भाटभटेनी सुपरमार्केटमा बिहीबारबाट क्युआर कोड भुक्तानी सेवा सुरु भएको छ । प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो सेवाको उद्घाटन गरेका हुन्। गभर्नर अधिकारीले नगद कारोबार एकदमै झन्झटिलो हुने भन्दै क्युआरबाट भुक्तानीले समयको बचतसँगै कारोबारसमेत सुरक्षित हुने बताए। क्युआर कोडको प्रयोग प्रयोगकर्ता र व्यवसायी दुवैका लागि फाइदाजनक भएको उनको भनाई थियो ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सरकार र राष्ट् बैंकको क्यास लेस अभियानलाई सहयोग गर्न आगामी दिनमा सबै आउटलेटहरुमा क्युआर भुक्तानी सेवा सुरु गर्ने बताए। गुरुङले क्युआर भु्क्तानीलाई प्रबर्द्धन गर्न आफ्ना १० लाख मेम्बरलाई प्रोत्साहन गरिने बताए।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अबको युग नै प्रविधिमा आधारित भएको भन्दै यसको प्रयोग बढ्दा औपचारिक अर्थतन्त्रमा टेवा पुग्ने र कारोबार पनि पारदर्शी हुने बताए।