मुलुकको सहकारी अभियान कुन रुपमा अगाडि बढेको छ, तपाईले यो अभियानलाई कसरी नियाली रहनु भएको छ ?
मुुलुकको सहकारी अभियान कठिन परिस्थितिमा छ । अहिले नियामक निकायलाई पनि यो क्षेत्रमा भएको वित्तीय अपचलनका कारण कसरी समाधान गरेर जाने भन्ने चुनौति छ भने अभियानमा लागरे राम्रो काम गर्दै आएकाहरुलाई पनि गलत सहकारी संस्थाका सञ्चालकका कारण अप्ठ्यारो परेको छ । अर्कोतर्फ, सहकारीमा बचत गरेका लाखौं सदस्यहरुलाई पनि आफ्नो बचत फिर्ता हुन्छ कि हुँदैन भन्ने चिन्ता छ । यसरी हेर्दा नियामक, सञ्चालक र सदस्य तीनै पक्ष असहज परिस्थितिबाट गुज्रिरहेका छन् । अहिलेको अन्यौलका कारण सहकारी अभियानको अबको बाटो के भन्ने चिन्ता रहेको छ । तर समस्याका बिचमा पनि हामीले आशा राख्नुपर्छ । नियामक, अभियान र बचतकर्ता सजग नभएसम्म यो अभियानलाई अगाडि बढाउन कठिन छ । नियामक निकायले नै अभियानलाई शुद्धिकरण गर्नुपर्ने हुन्छ । पानीको मुहानमा नै फोहोर भयो भने पाइप फेरर वा फिल्टर गरेर मात्र शुद्ध हुँदैन । त्यसका लागि मुहानमा नै शुद्धिकरण गर्नुपर्छ । ऐनमा सुधार आवश्यक भए ऐन र नियामवलीमा भए नियमावलीमा नै सुधार गरेर जानुपर्छ ।
शुद्धिकरणको नाममा सहकारी क्षेत्र नै सकिने हो कि भन्ने परिस्थिति निर्माण भएको छ नि ?
सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई निमिट्यान्न गर्ने गरी ऐन कानुन आयो भने सहकारी भन्ने शब्द नै हटाइदिए भयो । मुलुकको संविधानले सहकारीलाई अर्थतन्त्रको तीन मध्ये एउटा खम्बाको रुपमा परिभाषित गरेको छ । तीन खम्बे अर्थनीतिको एउटा आधार भएकाले सरकारले सहकारीलाई पनि महत्व दिनुपर्छ । तर सरकारले संविधानको भावना अनुसार सहकारीलाई व्यवहारमा महत्व दिएको पाइँदैन । सहकारीको असल अभ्यासको मुल्याङ्कन हुनैपर्छ । अहिलेसम्म भएका असल अभ्यासहरु के छन्, त्यसलाई निरन्तरता दिनुपर्छ । समुदायमा आधारित सहकारीले जसरी अहिले काम गरिराखेका छन् । नियामक निकायले पनि त्यसलाई असल अभ्यासको रुपमा स्वीकार गर्नुपर्छ । अन्य संघ संस्थाले पनि सहकारीका असल अभ्यासलाई स्वीकर गरी लगेको अवस्थामा मर्म पनि रहिरहन्छ र सिद्धान्तलाई पनि अँगाल्न सकिन्छ । यसरी जान सकियो भने समाजमा सहकारी रहन्छ र सदस्यको समृद्धिमा टेवा पु¥याउन सकिन्छ ।
पछिल्लो समय नियामक निकायले जारी गरेका निर्देशन र मापदण्डले सहकारीको मर्मलाई मारेको त छैन ?
कतिपय बुँदा हेर्दा त्यो देखिन्छ । तथापि सहकारीमा देखिएका विकृति र विसंगतिलाई नियन्त्रण गर्नका लागि सरकार कठोर त बन्नै पर्ने हुन्छ । तर कठोर ऐननियम र निर्देशन ल्याइँदै गर्दा सहकारीको मर्म र भावनालई मार्नु हुँदैन । त्यसलाई पनि हेक्का राख्नुपर्छ । अहिले तीन तहकै सरकारले निर्देशन जारी गरिराखेका छन् । तीन तहमा बार्षिक तथा मासिक प्रतिवेदन बुझाउने पर्ने जस्ता कार्यले गर्दा सहकारीलाई अप्ठ्यारो भइराखेको छ । सबैले निर्देशन र मापदण्ड जारी गर्ने र त्यसको रिपोर्टिङ गरेर मात्र सहकारी चल्दैन । सहकारीको मुल्य मान्यतालाई कायम गर्ने गरी एकद्धार नीति सरकारले लिनुपर्छ । कुनै एक निकायले निर्देशन जारी गरोस्, त्यही निकायमा मात्र प्रतिवेदन बुझाए पुग्ने व्यवस्था भयो भने सहकारी संस्थाहरुलाई सजिलो हुन्छ ।
अहिले व्यवहारमा सहकारी भने पनि पछिल्लो समयमा त्यो आभाष गर्न सक्ने अवस्था छ त ?
सहकारी संघ संस्थाको नियमन गर्न अभियानले नै राष्ट्रिय सहकारी नियमन प्राधिकरण माग गरेको हो । अभियानले चाहे अनुरुप प्राधिकरण आयो आएन र अभियानको हितमा निर्देशन तथा मापदण्ड जारी भयो भएन त्यो अलग विषय हो । प्राधिकरणको कामलाई परिक्षण गर्न नै बाँकी छ । निर्देशन र मापदण्ड जारी गर्दै गर्दा केही बुँदाले अप्ठ्यारो सृजना गरेको छ । जस्तो बचत र ऋणको सीमा तोक्नु, सञ्चालक र निजको परिवारका सदस्यले ऋण लिन नपाउनु, व्यवस्थापकको पदावधि तोकिनुले गर्दा सहकारीको स्वायतत्ता र स्वतन्त्रता माथि प्रहार भयो भन्ने लाग्छ । यसले सहकारीका अन्तर्राष्ट्रिय मुल्य, मान्यता र सिद्धान्तलाई पनि लत्याएको जस्तो देखिन्छ । नियामकले ल्याएका यी कुरा सुधार गर्नै नसक्ने भन्ने पनि होइन, यसलाई सुधार गरेर जानुपर्छ भन्ने हाम्रो आवाज हो । त्यसलाई सम्बन्धित निकायले सुनिदिनुपर्यो । यसले सहकारीको मुल्य मान्यतालाई कति सम्म कायम गर्न सक्छ सक्दैन भन्ने कुरा नियामक निकायले बुझिदिनुपर्छ । सुनाउनेले सुनाउछन् र सुन्नेले पनि अभियानले उठाएका जायज मागलाई सुनिदिनुपर्यो ।
सहकारीले समाजमा गरेका राम्रा कुराको भन्दा नराम्रा कुराको बढी प्रचार भयो नि ?
यसका लागि सबै पक्ष लाग्नुपर्छ । सहकारी अभियानले गरेका असल अभ्यासलाई प्रचार गर्न नसक्ने अहिलेको कमजोरी हो भन्ने मलाई लाग्छ । नराम्रा कुरालाई राम्रोले छोप्नुपर्नेमा राम्रोलाई नराम्रोले छोपिराखेको छ । गलत कुरालाई तुरुन्त स्वीकार गर्ने र राम्रो कुरालाई ग्रहण नगर्ने मानसिकताले पनि यो भएको हो । सञ्चार जगतले पनि असल अभ्यासलाई प्रचार गरेर जानुपर्नेमा गलत कुराको बढी प्रचार गर्ने परिस्थिति समयले निर्माण गर्यो । असल कुराको पनि प्रचार गर्न सकियो भने नराम्रा कुरा क्रमशः घट्दै जानेछ । विगतको तुलनामा अहिले सहकारीका गलत कुरा कम आउन थालेको छ । धेरैले सहकारीको वास्तविकता बुझ्दै गएका छन् । अभियानले सहकारीको वास्तविकतालाई बुझाउन सार्वजनिक फोरमहरुमा बोल्दै आएकाले गलत कुराको प्रचार घटेको जस्तो मलाई लाग्छ । सहकारीका असल अभ्यासलाई प्रचार गर्न केन्द्रदेखि नै छुट्टै सोचको विकास गर्नुपर्छ ।
सहकारीको महत्वलाई समाजमा कसरी लिन सकिन्छ ?
बैंक तथा वित्तीय संस्था पुग्न नसकेको ठाउँमा सहकारी पुगेर सेवा दिएको छ । जुनसुकै तह र तप्काका मानिसमा बचत गर्ने बानीको विकास सहकारीले गरेको छ । हिजोको दिनमा साहुकहाँ गएर रोइकराई गरी ऋण माग्नुपर्ने अवस्थालाई सहकारीले चिरेको छ । तर लोभी बचतकर्ता र बेइमान सञ्चालकका कारण पछिल्लो समय सहकारी क्षेत्रमा समस्या आयो । सहकारीले दिने ब्याज र साधारण सभामा दिने पारवहन खर्च र मिठो खानाको लोभ सदस्यहरुमा जाग्यो । यसले नै अभियानलाई बिगार्यो । सहकारीले दिने सेवासुविधा भित्र संस्थाले आवश्यकता परेको बेला तुरुन्त बचत फिर्ता गर्ने र सहज रुपमा ऋण उपलब्ध गराउनुका साथै शेयर लाभांश दिने जस्ता कुरा पर्छन् । यसले सहकारी बिग्रेको होइन । बेइमान सञ्चालकले लोभ देखाइदिए । सहकारीमा समस्या आउनुको प्रमुख कारण यहि नै हो । नियामकले कुनै संस्थामा समस्या आउन लाग्यो भन्ने सूचना पाउनासाथ समयमा नै चासो देखाएको भए अहिलेको अवस्था आउँदैन थियो । संस्थाहरुको वित्तीय सुचकलाई अध्ययन गरी सुधारको लागि काम गरेको भए यो हदसम्मको समस्या सहकारी क्षेत्रमा आउने थिएन । नियामकले जनशक्तिको अभाव देखाएर पन्छिए ।
विभागमा कर्मचारी फेरिने समस्या छ भने विगतमा राजनीतिक अस्थिरताका कार मन्त्री पनि फेरिइरहने समस्या थियो । जसले गर्दा नियामक निकायको निरीक्षणमा कमीकमजोरी भयो । सहकारीको संख्याले समस्या ल्याएको होइन । मानिसहरुले आफ्नो गच्छेअनुसार बचत जम्मा गर्न र ऋण लगानी गर्न संस्थाहरु खोल्छन् । तर त्यसको निरिक्षण गर्नु पर्ने जुन निकाय छ, त्यो निकायले काम गर्न नसकेपछि समस्या आएको हो । साधारण सभा भएको छ महिनाभित्र उपल्लो संघमा संस्था आवद्ध हुनुपर्ने व्यवस्था छ । दशौं बर्षदेखि कतिपय संस्था संघमा आवद्ध छैनन् । तर कसैले केहि गरेको छैन । सहकारी दर्ता नरोक्ने तर हामी नियमन गर्न सक्दैनौं भनेर भन्न मिल्छ त । यदि सरकारले सहकारीलाई प्राथमिकतामा राखेको भए यति धेरै संस्था दर्ता पनि हुँदैन थियो होला वा दर्ता भएका संस्थाको पनि निरिक्षण हुन्थ्यो होला । नियामकले हेर्न सक्दैन भने किन ३२ हजार सहकारी दर्ता दिएको त ?
संघहरुले गर्दै आएको वित्तीय कारोबारमा रोक लगाइयो नि ?
जिउँदो संघहरुको सरकारले आयु तोकिदिएर तीन बर्षभित्र वित्तीय कारोबार पूर्ण रुपमा बन्द गर्न भनेको छ । आयु तोकेपछि दिएको समयभित्र व्यवस्थापन गर्न सकिएन भने के गर्ने ? संघहरुको खराब कर्जा होला, त्यसको व्यवस्थापन कसरी गर्ने, लगानीमा रहेको ऋण फिर्ता नभएसम्म संस्थाहरुको बचत फिर्ता गर्न सकिँदैन । त्यसको जिम्मेवारी कसले लिने ? भक्तपुर बचत संघको घर जग्गा छ, संघको भवन बेचविखन गर्ने ? त्यो गर्न मिल्छ, यो त जनताको पैसाले बनाएको हो । यसरी संघहरुको आयु तोक्नु गलत छ । हामीले संघ दर्ता गर्दा विनियम पेश गरेका छौं र त्यसमा अन्तर लगानी गर्ने कुरा उल्लेख छ । अहिले आएर वित्तीय कारोबारमा रोक लगाउने गरी ऐन संशोधन भएर आयो । यसले अन्योलता सृजना गरेको छ ।
पछिल्लो समय रास्वपाको सरकार बनेको छ, यो सरकारले सहकारी क्षेत्रलाई कसरी हेर्ला ?
सरकारले जारी गरेको सय दिनको कार्य सूचीमा पीडित बचतकर्ताको बचत फिर्ता बाहेकको अरु कुरा देखिएको छैन । समस्याग्रस्त सहकारी संस्थाको बचत फिर्ता गराउन लाग्ने कुरा आए पनि सहकारी अभियानको समग्र विषयमा केही बोलेको छैन । संविधानमा तीन खम्बे अर्थतन्त्रको एउटा खम्बा सहकारी भनिएको छ, त्यसलाई आत्मसात गरेर सरकार अगाडि जानेमा हामी आशावादी छौं । संविधानको मर्म र सहकारीको सिद्धान्त अनुसार लिएर जानेछ भनेर हामीले विश्वास गरेका छौं । अहिलेसम्म अभियानको तर्फबाट सरकारलाई भेट्ने र आफ्ना कुरा राख्ने विषयमा छलफल भएको छ । केन्द्रीय तहबाट सरकारसँग भेटघाट भयो भएन मलाई जानकारी छैन, त्यो काम गर्नुपर्छ । सहकारीको वास्तविकता बुझाउनुपर्छ । अभियानबाट भएको कमजोरीे पनि स्वीकार गर्नुपर्छ । अबका दिनमा यसरी जाँदा समस्या आउँदैन भन्ने सुझाव पनि अभियानले दिनैपर्छ ।
महासंघ र केन्द्रीय संघको भूमिका कमजोर भयो भन्ने सुनिन्छ नि, तपाईलाई के लाग्छ ?
त्यसमा केही कमिकमजोरी होलान, त्यो व्यक्तिले पनि निर्धारण गर्छ । तर नेतृत्व स्पष्ट हुनुपर्छ । नेतृत्व सबैले स्वीकारेको हुनुपर्छ । कुनै राजनीतिक विचारधाराले मात्र प्रेरित हुनुहुँदैन । अभियानलाई कसरी लिएर जाने भन्ने विषयमा तल्लो तहदेखि माथिल्लो तहसम्म सबैको भावनालाई समेटेर जानुपर्छ । भक्तपुर बचत संघले बन उपभोक्ता महासंघको जस्तै प्रतिनिधिमूलक हुनुपर्छ भनेर आवाज उठाउँदै आएको छ । अहिलेको नेतृत्वले सहकारी अभियानका धेरै मुद्धाहरुमा लाविङ र एडभोकेसी गर्न नसकेको देखिन्छ । लविङ त भयो तर परिणाममूखी हुन सकेन । परिणाम सानो वा ठुलो आएको भए अभियानमा आशा बढ्थ्यो ।
भक्तपुर बचत संघले कसरी काम गर्छ, तपाइको भूमिका के रहन्छ ?
मैले संघमा लामो समय बिताएको छु । कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भएको छु । अध्यक्ष फेरिने बित्तिकै खासै परिवर्तन हुँदैन । वार्षिक कार्यक्रम बन्छ । त्यसकै आधारमा अगाडि बढ्छौं । हाम्रो संघमा त्यति धेरै उतारचढाव आउँदैन । सदस्य संस्थाको आवश्यकता आधारमा कार्यक्रम तय हुन्छ, नेतृत्व परिवर्तन हुन साथ सबै कुरा परिवर्तन हुुन्छ भन्ने होइन । संघ थितिमा बसेको छ, नेतृत्वमा जोसुकै आए पनि फरक पर्दैन ।
संघले प्रारम्भिक सहकारी संस्थाहरुलाई कसरी सहयोग पु¥याउँदै आएको छ ?
हामीले अन्तर लगानीका साथै संस्थाहरुको प्रवर्दनमा काम गर्दै आएका छौैं । संस्थाहरुको आवश्यकता अनुसार गोष्ठी तथा तालिम गर्छौ । यस अघि कर्जा असुली न्यायाधिकरणले गर्ने कामको बारेमा जानकारी दिन गोष्ठी गर्यौ । स्थापना दिवसको अवसरमा कर्जा सूचना केन्द्रको बारेमा जानकारी दिन गोष्ठी गर्दैछौं । अभियानका लागि चाहिने तालिम सहित एड्भोकेसीको काम संघले निरन्तर गर्दै आएको छ । प्रारम्भिक सहकारी संस्थाले पनि संघलार्ई साथ दिइराखेका छन् र उनीहरुलाई कस्तो सहयोग चाहिएको हो, सो अनुसारको सहयोग संघले प्रदान गर्दै आएको छ ।
जिल्लामा कति बचत तथा ऋण सहकारी संस्था रहेका छन् ?
जिल्लाभर ४३७ वटा बचत तथा ऋण सहकारी संस्था रहेको तथ्याङ्क छ । त्यस मध्ये संघमा २०२ संस्था आवद्ध रहेका छन् । संघमा आवद्ध सहकारी संस्थाले ५४ अर्ब ६४ करोड २९ लाख पुँजी परिचालन गरेका छन् भने ३ लाख २३ हजार ८५ जना सदस्य सहकारीमा आवद्ध भएका छन् । सहकारी क्षेत्रले १ हजार २६५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । यो तथ्याङ्क संघमा आवद्ध सहकारी संस्थाको मात्र हो । अन्य सहकारी संस्थाले कति पुँजी परिचालन गरेका छन् भन्ने तथ्याङ्क हामीसँग छैन ।
जिल्लाको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले खेलेको भूमिकालाई कसरी लिन सकिन्छ ?
सहकारीको मुल मर्म सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्नु हो । आर्थिक रुपमा संघमा आवद्ध सहकारीले ५४ अर्बको पुँजी परिचलान गरी सदस्यहरुलाई उद्यमी व्यवसायी बनाउँदै आएका छन् । यहाँका सहकारीले सदस्यको आर्थिक रुपान्तरणमा धेरै काम गरेका छन् । भक्तपुर शहरमा मात्र होइन, ग्रामीण र शहरी क्षेत्रमा रहेका सहकारीले धेरै राम्रो काम गरेका छन् । सहकारीले प्रत्येक सदस्यको जनजीवनमा सकारात्मक प्रभाव पारेको देखिन्छ । बैकिङ क्षेत्रमा भन्दा पछिल्लो समय सहकारी क्षेत्रमा धेरैको विश्वास जागेको छ । अहिले अधिकांश सहकारीमा तरलता अधिक छ । सहकारीले ४० प्रतिशत भन्दामाथि तरलता लिएर बसेका छन् । ब्याजदर एकदम न्युन छ, तर पनि सदस्यले आफ्नो बचत फिर्ता लगेका छैनन् । सहकारीप्रति सदस्यको विश्वास भएकै कारण यो भएको हो । अर्कोतर्फ सहकारीले थुप्रै सामाजिक कार्यहरु गर्दै आएका छन् । स्वास्थ्य क्लिनिक मार्फत् आधारभूत स्वास्थ्य सेवा, वृद्धवृद्धाको लागि दिनभर बस्ने व्यवस्था, स्वास्थ्य शिविर, सरसफाई कार्यक्रम र अन्य गतिविधि गर्दै आएका छन् । यो राम्रो पक्ष हो । सांस्कृतिक पक्षमा धेरै सहकारीले संस्कृतिलाई सम्वद्र्धन गर्न बाजागाजा सिकाउने काम गर्दै आएका छन् । यहाँका सहकारीले तीनै पक्षमा सकारात्मक रुपान्तरण ल्याएका छन् ।
जिल्लामा रहेका कति सहकारीमा वित्तीय संकट आएको छ ?
हामीसँग कति सहकारीमा समस्या आयो भन्ने यकिन तथ्याङ्क छैन । तर संघमा आवद्ध २÷४ वटा सहकारीलाई बचत फिर्ताको समस्या छ । संघमा आवद्ध नभएका सहकारी संस्थाको हामीलाई कुनै सूचना छैन । संघमा जोडिएका सहकारीको हकमा समस्या देखिन साथ हामीले निरिक्षण गर्ने र सुधारका उपायका साथै ऋण सुविधा समेत दिँदै आएका छौं । यसले गर्दा संघसँग आवद्ध संस्थाहरुको हकमा सकारात्मकता देखिएको छ ।
संघले २२ औं स्थापना दिवस मनाउँदै छ, जुन उदेश्य लिएर संघ स्थापना भएको थियो, त्यसमा कतिको सफलता प्राप्त गर्न सक्नु भयो ?
सहकारी क्षेत्रमा भएको विकृति विसंगतिलाई अन्य गर्न संघको आवश्यकता महशुस गरी संघ स्थापना गरेका हौं । भागेका सहकारीका कारण सहकारी अभियान बदनाम भयो, त्यसलाई रोक्नको लागि संघको सुरुवात भएको हो । संघले समुदायमा आधारित सहकारीको सम्वद्र्धन र प्रवद्धर्न गर्ने हो । अर्कोतर्फ गैर समुदायमा आधारित सहकारी संस्थालाई बहिस्कार गर्नका लागि नै संघको स्थापना भएको हो । उदेश्य प्राप्तिमा केही हदसम्म हामी सफल भएका छौं । भक्तपुरमा कतिपय ठुला वित्तीय कारोबार गर्ने सहकारीहरु समस्यामा परेका छन् । तर पनि सहकारीको सचेतना फैलाउने कार्यमा संघ धेरै हदसम्म सफल भएको मान्नुपर्छ । प्रारम्भिक सहकारीहरुलाई अन्तर लगानी मार्फत् सघाउने काम हामीले गर्यौं । तालिम शिक्षा मार्फत् संस्थाहरुलाई सवल बनाउँदै आएका छौं ।
सहकारी महासंघ, सहकारी बैंक र नेफ्स्कून लगायतबाट संघ पुरस्कृत भएको छ, यसलाई कसरी लिनुहुन्छ ?
हामीले राम्रो काम र असल अभ्यासहरु गर्यौं । जसले गर्दा संघलाई प्रदेश, केन्द्रीय संघ र महासंघले सम्मान तथा पुरस्कृत गरेका छन् । कुनै नियामक निकायमा जाँदा भक्तपुरको सहकारी अभियानको बारेमा हामीलाई थाहा छ भन्नुहुन्छ । भक्तपुरमा खासै समस्या छैन भनेर जुन पहिचान बनेको छ, त्यो पहिचान कायम गर्नको लागि नै हामीले मेहनत गर्नुपर्ने छ । यो भन्दा माथि भनेको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने हो । त्यो हाम्रो अवस्था छैन । जति पनि हामीले उत्कृष्टता प्राप्त गरेका छौं, त्यसलाई कायम गर्न हामीले काम गर्नुपर्छ भनेर लागिपरेका छौं । सहकारी अभियानमा भक्तपुरको गर्विलो इतिहास छ भनेर हामीले बोल्दै आएका छौं ।
अन्त्यमा
सहकारी मुल्य, मान्यता र सिद्धान्तको आधारमा काम गरौं । सहकारीकर्मी हुनु यो पेशा होइन, समर्पणको भावनाले नै काम गर्ने हो । पेशाको रुपमा लिन थालियो भने सहकारीको सञ्चालक बन्ने होइन, जागिर गरे हुन्छ । त्यो भावना आयो भने सहकारी क्षेत्रमा सुधार आउछ र अभियान भित्र केही गर्न सकिन्छ । हामी कर्मचारी होइनौं, अभियन्ता हौं । कर्मचारीले काम गर्छन् र पारिश्रमिक पाउँछन् । अभियन्ताले पुरस्कार पाउने हो । यो कुरालाई आत्मसात गरियो भने यो क्षेत्रमा सुधार आउँछ ।