सोमबार, भाद्र ८ गते २०८३

तीन तहका सरकारका कारण सहकारीमा अन्यौलता छ, एकद्धार प्रणालीबाट नियमन गर्नुपर्छ


भाद्र ४, २०८३ बिहीबार
तीन तहका सरकारका कारण सहकारीमा अन्यौलता छ, एकद्धार प्रणालीबाट नियमन गर्नुपर्छ


 पर्साको वीरगंजमा रहेको ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाले वित्तीय कारोबारलाई क्रमशः सुधार गर्दै लगेको छ ।  गत आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०८२\ ८३ मा संस्थाको समग्र कारोबार सन्तोषजनक रहेको व्यवस्थापक अरुण कुमार शाहले बताए । संस्थामा बचत संकलन राम्रो भए पनि मुलुकको आर्थिक मन्दीका कारण ऋण लगानी हुन नसक्दा संस्थाको आम्दानी घटेको उनले सुनाए ।

सरकारले उद्यम व्यवसाय गर्ने वातावरण बनाउन सके ऋणको माग बढ्न गई संस्थामा बचतको रुपमा जम्मा भएको पुँजी परिचालन भई आय आर्जनमा समेत वृद्धि गर्न सक्ने उनको भनाई छ । अहिले बैंक तथा वित्तीय संस्थाका साथै सहकारी क्षेत्रमा समेत अधिक तरलताको अवस्था रहेको र सदस्यहरुबाट ऋणको माग नहुँदा ऋण लगानी बढाउन नसकेको व्यवस्थापक शाह बताउँछन् । सहकारी स्थानीय समुदायका मानिसहरु मिलेर स्थापना गरेको संस्था भएकाले कृषक, उपभोक्ता,उद्यमी व्यापारीलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने हुँदा समाजमा  सहकारीको आवश्यकता रहेको उनको बुझाई छ । सहकारीले सहज र सरल ऋण सेवा दिने भएकाले सदस्यहरुलाई पनि सेवा लिई काम गर्न सजिलो भएको उनले बताए । जसको कारण सदस्यको आयस्तरमा समेत वृद्धि  हुनका साथै संस्थालाई अगाडि बढाउन टेवा पुगेको शाहको भनाई छ ।

तर सरकारले १५\२० लाखको बचत लिदाँ पनि निगरानी बढाउने र एक पटकमा  बैंकबाट ५ लाखसम्म रकम झिक्न सक्ने भएकाले यसले अप्ठ्यारो बनाएको उनले सुनाए । उनले थपे,‘ एउटा बैंकले ५ लाख भन्दा बढी रकम दिदैँन, १० जना सदस्यले २ लाखको दरले बचत फिर्ता लिन आए भने २० लाख रुपैयाँ चाहिन्छ । त्यही भएर ५ \६ वटा  बैंकमा खाता खोल्नुपर्ने बाध्यता छ । यसले हामीलाई समस्या बनाएको छ । सरकारले कानुनमा एकरुपता कायम गरी संस्था सञ्चालन गर्न कसरी सहज हुन्छ ,सहजीकरण गर्नुपर्छ । ’ वित्तीय पारदर्शिता कायम गर्दै समुदाय आधारित रहेर कारोबार गर्ने संस्थालाई कसरी व्यवस्थित गर्न सकिन्छ,त्यसतर्फ ध्यान दिन उनको आग्रह छ ।

 स सानो वित्तीय कारोबार गर्ने संस्थाहरुलाई कानुनी रुपमा कस्ने भन्दा पनि सहजीकरण गरिदिन उनको नियामक निकायसँग माग छ । संस्थाले एकका लागि सबै र सबैका लागि एक भन्ने भावनालाई आत्मसात गर्दै सदस्यहरुलाई कुनै भेदभाव नगरी समान तरिकाले सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी सदस्यका उत्कृष्ट अंक ल्याएर एस.ई.ई. उत्र्तिण हुने सदस्यका छोराछोरीलाई सम्मान गर्दै आएको छ भने प्राकृतिक प्रकोपका कारण अप्ठ्यारोमा परेका सदस्यहरुलाई सहयोग गर्ने कार्य गर्दै आएको उनले जानकारी दिए । संस्थाले आफ्नो स्रोत साधनले भ्याएसम्म सेवा दिँदै आएको र अहिलेसम्म कुनै पनि सदस्यको धितो लिलाम गर्नु नपरेको उनको भनाई छ । कतिपय ऋणीले ऋण तिर्न आलटाल गरे पनि उनीहरुलाई संस्थामा बोलाई सम्झाई बुझाई गरी ऋण असुली गर्ने गरेको उनले सुनाए ।

संस्थाले २०८० सालबाट आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आएको र आफ्नै भवन हुँदा सदस्यहरुलाई सहकारी शिक्षा सञ्चालन गर्न सहज भएको उनले बताए । संस्थाले हरेक बर्ष सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्दै आएको र राष्ट्रिय सहकारी बैंक,नेफ्स्कून र जिल्ला बचत संघहरुको प्राविधिक सहयोग लिने गरेको छ । सहकारी शिक्षामार्फत् सदस्यहरुलाई कृषि, उद्यम व्यवसाय गर्न अभिप्ररित गर्ने र आर्थिक रुपमा सबल बन्न सघाउने गरेको उनले जनाए । सदस्यहरुको आवश्यक्ता अनुसार सीप विकास तालिम दिने र त्यस पश्चात उनीहरुको क्षमताका आधारमा ऋण लगानी गरी आय आर्जनमा लगाउने रणनीति संस्थाले बनाएको छ । विगतको तुलनामा सरकारले सहकारी क्षेत्रका लागि सहज वातावरण बनाएको  भए पनि तीन तहको सरकारको नीति नियम पालनामा संस्थाहरुलाई अप्ठ्यारो भइराखेको उनको बुझाई छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमनको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भइसकेकाले एकद्धार प्रणाली मार्फत् संस्थाहरुको नियमन तथा अनुगमन गर्न उनको माग छ । उनले थपे,‘ प्राधिकरण गठन भइसकेको छ ।

अब सहकारी संस्थाहरुको स्थानीय तह, प्रदेश वा सहकारी रजिष्ट्रारको कार्यालय कसले हेर्ने हो । त्यो प्रष्ट भयो भने संस्था सञ्चालनमा सहज हुने थियो । प्राधिकरणले प्रदेश कार्यालय स्थापना गरी सहकारी संस्थाको नियमन गर्दा पनि राम्रो हुन्छ । तीन तहका नियामकले सहकारीलाई हेर्दा समस्या भयो । ’ तीन तहका सरकारलाई रिपोर्ट बुझाउनु पर्ने झन्झट त छदैछ, समयमा समयमा तीन तहका सरकारले निर्देशन जारी गर्ने भएकाले कसको मान्ने भन्नेमा अन्योलता भएको उनले सुनाए । संस्थाले गत असार मसान्तसम्म २ करोड ५० लाख शेयर पुँजी ,४५ करोडको हारहारीमा बचत संकलन र ५५ करोड ऋण लगानी गरेको छ । वीरगंज महानगरपालिका कार्यक्षेत्र रहेको संस्थामा ३ हजार सदस्य आवद्ध रहेका छन् ।