जीवन बीमा व्यवसाय तीव्र विस्तार, ७ महिनामै १ खर्ब ११ अर्ब नाघ्यो कारोबार
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामकाे तथ्यांकले जीवन बीमा व्यवसायमा विस्तार देखाएको छ। साउनदेखि माघसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा केहि वृद्धि हासिल गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार देशभर सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले माघ मसान्तसम्म कुल १ खर्ब ११ अर्ब ५ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो रकम ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ मात्र थियो। यसले जीवन बीमा व्यवसाय समग्रमा १६.४३ प्रतिशतले विस्तार भएको देखाउँछ।
व्यवसाय विस्तारमा अग्रणी कम्पनीका रूपमा नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ। कम्पनीले माघसम्म २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा १३.८१ प्रतिशतले कारोबार बढाएको छ। त्यसैगरी नेसनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै १३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.४६ प्रतिशतले बढी हो। तेस्रो स्थानमा रहेको एलआईसी नेपालले पनि आफ्नो व्यवसाय ७.७७ प्रतिशतले विस्तार गर्दै १२ अर्ब ३ करोड रुपैयाँ नाघेको छ।
अन्य कम्पनीहरू पनि व्यवसाय विस्तारमा सक्रिय देखिएका छन्। हिमालयन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, सूर्यज्योति लाइफ, एसियन लाइफ र सिटिजन लाइफले अर्बौँ रुपैयाँको बीमाशुल्क संकलन गर्दै आफ्नो बजार हिस्सा बढाएका छन्। विशेषगरी राष्ट्रिय जीवन बीमा कम्पनीको कारोबार झण्डै दोब्बर (९३.८९ प्रतिशत) ले बढ्नुले सरकारी स्वामित्वको बीमकप्रति बढ्दो भरोसा देखाउँछ। त्यस्तै सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ, मेट लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ र सन नेपाल लाइफले पनि अघिल्लो वर्षको तुलनामा कारोबार बढाउँदै जीवन बीमा बजारलाई थप चलायमान बनाएका छन्।
विश्लेषकहरूका अनुसार आम नागरिकमा बीमाप्रतिको चेतना वृद्धि, आयस्तरमा क्रमिक सुधार तथा डिजिटल सेवाको विस्तारका कारण जीवन बीमा व्यवसायले पछिल्लो समय तीव्र गति लिएको हो। यो प्रवृत्ति कायम रहेमा चालु आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा क्षेत्रले नयाँ कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ।
नेपालपत्र संवाददाता