राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन भएको छ । आइतबार एक औपचारिक घोषणा कार्यक्रम गर्दै बैंकले निर्वाचित पदाधिकारीहरूको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । निर्वाचन उपसमिति संयोजक अधिवक्ता प्रबल शर्माका अनुसार बैंकको २२औँ वार्षिक साधारणसभाको निर्णयअनुसार जेठ ९ गते सातै प्रदेशमा प्रक्रिया सम्पन्न भएको थियो । जसअनुसार बागमती प्रदेशमा मात्रै निर्वाचन भएको र अन्य सबै प्रदेशमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।
घोषित परिणामअनुसार बागमती प्रदेशतर्फ डा. परितोष पौड्याल १ हजार ८२७ मत प्राप्त गर्दै सञ्चालक पदमा निर्वाचित भएका छन् । सोही पदका अर्का उम्मेदवार राम शरण शर्मा घिमिरेले १ हजार ५५२ मत प्राप्त गरेका थिए । अन्य प्रदेशमा भने उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशबाट लक्ष्मी प्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, गण्डकी प्रदेशबाट कमला देवी गिरी, लुम्बिनी प्रदेशबाट विष्णु प्रसाद बराल, कर्णाली प्रदेशबाट काली बहादुर महतारा तथा सुदूरपश्चिम प्रदेशबाट मनमोहन बिष्ट सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकतर्फ तारा गुरुङ तथा सदस्यमा युवराज पोखरेल र ममता कुमारी साह निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यविधि २०७५ (संशोधनसहित) को दफा ३० (क) अनुसार अन्तिम मत परिणाम घोषणा गरिएको निर्वाचन उपसमितिले जनाएको छ । बैंकले नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रको सुशासन, पारदर्शिता र सदस्यहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
नेपालपत्र संवाददाता