षेत्रमा लाग्नुको मुख्य कारण समुदायका मानिसहरूलाई एकताबद्ध गरी उनीहरूको आर्थिक तथा सामाजिक जीवनस्तर सुधारमा योगदान र्पुयाउनु हो । सहकारीमार्फत सदस्यहरूमा नियमित बचत गर्ने बानीको विकास, आवश्यक परेको समयमा सहज रूपमा ऋण उपलब्ध गराउने तथा आयआर्जन र स्वरोजगारका अवसर सिर्जना गर्न सकिन्छ। साथै, सहकारी संस्था सदस्यकै सहभागिता, विश्वास र सहकार्यमा सञ्चालन हुने भएकाले यस क्षेत्रमार्फत समाजमा आर्थिक अनुशासन, आत्मनिर्भरता र आपसी सहयोगको भावना विकास गर्न सकिने भएकाले म सहकारी क्षेत्रमा लाग्न प्रेरित भएको छु ।

सहकारी क्षेत्रमा युवाहरुको आकर्षण कस्तो पाउनुहुन्छ ? थप आकर्षित गर्न सहकारीहरुले कस्तो नीति तथ कार्यक्रम अवलम्बन गर्नुपर्ला ?
सहकारी क्षेत्रमा युवाहरूलाई आकर्षित गर्न सहकारीलाई रोजगारी, उद्यमशीलता र आर्थिक अवसरसँग जोड्नुपर्छ । युवामैत्री बचत तथा ऋण योजना, स्वरोजगार तथा सहुलियत कर्जा, सीप विकास तालिम, डिजिटल सेवा र नेतृत्वमा युवाको सहभागिता बढाउनुपर्छ। साथै सामाजिक सञ्जाल तथा प्रविधिको प्रभावकारी प्रयोगबाट सहकारीका अवसर र सेवाबारे युवा माझ जानकारी पुर्याउन सकेमा सहकारीप्रति युवाको आकर्षण अझ बढाउन सकिन्छ ।

मधेश प्रदेशमा सहकारी अभियान के कसरी अघि बढिरहेको छ ? यसलाई कसरी सुदृढ गर्न सकिन्छ ?

मधेश प्रदेशमा सहकारी अभियान विस्तार हुँदै गए पनि यसको प्रभावकारिता र विश्वास अझ बढाउन आवश्यक छ । सहकारीलाई थप सुदृढ बनाउन सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र सदस्य केन्द्रित सेवा प्रवाहमा जोड दिनुपर्छ । साथै प्रविधिमैत्री सेवा, नियमित अनुगमन, कर्मचारीको क्षमता विकास र सहकारीबीचको समन्वय बढाउन सकेमा मधेश प्रदेशको सहकारी अभियानलाई अझ व्यवस्थित, विश्वसनीय र दिगो बनाउन सकिन्छ ।

चन्द्रोदय साकोसको स्थापना देखि हालसम्मका आरोह अवरोह, उपलब्धी के कस्ता छन् ? 

चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना वि.सं. २०६५ साल फागुन १५ गते ३५ जना शेयर सदस्यबाट रु १ लाख ७५ हजार शेयर पूँजी संकलन गरी भएको हो । स्थापना कालमा संस्था सञ्चालनका लागि यस चन्द्रपुर यूवा समुहबाट सुरुवात भई आर्थिक, सामाजिक तथा कानुनी चुनौति पार गर्दै आयो । त्यसका वाबजुद संस्थापक, सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्यहरूको निरन्तर मेहनत, विश्वास र सहयोगका कारण संस्था क्रमशः अगाडि बढ्दै गयो । समयसँगै संस्थामा दैनिक बचतकर्ता तथा शेयर सदस्यहरूको संख्या बढ्दै गयो । शेयर पूँजी र संस्थाको कारोबार पनि निरन्तर विस्तार हुँदै गयो । यस क्रममा संस्थाले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएको छ ।

संस्थाले विगत १० बर्षदेखि नै निरन्तर रक्तदानको कार्यक्रम गर्दै आको छ । स्थानीय १३ वटा अस्पतालको दैनिक आवश्यकता पूर्तिमा सहजिकरण गर्न स्वयंसेवी रक्तदाताहरुलाई उत्प्रेरित गरी हाल सम्म ७ हजार पाउण्ड रक्त संकलन गरिसकेको छ । संस्थाले अन्य सामाजिक कार्यहरु समेत गर्दै आएको छ। सदस्यहरुको आवश्यकतालाई हेरी संस्थाले साप्ताहिक रुपमा स्वास्थ्य शिविर सञ्चालन गरी जनरल फिजिसियन, हाड तथा नसा सम्बन्धी, आँखा तथा कान सम्बन्धी, मुख तथा दन्त रोग सम्बन्धी, बाल रोग विशेषज्ञ तथा पाठेघर तथा स्त्रिरोग विशेषज्ञबाट उपचार सुविधा प्रदान गरेको थियो । करिब ४५० सदस्यहरुलाई निशुल्क उपचार तथा औषधि बितरण गरिएकाले चन्द्रोदय साकोसप्रति सदस्यहरुको दिगो विश्वास र छाप बसेको छ । 

सहकारीको आजको अवस्था संस्थापक, शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण समुदायको निरन्तर सहयोग र विश्वासको परिणाम हो । आगामी दिनमा पनि संस्थाले आर्थिक विकाससँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अझ सबल, विश्वसनीय र सदस्य केन्द्रित संस्था बन्ने विश्वास लिएको छ ।

संस्थाको समग्र वित्तीय अवस्था, आवद्धताका साथै आगामी दिनका लक्ष्य योजनाका बारेमा बताइदिनुहोस् न,

संस्थाको समग्र वित्तीय अवस्था सुदृढ र व्यवस्थित रहेको छ । संस्थाले सदस्यहरूको बचत संकलन गरी आवश्यकता अनुसार कर्जा प्रवाह गर्दै सदस्यहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । संस्थाको वित्तीय कारोबारलाई पारदर्शी, सुरक्षित र सदस्यकेन्द्रित बनाउँदै संस्थागत सुशासन तथा वित्तीय अनुशासनलाई प्राथमिकता दिइएको छ ।

हाल संस्थामा उल्लेख्य संख्यामा सदस्यहरू आवद्ध रहेका छन सदस्यहरूको आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै विभिन्न प्रकारका बचत तथा कर्जा योजना, सदस्य सेवा तथा वित्तीय सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन, संस्थाले सहकारी क्षेत्रका विभिन्न संघ–संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्दै आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

संस्थाले सहकारी क्षेत्रमा पुर्याएको योगदान, उत्कृष्ट व्यवस्थापन, सदस्य सेवा तथा संस्थागत प्रगतिका आधारमा विभिन्न संघ–संस्था तथा निकायबाट सम्मान तथा पुरस्कार समेत प्राप्त गर्दै आएको छ । यस्ता सम्मान तथा पुरस्कारले संस्थालाई अझ जिम्मेवार, पारदर्शी र उत्कृष्ट सेवा प्रदान गर्न थप हौसला प्रदान गरेको छ ।

आगामी दिनका लक्ष्य तथा योजनाहरू अन्तर्गत संस्थाको वित्तीय क्षमता थप सुदृढ गर्ने, सदस्य संख्या वृद्धि गर्ने, गुणस्तरीय तथा सुरक्षित कर्जा प्रवाह गर्ने, बचत संकलनलाई प्रभावकारी बनाउने, सदस्यहरूका लागि थप उपयोगी सेवा तथा कार्यक्रम सञ्चालन गर्ने, प्रविधिमैत्री सेवा विस्तार गर्ने र संस्थाको सुशासन तथा पारदर्शितालाई अझ मजबुत बनाउने योजना रहेको छ । साथै, सदस्यहरूको आर्थिक आत्मनिर्भरता बढाउने तथा संस्थालाई दिगो, विश्वास रहेको छ ।

अन्त्यमा,

सहकारी भनेको केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र नभई सदस्यहरूको आर्थिक, सामाजिक तथा समग्र जीवनस्तर सुधार गर्ने साझा माध्यम हो । सहकारीको वास्तविक सफलता सदस्यहरूको विश्वास, सहभागिता, पारदर्शिता, सुशासन र प्रभावकारी सेवामा निर्भर रहन्छ । त्यसैले आगामी दिनमा सहकारी संस्थाहरूले सदस्यको आवश्यकता र हितलाई केन्द्रमा राखी आधुनिक प्रविधिको प्रयोग, वित्तीय साक्षरता, सदस्य शिक्षा तथा उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्छ । साथै, सहकारीप्रति सदस्यहरूको विश्वास अझ मजबुत बनाउँदै संस्थालाई दिगो, व्यवस्थित, पारर्दर्शी र उत्तरदायी रूपमा सञ्चालन गर्न सकेमा सहकारी क्षेत्रले समुदायको आर्थिक समृद्धि र आत्मनिर्भरतामा अझ महत्वपूर्ण योगदान र्पुयाउन सक्छ ।