खैरहनी नगरपालिका १० कठार चितवनमा रहेको महिला साना किसान कृषि सहकारी संस्थाले कृषि उत्पादनसँगै त्यसको बजारीकरण गर्दै आएको छ । संस्थामा आवद्ध सदस्यहरुलाई कृषिजन्य वस्तु उत्पादनमा लाग्न प्रोत्साहन गर्नुका साथै आवश्यक पुँजी, प्रविधि र उत्पादित बस्तुको बजारीकरणमा समेत काम गर्दै आएको हो ।
संस्थाकी व्यवस्थापक पुर्णमाया अधिकारीले सदस्यहरुलाई सहुलियत कर्जा लगानी गरी कृषि उत्पादनमा लाग्न सघाउँदै आएको जानकारी दिइन् । उनले संस्थाले कृषक सदस्यहरुलाई लक्षित गरी विभिन्न क्रियाकलाप सञ्चालन गर्नुका साथै सदस्यहरु माझमा बचत तथा ऋणको कारोबार समेत गर्दै आएको बताइन् । संस्थाले धान उत्पादनका साथै प्रशोधन गरी चामलको बजारीकरण गर्दै आएको उनको भनाई छ ।
कृषक सदस्यहरुलाई आवश्यक पर्ने एग्रो सञ्चालन गरी आवश्यक सम्पूर्ण सेवासुविधा उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् । सदस्यहरुलाई सहज र सरल ब्याजदरमा कृषि ऋण लगानी गरी उनीहरुको आय आम्दानी वृद्धि गर्ने कार्यमा संस्था सक्रिय रहेको छ । संस्थामा २ हजार ८ सयमाथि महिला सदस्य आवद्ध रहेका छन् भने उनीहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतिका लागि संस्थाले काम गर्दै आएको छ । सहकारीमार्फत् गरिबी न्युनिकरण गर्दै सदस्यको समृद्धिमा उल्लेख भूमिका खेलेको व्यवस्थापक अधिकारी बताउँछिन् । संस्थाले आफ्ना सदस्यहरुलाई बचत ऋणका साथै धान रोपाईंलाई सहज बनाउन धान रोप्ने मेसिन समेत प्रयोगमा ल्याएको छ । त्यसका साथै खेत जोत्नलाई सहज बनाउन संस्थाले ट्रयाक्टर खरिद गरेको छ र गाउँघरमा चलेको दरभन्दा प्रति घन्टा २÷३ सय रुपैयाँ सस्तोमा सदस्यको खेत जोतखनमा सहयोग पु¥याउँदै आएको छ । संस्थाले दिएको यो सुविधाले न्युन आय भएका सदस्यलाई ठुलो राहत मिलेको छ ।
नगरपालिकाले दिने धान र तरकारीका विउविजन समेत संस्थाबाट वितरण हुने गरेकाले सदस्यहरुले विउ लिन टाढासम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । रासायनिक मल संस्थाबाट विक्री विरतण हुँदै आएकाले बजारमा बिचौलियाबाट महँगोमा किन्नु पर्ने बाध्यता हटेको छ । संस्थाले सदस्यहरुलाई कृषि कर्म गर्नका लागि आवश्यक पर्ने कृषि तथा पशुपालन सम्बन्धि विभिन्न तालिमहरु समय समयमा प्रदान गर्दै आएको छ । तरकारी, फलफुल र धानवालीमा लाग्ने रोगको बारेमा जेटिएमार्फत् बुझाउने तथा पढाउने गरेको र यसले समयमा कृषि रोगको पहिचान गरी उपचार गर्न सहज भएको उनले जनाइन् । अहिले जथाभावी रासायनिक मलको प्रयोगले खेतबारीमा माटोको अम्लियपन बढेको छ भने माटोको उत्पादन क्षमता ह्रास हुँदै गएको छ, उनले भनिन् ‘संस्थाले सम्बन्धित विषयका जेटिएलाई नै खेतबारीमा लगेर के र कति रासायनिक मल आवश्यक छ, त्यसको जाँच गरेर मात्र मलको प्रयोग गर्न सिकाउँछौं । यसले गर्दा माटोको गुणस्तर कायम गर्न समेत मद्दत मिलेको छ ।’
संस्था कृषि सहकारी भएकाले विशेषतः पशुपालन, तरकारी तथा धान खेती, मौरी पालन र आयमुलक क्षेत्रमा नै ऋण लगानी गर्दै आएको छ । पछिल्लो समय कृषक सदस्यका छोराछोरी विदेश जाने क्रम बढेको र बैंकबाट ऋण लिन नसक्ने सदस्यहरुलाई भने आवश्यक धितो लिएर ऋण दिने गरेको उनको भनाई छ । सदस्यहरुको आवास निर्माण र कृषि ढुवानीका साधन खरिद गर्न पनि संस्थाले सहज रुपमा ऋण लगानी गर्ने गरेको छ । चैते र बर्खे गरी दुई बाली धान उत्पादन हुने भएकाले नगरपालिकाले धान सुकाउनको लागि ड्रायर मेसिन दिएर सहयोग गरेको छ । त्यसका साथै नगरपालिकाले धान सुकाउन आवश्यक पर्ने खलो समेत निर्माण गरिदिएकाले सदस्यहरुलाई कृषि उपज भित्र्याउन ठुलो सहयोग मिलेको व्यवस्थापक अधिकारी बताउँछिन् ।
राष्ट्रिय कृषि परियोजना आयोजनाको सहयोगमा संस्थाले कृषि सवारी साधन खरिद गर्न सकेको छ भने मिनी टाटा, ट्रयाक्टर र दुई थान धान रोप्ने मेसिन संस्थासँग रहेको छ । संस्थाले २३औं राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाई कार्यक्रम समेत आयोजना गरी धान उत्पादनलाई वृद्धि गर्न प्रोत्साहन गरको छ तर किसानले उत्पादन गरेको धानले उचित मुल्य नपाएको उनको भनाई छ । धानले उचित मुल्य पाउन नसकेको र कतिपय अवस्थामा रोगकीराले समेत धान नष्ट हुने गरेकाले त्यसतर्फ राज्यको ध्यान जान सके उत्पादन अझै बढाउन सकिने उनले बताइन् । संस्थाले किसानसँग जोडिएर काम गरेकाले थुप्रै समस्या लिएर सदस्य आउने गरेको तर आफुहरुले सुन्ने भन्दा बाहेक केही निकास दिन नसकेको उनले बताइन् ।
पछिल्लो समय सहकारी संस्थाको ऋण असुलीमा समस्या भए पनि संस्थाले भने गत बर्ष ९९ प्रतिशत माथि ऋण असुली गर्न सफल भएको छ । संस्थाले उदाहरणीय कार्य गरेकै कारण बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट महिला सहकारीको रुपमा पुरस्कृत गर्नुका साथै संस्थालाई सहायता गरेको छ ।
हालसम्म संस्थाको शेयर पुँजी ४ करोड ५४ लाख, बचत संकलन २८ करोड ८६ लाख, ऋण लगानी ५२ करोड ६० लाख गरी कुल सम्पत्ति ६६ करोड ५२ लाख पुगेको छ । संस्थाको जगेडा कोषमा ५ करोड ८८ लाख रहेको छ ।
२०६१ साल बैशाख ७ गते स्थापना भएको संस्थाको कार्यक्षेत्र खैरहनी नगरपालिकाको १० र ११ गरी २ वटा वडामा रहेको छ ।
नेपालपत्र संवाददाता