बुधबार, भाद्र ३ गते २०८३

‘महिला नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यमा सम्मेलन केन्द्रित हुनेछ’


जेठ २८, २०८३ बिहीबार
‘महिला नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यमा सम्मेलन केन्द्रित हुनेछ’

राष्ट्रिय सहकारी महासंघले महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता र सहकारी अभियानको अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन आयोजना गर्न लागेको छ । सम्मेलन असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा हुँदैछ।महासंघको वार्षिक कार्यक्रमअन्तर्गत नै सम्मेलन आयोजना हुन लागेको हो । नेपाल सरकारसँग गत वर्ष गरिएको समन्वयअनुसार सम्मेलनका लागि सरकारी बजेटसमेत प्राप्त भएको र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको संयुक्त आयोजनामा विभिन्न निकायको सहयोगमा सम्मेलन हुनेछ । 

नेपालमा करिब ३२ हजार सहकारी संस्था रहेकामा करिब ९० लाखमाथि नागरिक आवद्ध रहेका छन् । ती सदस्यमध्ये ५६ प्रतिशत महिला रहेको परिप्रेक्ष्यमा महिलाले नेतृत्व गरेका सहकारी संस्थाहरू तुलनात्मक रूपमा सबल, व्यवस्थित र सफल रहेका छन् । सम्मेलनमार्फत महिला नेतृत्वको प्रवद्र्धन, खाद्य सुरक्षा, वित्तीय साक्षरता, उद्यमशीलता, बजार व्यवस्थापन, उत्पादन वृद्धि तथा अन्तर्राष्ट्रिय अभ्यासको आदान–प्रदानलाई प्राथमिकता दिइनेछ । साथै नेपाली महिला सहकारीकर्मीहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने र सहकारी अभियानमा देखिएका नीतिगत समस्याबारे सरोकारवालासँग संवाद गर्ने उद्देश्य पनि सम्मेलनको रहेको छ ।

सहकारी क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको छ । केही सीमित सहकारी संस्थामा देखिएको समस्या र वित्तीय अनियमितताका कारण समग्र सहकारी अभियानमाथि नै नकारात्मक भाष्य निर्माण भएको छ । तर ३२ हजार सहकारी संस्थामध्ये केही संस्थामा मात्रै समस्या देखिएपनि त्यसले समग्र अभियानलाई नकारात्मक प्रभाव पारेको छ ।

सहकारीको मूल दर्शन, मूल्य र सिद्धान्तमा समस्या नभई व्यवहारिक कार्यान्वयन र केही व्यक्तिको गलत गतिविधिका कारण संकट उत्पन्न भएको हो । तसर्थ, सम्मेलनले राम्रा सहकारी संस्थाको योगदान सार्वजनिक गर्दै सहकारीप्रतिको विश्वास पुनः स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, सहकारी अभियन्ता, महिला सहकारीकर्मी तथा उद्यमीहरूको सहभागिता रहनेछ । महासंघले खुला दर्तामार्फत करिब २०० महिला सहभागी समेट्ने तयारी गरेको छ भने सातै प्रदेशबाट सहभागिताका लागि दर्ता आवेदन भइरहेको छ । 

त्यसैगरी श्रीलंका, थाइल्याण्ड, भारतलगायत एसिया–प्रशान्त क्षेत्रका करिब १५ देशलाई निमन्त्रणा गरिएको र केही देशले सहभागिता सुनिश्चित गरिसकेका छन् । सम्मेलनको मूल नारा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ रहेको छ । सम्मेलनको अन्तिम दिन काठमाडौं घोषणापत्र जारी गरिनेछ, जसमा सहकारी उद्यमशीलता प्रवद्र्धन, पारदर्शिता, रोजगारी सिर्जना, युवा सहभागिता, प्रविधिको प्रयोग तथा सहकारी क्षेत्रका नीतिगत अवरोध हटाउन कानुनी सुधारका प्रस्ताव समावेश गरिनेछ । 

सहकारी ऐन कार्यान्वयनमा अवरोध बनेका विभिन्न कानुन संशोधन गर्न घोषणापत्रमार्फत सरकारलाई नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गरिनेछ । सम्मेलनले सहकारी क्षेत्रलाई उत्पादनमुखी, पारदर्शी र उद्यमशील बनाउने दिशामा नयाँ बहस र नीतिगत पहलको आधार तयार गर्ने अपेक्षा हाम्रो छ ।

सहकारी अभियान ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सिद्धान्तमा आधारित सामाजिक व्यवसाय हो । नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्न सहकारी क्षेत्रको भूमिका अझ विस्तार गर्नुपर्छ । बचत तथा ऋण कारोबारलाई सीमित गर्नेभन्दा अझ व्यवस्थित र पारदर्शी बनाउँदै कृषि, उद्योग र मूल्य शृंखलासँग जोड्नु आवश्यक छ । 

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन सहकारी क्षेत्रका लागि महत्वपूर्ण अवसर हुनेछ ।  सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारीकर्मी, विज्ञ तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सहभागी हुने र महिला नेतृत्व, उद्यमशीलता, डिजिटलाइजेसन, बजार विस्तार, रोजगारी सिर्जना तथा मूल्य शृंखलासम्बन्धी विषयमा छलफल हुन्छ । 

सम्मेलनमा राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी क्षेत्रसम्बन्धी ‘कन्ट्री पेपर’ प्रस्तुत गर्नेछ भने अन्तर्राष्ट्रिय सहकारी महासंघको एसिया प्रशान्त क्षेत्रीय संगठनले क्षेत्रीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नेछ । सहभागी देशहरूले पनि आफ्ना मुलुकमा सहकारी र महिला सहभागिताको अवस्थाबारे अनुभव आदान–प्रदान गर्नेछन् । सम्मेलनमा महिला सहकारीकर्मीहरूले उत्पादन गरेका वस्तुको प्रदर्शनीसमेत गरिने तथा डिजिटल प्रविधिको प्रयोग, उद्यमशीलता र बजार व्यवस्थापनका नयाँ सम्भावनाबारे बहस गरिनेछ । 

(कुराकानीमा आधारित)