बुधबार, भाद्र ३ गते २०८३

‘मेक इन नेपाल – स्वदेशी’ अभियानका लागि सरकार र परिसंघ सहकार्य

आषाढ ११, २०७८ शुक्रबार
‘मेक इन नेपाल – स्वदेशी’ अभियानका लागि सरकार र परिसंघ सहकार्य

नेपाल उद्योग परिसंघले अघि बढाएको  ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच समझदारी बनेको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात पर्वर्द्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा नेपाल सरकारले आफ्नो बलियो साथ एवं साझेदारी प्रस्तुत गरेको हो । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रको रूपमा विकास गर्न यस अभियान र समझदारी कोशेढुंगा सावित हुने बताए । ‘अब नेपाल सरकार र नेपाल उद्योग परिसंघ आफ्ना जिम्मेवारी कुशलतापूर्वक बहन गरी अघि बढ्नुपर्छ,’ उनले भने, ‘सरकारले नीतिगत र प्रक्रियागत सरलीकरण गरिरहेको छ, लगानीको वातावरण पनि तयार भइरहेको छ । अब उपलब्धी हासिल हुने गरी निजी क्षेत्रले काम गर्नुपर्छ । ‘

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाली वस्तुको उत्पादन र प्रवर्द्धनका लागि यस अभियानले महत्त्वपूर्ण योगदान दिने उल्लेख गरे । ‘नेपाललाई अहिले आफ्नै वस्तु उत्पादन र तिनीहरूको प्रवर्द्धन आवश्यक परेको छ,’ उनले भने, ‘यो अभियानले त्यसलाई सहयोग पुर्याउने परिसंघको विश्वास छ ।‘ अध्यक्ष मोरले समझदारीपत्रमा उल्लेखित विषय कार्यान्वयन गर्न परिसंघको प्रतिवद्धता जाहेर गरे।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समझदारीपछि स्वदेशी अभियानका लक्ष्य हासिल गर्न अझ सहयोग पुग्ने बताए । उनले स्वदेशी वस्तुको उत्पादन तथा उपभोग प्रवर्द्धनमा यसले अझै टेवा दिने उल्लेख गरे ।  

नेपाली वस्तु र सेवालाई विश्वव्यापी बनाउने र यसको स्वदेशी उपभोग वृद्धि गर्ने गरी अघि सारिएको यो अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्र समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै समझदारी गरिएको हो । नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी नभइकन यस अभियानले सार्थकता पाउन नसक्ने भएकाले वस्तु र सेवाको गुणस्तर वृद्धि गर्नु, बजारको माग र निर्यात सम्भाव्यता समेत हेरी उत्पादन वृद्धि गर्नु र उत्पादन लागत कम गरी मूल्य प्रतिस्पर्धी वस्तु र सेवाको उत्पादन र प्रवर्द्धन गर्नु आवश्यक हुने परिसंघको ठहर छ ।

समझदारीअनुसार उद्योग विभाग र परिसंघको समन्वयमा मेक इन नेपाल – स्वदेशी लोगो प्रयोगका सम्बन्धमा संयुक्तरूपमा अनुगमन गरिनेछ । यसैगरी नेपाल सरकार र परिसंघको समन्वयमा अभियानको प्रभावकारिताका सम्बन्धमा मूल्याङ्कन गरी सोको आधारमा परिमार्जन र सुधार गरिने पनि समझदारीमा उल्लेख छ । अभियानलाई प्रभावकारी बनाउन सञ्चालक समिति र कार्यसम्पादन समिति गठन गरी काम अघि बढाइनेछ । 

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडी र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल, उपसचिव प्रेम प्रसाद लुईँटेल एवं नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल तथा उपाध्यक्षहरू सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे, परिसंघका आर्थिक सल्लाहकार डा विश्व पौडैल, अभियान कार्यदलका सदस्य हितेश गोल्छा र परिसंघका महानिर्देशक यादवप्रसाद पौड्याल लगायतको उपस्थिति थियो ।