आज बिहीबार सेयर बजार सूचक नेप्से १३ अंकले बढेर २७८२ विन्दुमा पुगेर बन्द भएको छ। आइतबार २७ अंकले बढेर उकालो लाग्न शुरु गरेको सेयर बजार सोमबार ८७ अंक, मंगलबार ७८ अंक, बुधबार १८ अंक र बिहीबार १३ अंक गरी कुल २२५ अंक हाराहारीले बढेको छ। यो हप्ताको पहिलो दिन आइतबार बजार सूचक २५५७ विन्दुबाट खुलेको थियो।
यस्तै, साताको पहिलो दिन कारोबार रकम तीन अर्बबाट सुरु भएकोमा साढे ६ अर्बमाथि सम्म उक्लिएर सप्तान्तमा करिब साढे पाँच अर्ब रुपैयाँको कारोबार भएको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार रिडी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो। आज कारोबार भएका कुल २२२ कम्पनीमध्ये ११३ भन्दा धेरै कम्पनीको सेयर मूल्य उकालो लागेको छ। ७१ कम्पनीको भने मूल्य घटेको छ।
नेशनल हाइड्रोपावरको सर्वाधिक २९ करोड रुपैयाँको सेयर किनबेच हुँदा नबिल बैंकको २२ करोड, जीवन विकास लघुवित्तको १८ करोड, एनआइसी एसिया बैंक र युनाइटेड मोदी हाइड्रोको समान १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
बिहीबार ५९ हजार वटा कारोबारबाट ९२ लाख कित्ता सेयर किनबेच भए जसको कारोबार रकम पाँच अर्ब ४० करोड रुपैयाँ रहेको छ।