एक दिनको अन्तरमा नेपालका दुई ऐतिहासिक व्यक्तित्वको सम्झना गर्ने गरिन्छ । हिजो नेपाली कांग्रेसका संस्थापक एवं देशमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस थियो भने आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस परेको छ । नेपालमा पहिलोपटक कम्युनिस्ट पार्टीको स्थापना गर्नुका साथै नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि कम्युनिष्ट घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । त्यसैले यी दुई दिनलाई नेपाली आधुनिक राजनीतिका दुई ऐतिहासिक व्यक्तित्वहरुको स्मरण र सम्मान गर्दै उनीहरुले लिएको बाटो, आजको राजनीतिक परिदृश्य तथा उनीहरुका अनुयायीले अँगालेको दशा र दिशाको समीक्षा गर्ने अवसरको रुपमा लिने गरिन्छ ।
यो निसन्देह भन्न सकिन्छ कि बिपी र पुष्पलाल नेपाली राजनीतिको सूत्रपात गर्ने क्रान्तिकारी नेताहरु हुन् । राणा शासनको कालरात्रिबाट नेपाललाई मूक्त गर्ने प्रजातान्त्रिक आन्दोलनको थालनी र अगुवाइ गर्दै पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र र निशस्त्र आन्दोलन गर्ने बिपी कोइरालाको योगदान नेपाली आधुनिक प्रजातान्त्रिक राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिसकिएको छ । ठीक त्यसैगरी मुलुकलाई सामन्तवाद र साम्राज्यवादबाट मुक्त गर्दै श्रमजीवी वर्गको राज्यसत्ता स्थापना गर्ने महान् अभिलाषाका साथ कम्युनिष्ट पार्टीको स्थापना गरेर कम्युनिष्ट आन्दोलनको जग हाल्ने पुष्पलाल श्रेष्ठ नेपाली श्रमजीवी वर्गका क्रान्तिकारी धरोहर हुन् । यी दुबै जनाले स्थापना गरेका पार्टीहरु नै आज नेपाली राजनीतिको अग्रभागमा मात्र छैनन्, त्यसयता आजसम्म भएका तमाम आन्दोलन र क्रान्तिमा नेतृत्वदायी शक्तिको रुपमा पनि अगुवाइ गरिसकेका छन् ।
वैचारिकरुपमा कम्युनिष्ट र कांग्रेस प्रतिस्पर्धी शक्तिको रुपमा रहे पनि यी शक्तिकै सहकार्य र साझेदारीमा भएका बाम–प्रजातान्त्रिक आन्दोलनकै कारण प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्मका राज्य व्यवस्था प्राप्त भएको तथ्य कसैले नकार्न सक्दैन । बीचका विभिन्न कालखण्डमा विभिन्न व्यक्तिहरुले सफल नेतृत्व गरेको भए पनि त्यसका लागि आधार तयार पार्ने पुष्पलाल र बिपीलाई यसको मुख्य जस जाने गर्दछ । यी दुई ऐतिहासिक व्यक्तिको सम्झना गरिरहँदा र उनीहरुले थालेको आन्दोलनका विभिन्न कालखण्डको गौरवशाली विरासतको चर्चा गरिरहँदा आजको अवस्था के छ भनेर समीक्षा गर्नु उत्तिकै महत्वपूर्ण पक्ष हो । जसरी पुष्पलाल र बिपीले थालेको बाम–लोकतान्त्रिक आन्दोलनको जगमा आज तमाम राजनीतिक सामाजिक परिवर्तन भएका छन्, यसलाई सुदृढ र संस्थागत गर्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन र प्राप्त राजनीतिक अधिकारको प्रयोगमार्फत् जनताको जीवन बदल्ने अभियान आज निकै कमजोर मात्र बनेको छैन, अलपत्र अवस्थामा छ । त्यसैले बिपी र पुष्पलालको सम्झना गरिरहँदा उनीहरुले थालेको अभियानलाई अघि बढाएका दलहरुले यो अवस्थाको समीक्षा गर्ने कि नगर्ने ?
आजको नेपाली समाजको मनोविज्ञान हेर्ने हो भने सबैभन्दा बढी आक्रोशको शिकार नेताहरु बनिरहेका छन् । चियाचौतारोदेखि सडक र सामाजिक सञ्जालमा व्यक्त जनताको भावनालाई हेर्ने हो भने आजको मुलुकको अभावको मुख्य जिम्मेवार नै नेताहरु हुन् भन्ने देखिन्छ । बिपी र पुष्पलालहरुले थालेको त्यो गौरवशाली विरासतबाट आएका राजनीतिक दलका नेताहरु आज समाजकै सबैभन्दा बढी घृणाको पात्र किन बनिरहेका छन् ? आजको नेतृत्वले यसको समीक्षा गर्ने कि नगर्ने ? एकातिर जनताको पक्षमा गर्नुपर्ने लम्बेतान कामका सूचिहरु छन् र ती काम नहुँदा जनतामा आवेग र आक्रोश बढिरहेको छ भने अर्कोतिर टुटफुट र गुटका कारण आज ती दलहरु दलजस्ता छैनन्, गुटबन्दीका सञ्जाल जस्ता बनेका छन् । अझ कम्युनिष्टहरुको अवस्था हेर्ने हो भने त बिसौं चिरामा विभक्त छन् । नेता कार्यकर्ता सेवक होइन, शासकको रुपमा हेरिन्छन् । अधिकांश नेता कार्यकर्ता भ्रष्टाचारको दलदलमा भासिएका छन् । के बिपी र पुष्पलालले चाहेका कांग्रेस र कम्युनिष्ट पार्टीहरु यस्तै हुन् ? होइन भने सम्बन्धित दलका नेताहरुले यसको समीक्षा गरेर आफूलाई रुपान्तरण गर्ने कहिले ?
साभार : सम्पादकीय नयाँ युगबाेध अनलाइन
बुधबार, श्रावण ७, २०८२
नेपालपत्र संवाददाता