हुँदै छन् घना गाउँ बस्ती उजाड
गते बारमा मात्र छन् चाडबाड
घुमी वर्षले लाउने गर्छ फेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।१।
बुहारी छ मुङ्लान छोरो कतार
गयो नाति जापान गर्दै हतार
छु एक्लै अठासी भयो वर्ष मेरो
भयो सून्यजस्तै उज्यालो कटेरो ।२।
थिए खर्क आबाद बारी र खेत
हिजोआज नाङ्गा बसे लाग्छ बेत
यहाँ भत्किएको छ भन्डार मेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।३।
मकायो धुरीदेखि लाछी र छानो
म आफ्नैहरूको भएँ झन् बिरानो
यहाँ बस्न छाडेछ खैरो भँगेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।४।
तुना टाँक यी हातले लाउँदैनन्
छिमेकीहरू व्यस्त छन् भ्याउँदैनन्
छ टोपी अझै नाउँको मात्र घेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।५।
हलो बन्चरो गोरु दाँदे समाएँ
सकेसम्म सङ्घर्ष गर्दै कमाएँ
गयो व्यर्थ सारा न तेरो न मेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।६।
इलाम (शीर्षक बुढ्यौली साहित्य समाज भक्तपुरबाट)
इन्द्र नारायण सुवेदी