काठमाडौं महानगरपालिकाले कोरोनाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्तिकरमा भारी छुट उपलब्ध गराएकोप्रति होटल संघ नेपालले स्वागत गरेको छ । महानगरपालिकाको हालै सम्पन्न नगरसभाले होटल व्यवसायलाई छुट सुबिधा दिर्ने निनर्य गरेको हो । कोभिड–१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड–१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटलहरुलाई ठूलो राहत मिलेको संघले जनाएको छ ।
महानगरपालिकाले होटल संघ नेपालको सुझावलाई मनन गरी गत वर्ष ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको थियो । कोभिड–१९ को यस अवस्थामामा होटल तथा पर्यटन उद्योग पूर्ववत रुपमा फर्कन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण र सम्बद्धनका लागि आव २०७८/७९ को लागि महानगरपालिकाले होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्तिकर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट दिर्ने भएको छ ।
साथै यस किसिमको सहुलियत आगामी वर्षहरुका लागि पनि पर्यटनको अवस्था राम्रो नभएसम्म निरन्तर हुनेमा होटल संघ महानगरपालिका प्रति विश्वस्त रहेको जनाएको छ । विषम परिस्थितिमा अन्य स्थानीय निकायहरुको तर्फबाट समेत पर्यटन पुनरुत्थानको लागि यस प्रकारको सहयोग होस् भनी संधले आग्रह गरेको छ ।